arrow

काठमाडौं नै लक्ष्य भन्दा ३ महिना ढिलो गरी पूर्ण खोप सुनिश्चत जिल्ला घोषणा

logo
प्रकाशित २०७४ चैत २६ सोमबार
khop.JPG

काठमाडौं । लक्ष्य राखिए भन्दा ३ महिना ढिलो गरी काठमाडौं पूर्ण खोप सुनिश्चत  जिल्ला घोषणा हुँदैछ ।
काठमाडौंमा एक वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाएको सुनिश्चित भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले बताए । 

एक वर्ष मुनिका सबै बालबालिकाले सम्पुर्ण ११ खोप पाएको अवस्थामा मात्रै यो घोषणा गर्ने गरिन्छ । २ वर्ष मुनिका बालबालिकाको अध्ययन गर्नै क्रममा जिल्लाका सबै बालबालिकाले खोप पाइसकेको अवस्थामा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुन लागेको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा जिल्ला खोप समन्वय समितिले सोमबार टुँडिखेलमा काठमाडौंलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्दैछ । काठमाडौंलाई ३८औं पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न लागिएको  हो ।

यो  कार्यक्रम आयोजना गर्नुको मूल उद्देश्य आगामी दिनमा पनि सबैले आफ्ना बालबच्चालाई खोप लगाउने प्रतिवद्धता व्यक्त गरुन् भन्नका लागि रहेको काठमाडाैं जनस्वास्थ्य कार्यालयले जनाएको छ । 
काठमाडौंमा जिल्ला जनस्वास्थ्य कार्यालयले गरेको सर्वेक्षणमा सबै बालबालिकाले खोप लगाएको पाइएको छ । 

काठमाडौंमा २०७३ साल असारमा पहिलो पटक कीर्तिपुर नगरपालिकाले पूर्ण सुनिश्चित नगर घोषणा गरेको थियो भने, गएको पुसमा काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित महानगर घोषणा गरिएको थियो ।

देशका ३७ जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा गरिसकेको अवस्थामा  सोमबार काठमाडौं र बारा जिल्लालाई पूर्ण खोप सुनिश्चितयुक्त घोषणा गर्न लागिएको हो । विभिन्न रोग एवं संक्रमणबाट बालबालिकालाई बचाउन र रोग प्रतिरोधात्मक क्षमतावृद्धि गर्न दिइने खोपको पहुँच बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बालबालिकालाई विभिन्न रोगबाट बचाउन बीसीजी, डीपीटी, रुबेला, पोलियोलगायत खोप लगाइन्छ । सन् १९९६ मा एक वर्ष मुनिका प्रति एक हजार शिशु मध्ये ७९ जनाको मृत्यु हुने गरेको थियो भने, अहिले मृत्युदर ३४ जनामा झरेको छ । 

नवजात शिशु मृत्युदर प्रतिहजार ५० बाट १७ मा झरेको छ । शिशु एवं बाल मृत्युदर तथा अपांगता दर घटाउन खोपले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठका अनुसार  सोमबारदेखि  देशका ३९ जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा हुनेछ ।

समयमै लक्ष्य पूरा गर्न नसकिए पनि खोप अभियान देशका ३९ जिल्लामा सफल भएको छ । सरकारले सन २०१७ सम्ममा सबै जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा गर्ने लक्ष्य राखेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ