arrow

पिछडिएको समुदाय लक्षित कार्यक्रम बनाउँदै सामाजिक मन्त्रालय

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ चैत १४ बुधबार
pradesh-51.jpg

 बुटवल । सामाजिक विकास मन्त्री सुदर्शन बरालले पिछडिएको समुदायको उत्थानको लागि विशेष नीति तथा कार्यक्रम ल्याउन लागेको बताएका छन् ।
पछाडि पारिएका उत्पीडित समुदाय र सरकारको पहुँच नपुग्नेहरूको लागि नै सरकारको जरुरत भएको बताउँदै उनले प्रदेश सरकार जनताको पहुँचमा पुर्‍याउने गरी आफूले काम थालेको बताए ।

मुस्लिम जागरुक मञ्च, जुरी नेपाल, नेपाल मुस्लिम महिला कल्याण समाजलगालतका संस्थाहरूले मंगलबार कपिलवस्तुको तौलिहवामा आयोजना गरेको मदरसा शिक्षा मूल प्रवाहीकरणका चुनौती र सामाधानका उपायहरू विषयक अन्तर संवाद कार्यक्रम मन्त्री बरालले शिक्षा राज्यको दायित्व भएकाले जसरी पनि पूरा गर्ने बताए ।

 उनले प्रादेशिक विश्व विद्यालय स्थापना गरिने बताउँदै त्यसमा मुस्लिम समुदायको मदरसा शिक्षालाई एउटा ‘डिपार्ट’ का रूपमा राख्न सकिने बताए । वैज्ञानिक शिक्षाले मात्र अन्तर्राष्ट्रिय बजारमा खपत हुने दक्ष जनशक्ति उत्पादन गर्ने बताउँदै मन्त्री बरालले राज्यले मदरशा शिक्षालाई मूल प्रवाहीकरणमा ल्याउने तर आधुनिकीकरणको लागि सम्बन्धित समुदायले निर्णय गर्न सक्ने विषय भएको बताए ।

मन्त्री बरालले प्रदेशमा बोलिने सबै मातृभाषाका तथ्याङ्क संकलन कार्य भइरहेको र आधारभूत तहमा ती भाषाका पाठ्यक्रम अनिवार्य समावेश हुने बताए । मञ्चका अध्यक्ष मेराज खानले मुस्लिम समुदाय नेपालको नामाकरण भन्दा पहिलेदेखि यहाँ बस्न थालेको भए पनि उनीहरू अहिले पनि शिक्षाबाट बन्चित हुनु परेको बताए ।

पाठ्यक्रम विकास केन्द्रका पुरुषोत्तम भट्टराईले मदरशा शिक्षाको लागि पाठ्यक्रममा सुधार गर्दै लगिएको बताए । कार्यक्रममा मुस्लिम अगुवाहरूले राज्यले मदरशालाई हेर्ने दृष्टिकोण फरक रहेको गुनासो गरेका थिए । उनीहरूले कक्षा ५ तह सम्म मदरशाको पाठ्यक्रम राम्रो भएको भए पनि त्योभन्दा माथिका कक्षाहरूको पाठ्यक्रम राम्रो बन्न नसकेको बताएका थिए ।

यसैबीच मन्त्री बरालले तौलिहवास्थित तिलोराकोट दरबारको अवलोकन गरेका छन् । उनी राजा शुद्धोधनको भग्नावशेष दरबार, पोखरी अवलोकन गरेका हुन् । तौलिहवामा रहँदा मन्त्री बराल माओवादी केन्द्र संयुक्त वाम गठबन्धनले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा पनि सरिक भएका थिए । कार्यक्रममा उनले अहिलेको सरकारले जनतासँग प्रत्यक्ष जोडिने गरी काम गर्न थालेकाले सोही अनुसारको भूमिका खेल्न आग्रह गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ