arrow

बुटवल उपमहानगरमा पाण्डे, गिरी र बेल्बासेको त्रिपक्षीय भिडन्त

logo
कपिल ज्ञवाली।
प्रकाशित २०७२ माघ १८ सोमबार
butwal-congress.jpg.jpeg
बुटवल। नेपाली कांग्रेसको महाधिवेशनको चर्चा हुँदै जाँदा बुटवल उपमहानगरपालिकाको अधिवेशनको चर्चा पनि चुलिएको छ। अधिवेशनमा हालका नगर सभापति खेलराज पाण्डे, सचिव प्रजापाल गिरी र यातायात क्षेत्रका मजदुर नेता कृष्णप्रसाद बेल्बासे सभापतिको दौडमा छन्। ३ जना मैदानमा उत्रिएपछि कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ।
 
पाण्डे संस्थापन पक्षका मानिन्छन्, गिरी प्रजातान्त्रिक पक्षका मानिन्छन् भने बेल्बासे मजदूर नेता हुन्। तीनै जना नेताले आफूहरुको उम्मेदवारी दिने र कुनै हालतमा फिर्ता नगर्ने जनाएका छन्। बुटवल पश्चिम क्षेत्रकै प्रमुख राजनीतिक केन्द्रको रुपमा विकास भएकोले कांग्रेसको नगर अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ। सभापति पाण्डेले आफू नगरको सभापति भएको भन्दै अब उपमहानगरपालिकाको पहिलो सभापतिका लागि उम्मेदबारी घोषणा गरेका छन्। 
 
त्यस्तै हालका सचिव प्रजापाल गिरीले पनि सभापतिमा उम्मेदवारी दिने बताए। उनले भने ‘बुटवलको नेपाली कांग्रेसभित्रको संगठनलाई थप मजबुद गर्दै कांग्रेसलाई बलियो बनाउछु।’ उनी युवाहरुका माझ लोकप्रिय छन्। 
 
त्यस्तै यातायात क्षेत्रमा आफ्नो परिचय बनाएका अर्का नेता कृष्णप्रसाद बेल्बासेले पनि यस पटकको बुटवल उपमहानगरको सभापति बन्न कसैले रोक्न नसक्ने बताए। उनले भने,‘कांग्रेसमा देखिएको चरम गुटबन्दी अन्त्य गर्न मेरो उम्मेदवारी हुनेछ।’
 
नगरअधिवेशनको सोमबार ११ बजेदेखि कान्ति उच्च मावि हाटबजारलाईमा मतदान हुने कार्यक्रम रहेको छ। कांग्रेस बुटवल उपमहानगर समितिमा तीन हजार तीन सय क्रियाशील सदस्य रहेका छन्। अधिवेशनले एक सभापति एक सचिव, एक कोषाध्यक्ष र आठ जना सदस्य गरी ११ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ।
 
त्यस्तै आदिवासी जनजाति, दलित र महिला गरी १२ जना क्षेत्रीय प्रतिनिधि पनि चयन हुनेछन भने साविकका गाविस सेमलार र मोतिपुरका लक्षित वर्गका १२ जना प्रतिनिधि पनि चयन हुनेछन।
 
अन्य नगरहरु देवदह, सैनामैना, सिद्धार्थनगर एकैसाथ हुनेछन भने लुम्बिनी सांस्कृतिक नगरपालिकाकामा भने, साविकका गाविसलाई आधार मानेर प्रतिनिधि चयन गर्ने कार्यक्रम छ। कांग्रेसको नगरअधिवेशन सकिएपछि २२ गते क्षेत्रीय र २५ गते जिल्ला अधिवेशन गर्ने कार्य तालिका छन्। कांग्रेसको महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ