arrow

वर्तमान शिक्षा नीतिले विकास सम्भव छैन : मुख्यमन्त्री राउत

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
Lalbabu-raut-cheif-minister.jpg

धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने शिक्षा नीति ल्याउने घोषणा गरेका छन् । प्याबसन प्रदेश नं. २ को प्रथम साधारणसभा तथा सम्मान कार्यक्रमलाई आज जनकपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले वर्तमान शिक्षा नीतिले विकास सम्भव नरहेको बताए । 

उनले सामुदायिक विद्यालय सत्तारुढ दलको कार्यकर्ता भर्ना गर्ने थलो बनेको बताउँदै यसको अन्त्य गर्ने नीतिको आवश्यकता रहेको बताए । मुख्यमन्त्री राउतले योग्य र सक्षम शिक्षक भएपनि सामुदायिक विद्यालयको पठनपाठन स्तरीय बन्न नसकेको गुनासो गरे । शिक्षकहरु पार्टीको पछि लागेकाले सामुदायिक विद्यालयमा पठनपाठनको स्तर खस्किँदै गएको उनको कथन थियो । 

मुख्यमन्त्री राउतले शिक्षा क्षेत्रमा माफियाको वर्चश्व बढ्न नदिन वर्षैपिच्छे भइरहेको पाठ्यक्रम परिवर्तन रोक्नुपर्ने धारणा राखे। कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेश शिक्षित भए सबै क्षेत्रको विकास हुने धारणा राखे । 

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश नं २ को शिक्षाको अवस्थालाई कहालिलाग्दो बताउँदै शिक्षा क्षेत्रमा सुधारका लागि सबैको सहयोगको आवश्यकता रहेको बताए । कार्यक्रममा शहीद वीरेन्द्र विच्छाकी श्रीमती शिल्पी विच्छालाई रु पाँच हजार एक सय नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । 

प्याब्सनले प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतसहित आर्थिक मामिला तथा विकास मन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, राज्यमन्त्रीत्रय सरोज सिंह कुशवाहा, योगेन्द्र राय यादव र उषा यादवलाई दोसल्ला ओढाएर सम्मानसमेत गरेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ