arrow

‘बिहारबाट हामीले नैतिक समर्थन खोजेका हौ, भौतिक होईन’

आफ्नो पीडा सुनाउन जानु स्वभाविक हो ।

logo
प्रकाशित २०७२ माघ २० बुधबार
madhesi.jpg.jpeg
काठमाडौ । सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले मोर्चाका नेताहरु बिहारमा गएर लालुप्रसाद यादवलाई भेट्नु भौतिक समर्थनका लागि नभएको दाबी गरेका छन् । रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले मोर्चाका नेता विहार जानुलाई जायज र स्वभाविक भएको दावी गरे ।

सुमनले भने,‘ पीडा पर्दा कुटुम्बकोमा गईन्छ । आन्दोलनको विषयमा देश विदेशमा जानकारी गराउने मोर्चाको नीति अनुसार नै नेताहरु विहार जानु भएको हो । विहारका २६ लाख चेली यहाँ बुहारी भएर आएका छन । नेपालबाट २० लाख विहारमा बुहारी भएर गएका छन । हाम्रो विहारमा पारिवारिक, भाषिक, सास्कृतिक सम्बन्ध छ । आफ्नो पीडा सुनाउन जानु स्वभाविक हो । हामीले नैतिक समर्थन खोजेका हौ, भौतिक समर्थन खोजेको होईन ।’

उनले आन्दोलनले मधेसी जनता सबैभन्दा पीडित मधेसी जनता नै भएकोले आफूहरु आन्दोलन रोक्न आतुर रहेको भन्दै यसको लागि आफूहरुले उठाएका जायज मागहरुको तत्काल संबोधन हुनु पर्ने जिकिर गरेका छन् । यद्यपि उनले आन्दोलन भने माग पुरा नहुन्जेल जारी रहने बताए । 

साक्षात्कारमा तराई मधेस सदभावना पार्टीका बरिष्ठ नेता राम नरेश रायले कुनै पनि आन्दोलन एकै नाशले धेरै अगाडि सम्म लिएर जान नसकिने भन्दै मोर्चाको बैठकले आन्दोलनको समिक्षासहित पुनरावलोकन गर्ने विश्वास ब्यक्त गरे ।  उनले भने,‘ हामीले सचिवालयमा आन्दोलन परिमार्जनको विषयमा प्रयाप्त छलफल गरेका छौ । मोर्चाको बैठकमा हामी त्यो कुरा राख्छौ ।’

रायले पाँच महिना लामो आन्दोलनलाई सरकारले नटेरेकोलेपनि आन्दोलनको स्वरुप परिवर्तन आवक्यक भईसकेको भन्दै अबको आन्दोलनलाई उचाईमा पुर्याउन मधेस केन्द्रीत आन्दोलनलाई पहाड हिमालसम्म पुर्याउन आवश्यक रहेको तर्क गरे । उनले भने,‘ हामीले अहिले मधेसको आन्दोलन हिमाल पहाडसम्म पुर्याउन काम गरिरहेको छौ । त्यसकोलागि सबैलाई संगित गरेर अघि बढ्छौ ।’

रायले मधेस आन्दोलन राष्ट्रियता र अखण्डतालाई बलियो बनाउनको लागि भएको भन्दै मोर्चाको आन्दोलन नभएको भए अहिलेसम्म राष्ट्रियता र जग हल्लिसकेको हुन्थ्यो भनि दावी गरे ।  संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले अबको आन्दोलन मधेस र नाकामा मात्र नभई राजधानी केन्द्रीत हुने र त्यसको लागि स्वरुप परिवर्तन आवश्यक भएको तर्क गरे । 

उनले भने,‘ अबको आन्दोलन सिंगो मुलुकमा बढाउँछौ । राजधानी केन्द्रीत नभई परिवर्तन हुने स्थिति छैन । त्यसैले आन्दोलनको स्वरुप परिवर्तन गर्नु पर्छ ।’ यद्यपि उनले आमहडताको कार्यक्रम जारी रहेसम्म भने नाकाबन्दीको कार्यक्रम पनि यथावत रहने स्पष्ट पारे । 

श्रेष्ठले बार्ताबाट समस्याको समाधान नभए आन्दोलनबाटै छिनोफानो हुने दावी गर्दै केपी ओली नेतृत्वको सरकारले  यथास्थितिबादी चिन्तन नछाडेसम्म समस्या समाधान नहुने ठोकुवा गरे ।  उनले तराईको आन्दोलन नेपाल भारतवीच एक अर्काको सरोकारको विषय भएकोले आफ्नो कुरा भन्न विहार जानु बेठिक नभएको तर्क गर्दै आन्दोलनमा समर्थन खोज्नुलाई अनुचित भन्न नहुने बताए । 

श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै अन्तर विरोधले ढल्ने दावी गर्दै यसलाई कसैले ढाली रहन नपर्ने दावी गरे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ