काठमाडौं। पछिल्लो समय कतिपय सञ्चारमाध्यम र पत्रपत्रिकाले कपी पेस्ट (हुबहु) पत्रकारिता गरेको भन्दै नयाँ पत्रकार आचारसंहितालाई जारी गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।
प्रेस काउन्सिल नेपाल र अनलाइन पत्रकार सङ्घले सोमबार संयुक्तरूपमा आयोजना गरेको ‘अनलाइन पत्रकारिता र आचारसंहिता’ विषयक अन्तक्र्रियामा काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले सबै छापा माध्यम र विद्युतीय माध्यमलाई समेटेर काउन्सिलले भइरहेको आचारसंहितालाई थपघट गरी नयाँ आचारसंहिता जारी गर्ने तयारी गरिरहेको जानकारी दिए ।
उनका अनुसार त्यसका लागि विभिन्न मुलुकको पत्रकार आचारसंहिता अध्ययन र सम्बन्धित निकायसँग छलफल भइरहेको छ । अध्यक्ष कार्कीले अनलाइन पत्रकारिता सुरुवातको चरणमै रहेकाले त्यसलाई व्यवस्थित गर्नका लागि पनि नयाँ आचारसंहिताको आवश्यकता औँल्याए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले पत्रकार आचारसंहिता जारी भएको करिब १२ वर्ष भइसकेको अवस्थामा वर्तमान परिस्थितिलाई मध्यनजर गरी नयाँ आचारसंहिताको लागि महासङ्घले समेत पहल गरिरहेको बताए ।
कानुनविद् काशीराज दाहालले प्रतिलिपि अधिकारका घटना अनलाइन माध्यमसँगै अन्य सञ्चारमाध्यममा पनि व्यापक देखिएको भन्दै त्यसका लागि कानुनी रूपमा जटिलता देखिएको टिप्पणी गरे । उपप्राध्यापक ऋषिकेष दाहाल र पत्रकार प्रतीक प्रधानले मिडियामा कपी पेस्ट गर्ने विषय र अश्लिल एवम् विभत्सको विषयमा स्पष्ट मापदण्ड हुनुपर्ने धारणा राखेका थिए ।अनलाइन पत्रकार सङ्घका अध्यक्ष प्रवेश सुवेदीले आचारसंहिता जारी मात्रै गर्नुभन्दा पनि कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।