arrow

प्रदेश ४ का मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने

logo
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
Prithvi-Subba-Gurung-.jpg

पोखरा। प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। गत माघ २८ गते प्रदेश नं ४ का नेकपा (एमाले) संसदीय दलका नेतामा निर्वाचित गुरुङलाई २९ गते प्रदेश प्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए।

सचिव खड्काका अनुसार आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतका लागि प्रस्ताव राख्नेछन्। प्रस्ताव राखेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँचवटा दलका एक÷एक जनाले आ–आफ्ना धारणा राख्नेछन्।

छलफलमा उठेका विषयमा मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि मत विभाजनको प्रक्रियामा लगिने सचिव खड्काले जानकारी दिए। जम्मा ६० जना प्रदेशसभा सदस्य रहेको प्रदेश नं ४ मा विश्वासको मत लिन गुरुङले बहुमत प्राप्त गर्नुपर्छ।

बहुमतका लागि ३१ मत प्राप्त गर्नुपर्नेमा यस प्रदेशमा एमालेको २७ र नेकपा (माओवादी केन्द्र)का १२ सदस्य रहेका कारण वाम गठबन्धनका साझा मुख्यमन्त्री गुरुङले सहजै विश्वासको मत प्राप्त गर्ने देखिन्छ। यस प्रदेशमा एमाले, नेकपा (माओवादी केन्द्र) बाहेक नेपाली काँग्रेसको १५, राष्ट्रिय जनमोर्चाको तीन, नयाँ शक्तिको दुई र एकजना स्वतन्त्र प्रदेशसभा सदस्य छन्।

मनाङका स्वतन्त्रतर्फबाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङले भने शपथ लिएका छैनन्। प्रदेशसभा सचिवालयमा आर्थिक कार्यविधि विधेयक– २०७४ दर्ता भएका कारण आज ११:३० बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले पारित गरेमा उक्त विधेयक आजै प्रदेशसभामा टेबुल हुने सचिव खड्काले जानकारी दिए।

त्यस्तै, अघिल्लो बैठकमा टेबुल भएको प्रदेशसभा नियमावली–२०७४ आजको बैठकबाट पारित हुन सक्नेछ। गत फागुन २१ गते बसेको प्रदेशसभा बैठकमा नियमावली टेबुल गरिएकोमा संशोधनका लागि सभामुखले ४८ घण्टाको समय दिनुभएकोमा कुनै पनि संशोधन नपरेको प्रदेशसभा सचिवालयले जनाएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ