arrow

३८ सांसदले लिए मातृभाषामा सपथ, लोगो पनि लगाइहाले

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
sapath_news.JPG

काठमाडौँ । प्रतिनिधिसभाका ३८ सदस्यले आफ्नो मातृभाषामा सपथ लिएका छन् । संवैधानिक व्यवस्था अनुसार ३८ जना सदस्यहरुले भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दीमा शपथ लिएका हुन् ।

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुलाई  प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले संघीय संसद भवन, नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको सभाहलमा शपथ दिलाए । त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य ठाकुरलाई शीतल निवासमा शपथ दिलाईन् ।

शपथपछि सबै सांसदले संघीय संसद सचिवालयबाट प्राप्त सांसदको लोगो लगाए ।  यस लगत्तै सांसदहरु संसद सचिवालयले राखेको जलपान कार्यक्रममा सहभागी भए । शपथ लिन सांसदहरु राष्ट्रिय तथा आफ्ना पहिचान झल्कने पोशाकमा देखिए ।

नेपालको संविधानको धारा ८४ मा प्रतिनिधिसभा गठनबारे व्यवस्था छ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सदस्य छन् । संसदको पहिलो बैठकमा सहभागी हुनु एक दिनअघि उनीहरुले शपथ लिएका हुन् ।

प्रतिनिधिसभामा एमालेका १२१, काँग्रेसका ६३, माओवादी केन्द्रका ५३, संघीय समाजवादी फोरम नेपालका १७, राष्ट्रिय जनता पार्टी नेपालका १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक–एक र स्वतन्त्र एक सांसद छन् । प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो ।

केही कानुनी अड्चनका कारण निर्वाचन भएको तीन महिनापछि मात्र प्रतिनिधिसभाका सदस्यलाई शपथ ख्वाउने काम भएको छ । दुबै सदनमा प्रत्येक दलबाट कम्तीमा एक तिहाई महिला सदस्य हुनुपर्ने कानुनी बाध्यताका कारण राष्ट्रियसभाको निर्वाचनपछि मात्र निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो । उनन्साठी सदस्यीय राष्ट्रियसभाको निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम सरकारको सिफारिशमा सोमबार फागनु २१ गते संघीय संसदको पहिलो बैठक आह्वान गर्नुभएको छ । निर्धारित कार्यक्रम बमोजिम फागुन २१ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको पहिलो बैठक एकै समयमा आ–आफ्ना सभाहलमा बस्दैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ