काठमाडौं। एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तराई–मधेसमा आन्दोलन गरिरहेका राजनीतिक दल पनि छिट्टै सहमतिमा आउने विश्वास लिएका छन् ।एमाओवादी केन्द्रीय कार्यालयमा साेमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेशको सीमा निर्धारण लगायत विषय उच्चस्तरीय राजनीतिक समिति मार्फत अगाडि बढाइने र तीन महिनाभित्र समस्याको समाधान हुने बताए ।
मधेसकेन्द्रित दलले उठाउँदै आएको समानुपातिक तथा समावेशी प्रतिनिधित्वका विषयमा नेपालको संविधानको पहिलो संशोधनले धेरै विषय सम्बोधन गरेको उल्लेख गर्दै उहाँले मुलुकलाई सधै अप्ठ्यारोमा पारेर आफ्नो स्वार्थमात्र हेर्ने प्रवृत्तिको अन्त्य जरुरी रहेको उल्लेख गरे ।
नयाँ संविधानको घोषणापछि मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले त्यसमा केही अवरोध भए पनि अब बिलम्व गर्न नहुने र सबैको ध्यान समृद्धितर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।उनले भारतीय नेतासँग संविधान घोषणा हुनुभन्दा पहिले कुनै सहमति नभएको र विश्वास समेत नदिलाइएको उल्लेख गर्दै प्रचारमा आएजस्तो केही पनि नभएको बताए ।
नेता दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने बताउनुभयो । संविधानको सहज कार्यान्वयन र मुलुकले भोग्नुपरेको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार जरुरी रहेको उहाँको कथन थियो । नेपाली काँग्रेसलाई पनि वर्तमान सरकारमा सहभागी गराउनुपर्नेमा जोड दिँदै उनले सो दलको १३औँ महाधिवेशन अगावै राष्ट्रिय सहमतिको सरकार गठन हुन सक्ने सम्भावना आैल्याए ।
उनले भने– “राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्छ । त्यसमा कुनै विलम्ब हुनुहुँदैन । म त्यसको उम्मेदवार होइन । मलाई प्रधानमन्त्रीको लोभ छैन । तर वर्तमान प्रधानमन्त्री ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार भने गठन हुनुपर्छ ।”
बाबुरामको कदम आत्मघात
नयाँ शक्ति भन्दै माक्र्सवाद नै परित्याग गरेर हिँड्नु डा बाबुराम भट्टराईको पूर्णत गलत एवम् आत्मघाती कदम भएको बताउँदै उनले भने “माक्र्सवाद नै परित्याग गर्नु, जनयुद्धको मर्म नै परित्याग गर्नु र विगतको आन्दोलन नै गलत थियो भन्नु पूर्णत गलत छ । त्यो मुलुकविरुद्धको घात हो, क्रान्तिप्रतिको घात हो र अन्ततः आत्मघात नै हो । नयाँ शक्तिले मुलुकलाई कहीँ पनि लाँदैन”– दाहालले भने ।