arrow

नेपाली सञ्चारमाध्यमले अाेलीलाई देवत्वकरण गरे, देउता बनाईदिए : डा‌. काेइराला (अन्तर्वार्ता)

तिब्बतीयन धर्मगुरुलाई भेट्नुले के संकेत दिन्छ ? नेपालमै भेटे हुँदैन थियाे ?

logo
प्रकाशित २०७४ चैत २७ मंगलबार
shekhar-Koirala.jpg.jpeg

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सञ्चारमाध्यम, विज्ञ र प्रबुद्धवर्गले प्रधानमन्त्री केपी शर्मा ओलीको देवत्वकरण गरेको आरोप लगाएका छन् । सामान्य कुरालाई बढाईचढाई गरेर प्रधानमन्त्रीलाई  देवत्वकरण गरिएको डा. कोइरालाको भनाइ छ । प्रधानमन्त्रीको भारत भ्रमणमा उठाउनुपर्ने विषय नउठाएर पानी जहाज, रेललगायतका पुरानै विषयमा छलफल गरेर प्रधानमन्त्री ओली स्वदेश फर्केको भनाई कोइरालाको छ । हामीले डा. कोइरालासँग थप कुरा गरेका छाै :

० प्रधानमन्त्रीको ओलीको भारत भ्रमणलाई कांग्रेसले कसरी हेर्छ ?
– म चितवनमा छु, यस विषयमा नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्ने भनेको छ । बाँकी कुरा मलाई थाहा भएन । नाकाबन्दीपछि नेपाल–भारत सम्बन्धमा केही तिक्तता आएको हो । त्यो तिक्तता प्रधानमन्त्री प्रचण्डजी, शेरबहादुरजी र अहिले ओलीजी भारत गएर सम्बन्ध सुधार हुँदैछ । छिमेकीको नाताले नेपाल–भारत सम्बन्धमा तिक्तता हुनु नौलो कुरा होइन । तर प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको सम्बन्धमा भने सुधार भएको देखिन्छ ।

० व्यक्तिगत सम्बन्धमा मात्र सुध्रियो ?
– होइन, दुई प्रधानमन्त्रीले १२ बुँदे सहमति गरेका छन् । प्रधानमन्त्री ओलीको भारत भ्रमणमा नौलो कुरा भेटिएन । भारतीय प्रधानमन्त्री मोदीले सगरमाथादेखि सागर जोड्ने कुरा गर्नुभएको छ । रेलको कुरा प्रधानमन्त्री ओलीजीले बढाइचढाइ गर्नुभएको छ । तर भारतले एकडेढ वर्षअघि नै आफ्नो बजेटमा ७८ करोड रुपैयाँ सर्वेका लागि राखिसकेको छ ।

० रक्सौल–काठमाडौं रेल सेवाको तपाईंहरुले स्वागत गर्नुभएको हो ?
– नेपालका विभिन्न प्रधानमन्त्री भारत गइराख्नु हुन्छ, भारतका प्रधानमन्त्री नेपाल आउनु हुन्छ । रेलका कुरा अघि बढिरहेका हुन्छ । यसको चर्चा यसअघि पनि चलेकै हो । नेपालमा कोशी, गण्डकी, कर्णाली र महाकालीमा बाँध नबाँधी वा हाइड्याम नबनाइ पानी जहाज नेपालमा चल्न सक्ने अवस्था छैन । यो विषयमा विज्ञहरुले भन्नुपर्छ, हामी यसको विज्ञ होइन । कोशीमा हाइड्याम बनाउने कुरामा भारत धेरै अगाडिदेखि तयार थियो, नेपालले नै रोकिराखेको हो ।

० प्रधानमन्त्री ओलीको भारत भ्रमणमा उठाउनु पर्ने विषय नउठाएजस्तो लाग्दैन ?
– उठ्यो उठेन थाहा भएन, दुई प्रधानमन्त्री मात्रै पनि बैठक भएको छ । यद्यपि हामीबीच केही समस्या छ । पहिलो समस्या व्यापार घाटा हो । भारतसँग ६ खर्ब रुपैयाँ व्यापार घाटा भइरहेको छ । त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ त्यसतर्फ हामी जानुपर्छ । पञ्चेश्वर परियोजनाबारे कुनै कुरा उठेन । शारदाको पानीलाई लिएर भारतको रिजर्भेसन देखिन्छ । बाढी नियन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओलीजीले कत्ति पनि महत्व दिएको देखिएन । डुवानको सिजन आइसक्यो ।

० पञ्चेश्वर र अरुण तेश्रोबारे निर्णय आउँछ भन्थे ?
– सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीलाई देवत्वकरण गरे। प्रधानमन्त्री ओलीलाई देवत्वकरण गर्न जरुरी छैन, तपाईंहरु बुझ्नुस् । नेपालमा सबै मिडिया, विज्ञ, बौद्धिक जगतले प्रधानमन्त्री ओलीलाई देवत्वकरण गरेर आकाशमा पुर्‍याइदिएका छन् । देवत्वकरण गर्नुपर्ने व्यक्ति होइनन् ।

० देवत्वकरण गरेका छन् र ?
– देवत्वकरण गरेको प्रचारमा आएको छ । ओलीजी र मोदीजी एक्लाएक्लै भेट भएको पहिलो पटक भनेर सञ्चारमाध्यममा आयो। यसअघि शेरबहादुरजी, प्रचण्डजी जाँदा पनि एक्लै भेटेको होइन ?

० प्रधानमन्त्रीको भारत भ्रमणबारे अरु केही भन्नु छ ?
– नेपाली दूतावासले रिसेप्सन दिएको थियो । त्यहाँ प्रधानमन्त्री ओलीले तिब्बतीयन धर्मगुरुलाई पनि भेट्नुभएको छ । त्यसले के सन्देश दिन्छ ? ती धर्मगुरुलाई उहाँले नेपालमै पनि भेट्न सक्नुहुन्थ्यो नि । हामीले एक चीन नीति अपनाइसकेका छौं । चीनलाई के सन्देश दिन्छ ? त्यो कुरा कसैले उठाइरहेको छैन । तपाईंहरु सोध्नु हुन्न, हामीले भन्नुपर्ने अवस्था आइसक्यो । प्रधानमन्त्री ओलीले जुन तिब्बतीयन धर्म गुरुलाई भेट्नुभयो, उहाँ नेपाल पनि आइराख्नु हुन्छ । नेपालमै भेटे हुँदैन थियो, देशको प्रधानमन्त्रीले ।

० विदेशी भूमिमा भेट्नु हुँदैन थियो ?
– हो, तत्कालीन प्रधानमन्त्री शेरबहादुरजीले गोवामा भेट्दा मैले विरोध गरेको थिएँ ।

० कूटनीतिरुपमा प्रधानमन्त्री ओलीले गम्भीर भूल गर्नुभयो ?
– मलाई त्यस्तै लाग्छ । हाम्रो चीनसँगको राम्रो सम्बन्धलाई सशंकित बनाइदिनुभएन नि ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ