- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली काँग्रेसका संस्थापकमध्येका एक कृष्णप्रसाद भट्टराईको सातौं वार्षिकीका सन्दर्भमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले विविध कार्यक्रम गरी भट्टराईलाई सम्झदै छन् । विसं २०६७ साल फागुन २० गते राति भट्टराई (किसुनजी) को निधन भएको थियो ।
झण्डै २० वर्ष नेपाली काँग्रेसको नेतृत्व सम्हालेका किसुनजी सादगी नेता थिए । उनका अनुयायीहरु अहिले काँग्रेसको नेतृत्वतहमा भए पनि उनको आदर्शलाई भने पछ्याउन नसकेको गुनासो सर्वत्र छ ।
मुलुकको दुई पटक प्रधानमन्त्री भए पनि किसुनजीले वालुवाटारबाट फर्किदा केबल छाता, सुराही र ट्याम्कामात्र लिएर आएका थिए । अविवाहित किसुनजीले प्राण त्याग्दा पनि तिनै तीन चिज छोडेर गएका हुन् ।
नेपालमा राजनीतिलाई व्यापार गर्ने थलो बनाइएको आलोचना नेताहरुले खेप्दै आएका बेलामा किसुनजी त्यतातिर नलागेकैले सन्त नेताको उपमा पाएर गएका छन् ।
किसनजीको शालिन शैलीको चर्चा अन्य दलका नेताहरुले पनि गर्ने गरेका छन् । तर जीवनको उत्तराद्र्धमा आएपछि भने किसुनजी काँग्रेसबाट टाढिएका थिए ।
किसुनजीको निधन भएको ७ वर्ष भइसक्दासम्म उनको सम्झनामा काँग्रेसका अहिलेका ठूला नेताहरुले समय खर्च गर्न छाडिसकेका छन् ।
राजनीतिक अभिष्ट पूरा गर्नुपर्ने भएमात्र किसुनजीको नाम लिने नेताहरुले कुनै अन्तक्र्रियामासमेत भाग लिन मान्दैनन् ।
किसुनजीले अन्तिम समय बिताएको बाडेगाउँमा भने औपचारिकता पूरा गर्नकै लागि श्रद्धाञ्जली कार्यक्रम हुने गरेको छ ।
त्यहाँ काँग्रेसकै नेताहरुलाई व्यवहार राम्रो नहुने भन्दै काँग्रेसी नेताहरु स्वःस्फूर्त रुपले जान मान्दैनन् ।
किसुनजीको ९४ औं जन्मजयन्ती गत पुस ८ गते मनाइएको थियो । त्यतिबेला पनि प्रमुख अतिथिका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली बोलाइएका थिए ।
नेपाली राजनीतिप्रति संवेदनशील हुने जोकोहीलाई किसुनजी याद आउनु पर्ने नाम हो । तर दुर्भाग्य उनकै नाममा राजनीति हुन थालेको छ ।
भ्रष्ट राजनीतिबाट मुक्ति दिलाउन पनि किसुनजीको सादगी जीवनको चर्चा परिचर्चा हुनु जरुरी छ ।
किसुनजीको सादा जीवन उच्च विचारलाई अंगीकार गर्न सकेमात्र पनि उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुन सक्ने थियो ।