arrow

तीन दल र मोर्चाको बैठक : सुतेको कार्यदल ब्यूंझिने, टुटेकै ठाउँबाट वार्ता प्रारम्भ हुने

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
barta-new-tin-dal-&-morcha.jpg.jpeg
काठमाडौं । प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाका नेताबीचको छलफल सकिएको छ । राज्य व्यवस्था समितिको कार्यालय, सिंहदरबारमा बसेको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन् । छलफलमा प्रमुख तीन दलका शीर्ष नेता र तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णलगायत सहभागि थिए । 
 
बैठकमा मधेस समस्या समाधानबारे छलफल भएको र मोर्चा नेताहरु सकारात्मक देखिएको बैठकमा सहभागि नेताहरुले बताए । बैठकपछि हाम्राकुरालाई सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले तीन दलका शीर्षनेताहरु सकारात्मक देखिएको बताए । कर्णले भने, ‘जहाँबाट वार्ता टुटेको थियो त्यँहीबाट निरन्तरता दिने र पुरानै संयुक्त कार्यदलले छलफल गर्नेमा तीन दलका शीर्ष नेता एक देखिए ।’ कार्यदलबाटै समस्या समाधान हुनेमा उनीहरुले जोड दिएको कर्णले सुनाए । 
 
आन्दोलबारे जिज्ञासा राख्दै तीन दलका शीर्ष नेताले नाका अवरोध छोड्न आग्रह गरेको कर्णले जानकारी दिए । कर्णले भने, ‘उहाँहरुले नाका अवरोध छाड्न आग्रह गर्नु भो, हामीले वातावरण बनाउनुस् भन्यौं ।’ सरकाले हालसम्म आन्दोलनका घाइते र मृतकबारे चाँसो नदेखाएको, न्यायिक आयोग गठन गर्न नमानेको र आफुले विगतमा गरेका प्रतिवद्धताबाट पछि हटेको विषयमा आफुहरुले ध्यानाकर्षण गराएको कर्णले बताएका छन् ।  
  
यसअघि, आइतबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मधेस समस्या समाधानबारे तीन दलका शीर्ष नेताले मोर्चासंग वार्ता गर्ने साझा धारणा बनाएका थिए । तराइमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका चार घटक मध्ये तीन घटकका शीर्ष नेताहरु आन्दोलनमा सहयोग गर्न गुहार माग्दै भारतको पटना पुगेका छन् । उनीहरुले सोमबार राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव र विहारका मुख्यमन्त्री नितिशकुमारसंग भेट गरेका छन् । 



नयाँ