arrow

राष्ट्रपतिबाट साग टोलीको बिदाई

logo
प्रकाशित २०७२ माघ १८ सोमबार
sag-toli.jpg.jpeg
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १२औँ दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउने नेपाली टोलीलाई एक समारोहबीच बिदाइ गरेकी छन् । भारतको गुवाहाटी र सिलोङमा माघ २२ देखि फागुन ४ गतेसम्म चल्ने सागको विभिन्न २३ विधामा ३ सय ८४ नेपाली खेलाडी सहभागिता जनाउने छन् । 
 
हक्की बाहेक सबै २३ खेलमा पुरुष–महिला खेलाडीको सहभागिता रहने छ । हक्कीमा महिला टोलीले मात्र भाग लिने छ । खेलकुदमन्त्री सत्यनारायण मण्डलसहितको नेपाली टोली मङ्गलबार भारत प्रस्थान गर्दैछ । कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय पहिचानलाई खेलको माध्यमबाट विश्वमाझ फैलाउन दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने खेलाडीसँग आग्रह गरिन् । राष्ट्रपति भण्डारीले भनिन्, ‘तपाईंहरुको सफलतामा सारा नेपालीले गौरव महसुस गर्ने छन् ।’ सागमा सहभागी हुने खेलाडीसहितको टोलीलाई राष्ट्रिय खेलकुद परिषद् राखेपले आफ्नै हातामा आयोजना गरेको शुभकामना तथा बिदाइ कार्यक्रममा राष्ट्रपति भण्डारीले टोलीलाई उच्च मनोवलका साथ खेल्न सुझाइन् । 
 
युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले देशमा भएका विविध समस्याका कारण खेलाडीको अभ्यास र सुविधामा असर परेको भए पनि खेलाडीमा भएको उच्च मनोवलले सफलता दिलाउने विश्वास गरे । राखेप सदस्यसचिव केशवकुमार विष्टले हालै फुटबल र क्रिकेटमा पाएका पछिल्ला सफलताले सम्पूर्ण नेपाली खेल जगतलाई नै हौसला मिलेको बताउँदै त्यस्तै,उपलब्धि दोहोरिने धारणा राखे ।
 
राष्ट्रिपति भण्डारीले नेपाली टोलीका नेता खेलकुद मन्त्री मण्डललाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै सफलताको शुभकामना दिइन् । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राई, सहरी विकास राज्यमन्त्री मञ्जु चौधरी, खेलकुद मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीलगायत उपस्थिति थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ