arrow

नेपाली फिल्मका पुराना हिट कोरियोग्राफर बसन्तजंग रहेनन्

नले ‘कान्छी है कान्छी’, ‘नगर दोमन’, ‘बनमा फुल्यो फुल’, ‘यो कथा हो’लगायतका पुराना हिट फिल्मी गीतहरुमा कोरियोग्राफी गरेका थिए ।

logo
प्रकाशित २०७२ माघ २० बुधबार
DSCF9126.JPG.jpeg
काठमाडौं । फिल्म ‘माइतीघर’देखि नेपाली फिल्ममा कोरियोग्राफरका रुपमा डेब्यु गर्दै दर्जनौ फिल्मका हिट गीतमा कुशल कोरियोग्राफी गरिसकेका बरिष्ठ नृत्य निर्देशक बसन्तजंग रायमाझीको ८१ वर्षको उमेरमा निधन भएको छ । घरमा अचानक लडेर अचेत भएका उनको राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो ।

लामो समय मुम्बईमा बसेर अमिताभ बच्चनदेखि हेलेनसम्मका कलाकारलाई फिल्ममा कोरियोग्राफी गरेका उनले ‘माइतीघर’को शीर्ष गीत ‘यो हो मेरो प्यारो’को कोरियोग्राफी गरेका थिए । योबाहेक उनले ‘कान्छी है कान्छी’, ‘नगर दोमन’, ‘बनमा फुल्यो फुल’, ‘यो कथा हो’लगायतका पुराना हिट फिल्मी गीतहरुमा कोरियोग्राफी गरेका थिए । 

उनको कोरियोग्राफीमा फिल्ममा नृत्य गर्ने त्यतिबेलाका कलाकारहरु उनलाई कडा अनुशासनमा नृत्य सिकाउने नृत्य निर्देशकका रुपमा चिन्दछन् । नाताले बसन्त महानायक राजेश हमालका मामा पनि हुन् ।  उनको परिवारमा दुई छोरा, एक छोरी र श्रीमति छन् । उनको शवलाई अस्पतालबाट अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राखिएको थियो । जहाँ पुराना कलाकारदेखि नयाँ कलाकारहरुले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

उनलाई श्रद्धाञ्जली दिनका लागि नयाँ पुस्ताका आर्यन सिग्देलदेखि पुराना कलाकारहरु भुवन चन्द, लक्ष्मी गिरी, बसुन्धरा भुषाल, रविन्द्र खड्का, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, बोर्डका सदस्य रुपा राना, उत्तम केसीलगायत डबलीमा पुगेका थिए । उनको बुधबारै पशुपतिनाथमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ