arrow

अब गर्भजाँचबारे एसएमएसबाटै जानकारी 

logo
प्रकाशित २०७४ चैत २५ आइतबार
pregnant.jpeg

बैतडी । मातृमृत्यु र बाल मृत्युदरमा कमी ल्याउनका लागि गर्भवती महिलाको नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको छ । 

बैतडीका विभिन्न स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलमार्फत गर्भवती र सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा पु-याउन सहयोग गरिरहेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयले मेडिक मोबाइलसँगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल प्रदान गरेपछि उनीहरुले एसएमएसमार्फत गर्भवतीको नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिने गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले जानकारी दिए ।

पाटन नगरपालिका, पुरचौडी नगरपालिका, डिलासैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकामा यो कार्यक्रम सञ्चालनमा आइसकेको छ भने अन्य स्थानीय तहमा पनि यो कार्यक्रम सञ्चालनको तयारी भएको छ । 

स्वयंसेविकाले आफूसँग भएको मोबाइलमा गर्भवती महिलाको नाम इन्ट्री गर्नेबित्तिकै जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उनीहरुको नाम इन्ट्री हुने र गर्भवती महिलालाई चार, छ, आठ र नौ महिनामा गर्भजाँच गराउनका लागि महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा म्यासेज जाने गर्दछ । सोही म्यासेजका आधारमा महिला स्वास्थ्य स्वयंसेविकाले महिलालाई गर्भजाँच र सुत्केरी गराउन स्वास्थ्य संस्थामा पठाउने गरेको परिवार नियोजन सुपरभाइजर जोशीले बताए ।

आफूहरुले मोबाइलमार्फत एसएमएस पठाउँदा र पाउँदा गर्भवती महिला तथा सुत्केरी हुने समय पुगेका महिलालाई स्वास्थ्य संस्थामा पठाउन सजिलो भएको डिलासैनीका महिला स्वास्थ्य स्वयंसेविका गीता बोहराले जानकारी दिइन् ।

मातृमृत्यु र बाल मृत्युदरमा कमी ल्याउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यो कार्यक्रम सञ्चालन रहेका स्थानीय तहमा कार्यक्रम प्रभावकारीरुपमा जारी रहेको छ । 

मेडिक मोबाइल स्वास्थ्य सेवा कार्यक्रम नेपालमा सन् २०१३ मा बाग्लुङमा पाइलटिङकारुपमा शुरु गरिएको थियो । सन् २०१५ मा मात्र बाग्लुङ जिल्लाभित्र पूर्णरुपमा विस्तार गरी त्यसपश्चात् गोरखा, धादिङ, इलाम हँुदै यो वर्षदेखि बैतडीमा पनि शुरु गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ