arrow

देउवा समुहकै गुटवन्दीको शिकार भएर वडामै पराजित बोहरा नगरमा विजयी

logo
ईश्वर दत्त बडू।
प्रकाशित २०७२ माघ १८ सोमबार
hari-bohara.jpg.jpeg
महेन्द्रनगर। जिल्ला सभापतिका आकांक्षी समेत रहेका काँग्रेस नेता हरिप्रसाद बोहरा बेदकोट नगरपालिकाभित्रको वडा अधिवेशनमा पराजित भएपनि बेदकोट नगरपालिकाकै नगर सभापतिमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्दी राजेन्द्रप्रसाद भट्टलाई २ सय २१ मतको भारी अन्तरले पराजित गर्दै हरिप्रसाद बोहरा नगर सभापतिमा विजयी भएका हुन्।
 
नगर सभापतिमा विजयी हरिप्रसाद बोहराले २ सय ८८ मत र राजेन्द्रप्रसाद भट्टले ६७ मत पाएका छन्। वडा नम्बर–७ को नगर अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि पदमा हरिप्रसाद बोहरा पराजित भएपछि नगर क्षेत्रका क्रियाशील सदस्यले नगर सभापति हुँदै क्षेत्रीय अधिवेशनसम्म जान आग्रह गरेका थिए। क्रियाशील सदस्यको आग्रह अनुसार नगर सभापतिमा उम्मेदवारी दिएका हरिप्रसाद बोहरा भारी मत ल्याएर विजयी भएका छन्।
 
नगर सभापतिमा जितेर बोहराले वडाको पराजयलाई सन्तुलनमा ल्याएका छन्। देउवा समूहभित्रको गुटबन्दीका कारण हरिप्रसाद बोहरा वडामै पराजित भएपछि क्रियाशील सदस्यले नगर सभापति हुँदै जिल्ला सभापति बन्न सुझाव दिएका थिए। नगर सभापतिमा विजयी भएपछि हरिप्रसाद बोहरा क्षेत्रीय अधिवेशन हुँदै जिल्ला अधिवेशनसम्म जान पाउने भएका छन्। जसका लागि बोहराले क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा जितेर जिल्ला सभापतिको उम्मेदवार बन्नुपर्ने छ। काँग्रेसको क्षेत्रीय अधिवेशन माघ २२ गते र जिल्ला अधिवेशन माघ २५ गते हुँदैछ।
 
बेदकोट नगरपालिकाको सचिवमा दिलबहादुर कुँवर र कोषाध्यक्षमा सुवास मल्ल निर्वाचित भएका छन्। बेदकोट नगर अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा आदिवासी जनजातितर्फ भरत राना, खट्टे राना र लालबहादुर राना, अपाङ्गतर्फ मनिराज रेग्मी, नरेन्द्र बोहरा र कलावती विष्ट तथा दलिततर्फ गणेश नेपाली, पवन नेपाली र चन्दे चुनारा निर्वाचित भएका छन्।
 
दोधाराचाँदनी नगर अधिवेशनबाट सभापतिमा डम्मर चन्द निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्दी नाफुसिंह साउँदलाई ५२ मतले पराजित गर्दै डम्मर चन्द सभापतिमा निर्वाचित भएका हुन्। विजयी चन्दले १ सय ६२ र प्रतिद्वन्दी साउँदले १ सय १० मत ल्याएका छन् । सभापतिका अर्का उम्मेदवार पुष्कर जोशीले २४ मत ल्याएका छन् । नगर सचिवमा राजेन्द्र मल्ल र कोषाध्यक्षमा कर्णबहादुर सिंह निर्वाचित भएका छन्। दोधाराचाँदनीबाट क्षेत्रीय प्रतिनिधिमा दलिततर्फ पदमबहादुर सुनार, मानबहादुर टेलर र भैव सुनार, अपाङ्गतर्फ दलबहादुर दमाई, पदमबहादुर सुनार र राजेन्द्र साउँद तथा आदिवासी जनजातितर्फ बेलबहादुर राना, सन्तबहादुर आले र हर्कबहादुर पुन निर्वाचित भएका छन्।
 
कृष्णपुर नगर अधिवेशनबाट सभापतिमा भक्तबहादुर खत्री विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी बलराम पन्तलाई २९ मतले पराजित गर्दै खत्री सभापतिमा विजयी भएका हुन्। विजयी खत्रीले १ सय १३ र प्रतिद्वन्दी पन्तले ८४ मत पाएका छन्। नगर सचिवमा सुरज महता र कोषाध्यक्षमा निर्मला भट्ट निर्वाचित भएका छन्। क्षेत्रीय प्रतिनिधिमा आदिवासी जनजातितर्फ झेली राना, रामबहादुर राना र पार्वती डगौरा, अपाङ्गतर्फ विष्णुराज भट्ट, इन्द्रबहादुर देउवा र नारुदेवी भण्डारी खत्री तथा दलिततर्फ घनश्याम विश्वकर्मा, झुले लुहार र चन्द्रकान विश्वकर्मा निर्वाचित भएका छन्।
 
बेल्डाँडीको नगर अधिवेशनबाट सभापतिमा हर्कदेव जोशी विजयी भएका छन्। निकटतम प्रतिद्वन्दी मदन खत्रीलाई ५४ मतले पराजित गर्दै जोशी विजयी भएका हुन्। विजयी जोशीले १ सय ३९ मत र खत्रीले ८५ मत पाएका छन्। नगर सचिवमा गजबहादुर विष्ट र कोषाध्यक्षमा सरस्वती शाही निर्वाचित भएका छन्। क्षेत्रीय प्रतिनिधिमा दलिततर्फ बलबहादुर सुनार, हिरादास क्षेत्री र चन्द्रबहादुर विक, आदिवासी जनजातितर्फ रामचन्द्र चौधरी, फापुराम राना र तिलक डगौरा तथा अल्पसंख्या, अपाङ्गतर्फ चेतराज माली, नवराज जोशी र करनसिंह मडै निर्वाचित भएका छन्।
 
भीमदत्त नगरपालिकाको नगर अधिवेशनको मतगणना सोमबार बिहान ९ बजेदेखि सुरु हुने गरी रोकिएको छ। नगर सभापतिमा अच्यूतराज कलौनी, पदमराज अवस्थी र प्रेमबहादुर विष्टले प्रतिस्पर्धा गरिरहेका छन्। समाचार तयार पार्दासम्म झलारीपिललाडी नगर अधिवेशनमा मतगणना जारी रहेको थियो। नगर सभापतिमा जयबहादुर विष्ट र लोकबहादुर उप्रेतिले प्रतिस्पर्धा गरिरहेका छन् । पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकामा समेत मतगणना जारी रहेको थियो। पुनर्वास नगर सभापतिमा यमप्रसाद पौडेल र हरिप्रसाद अधिकारी तथा बेलौरी नगर सभापतिमा केशव जोशी, नेत्र गिरी र रामलाल रानाले प्रतिस्पर्धा गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ