arrow

क्षयरोगको भयावह स्थिति : आधा नेपाली टीबीका किटाणु बोकेर हिँड्छन् !

logo
प्रकाशित २०७४ चैत २८ बुधबार
TB.JPG

काठमाडौं । नेपालको जनसंख्या मध्ये, आधा जनसख्यामा क्षयरोग अर्थात् टीबीका किटाणु सुसुप्त अवस्थामा रहेको खुलेको छ । केन्द्रीय तथ्यांक विभागको आँकडा अनुसार नेपालको जनसंख्या २ करोड ८५ लाखको हाराहारीमा छ । तीमध्ये आधा जनसंख्यामा सुसुप्त अवस्थामा क्षयरोगको किटाणुले बास गर्ने गरेको  भक्तपुरको ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रले जानकारी दिएको हो । शरीरमा क्षयरोगको किटाणु भए पनि, रोग प्रतिरोधात्मक क्षमता बढी भएकालाई क्षय रोगले सताउँदैन, जसको इम्युन पावर कम छ, उनीहरुलाई टीबीले सताउने, चिकित्सकहरु बताउँछन् । 

त्यस्तै, एचआइभी लागेका मध्ये १२ प्रतिशतमा टीबी हुने गरेको तथ्यांक छ, भने यो संगै मधुमेह लगायतका दीर्घ रोगीहरुमा पनि टीभी हुने सम्भावना अत्यधिक हुन्छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले, नेपालमा वर्षेनी ४५ हजार भन्दा बढी टीबीका नयाँ रोगी थपिने गरेको आँकडा दिएको छ ।  
तर, सरकारी रेकर्डले हाल ३२ हजार टीबीका बिरामी उपचारको दायरामा  आएको र १३ हजार जति बिरामी उपचारको दायरामा नआएको देखाएको छ । 

टीबीका विरामीलाई समाजले राम्रो रुपमा नहेर्ने भएकोले, यसलाई लुकाएर राख्ने गरेका छन् । रोगले निकै गलाएपछि मात्रै उनीहरु उपचारका लागि आउने गरेको पाइन्छ । सरकारले डट्स उपचार विधि ल्याएको २ दशक भइसक्यो यसबीचमा औषधी निःशुल्क र रोग पहिचान भएपछि अन्य सेवा पनि निशुल्क दिने गरेपनि सामाजिक कारणले गर्दा बिरामी र परिवार रोगबारे खुलेर बाहिर आएका छैनन् । रोग लुकाउने प्रवृति र अन्य दोहोरो रोगका कारण पनि टीबीका कारण कारण वर्षेनी करीब ७ हजारसम्म मर्ने गरेको अनुमान, डब्लुएचओको छ । नेपालमा मृत्यु हुने प्रमुख १० रोगमध्ये टीबी ५ औं स्थानमा छ  । 

एमडीआर टीबी अझ डरलाग्दो 
सामान्यय टीबीका औषधीले काम गर्न छोडेका बिरामीलाई दोस्रो लाइनको औषधी दिइन्छ, जुन औषधीपछि अर्को कुनै उपाय छैन । यो नै एमडिआर टीबीका रोगीका लागि दिइने औषधी हो । उनीहरुको लागि यसपछि खाने अर्को बिकल्प औषधी नहुने भएकाले एमडीआर टीबी भयानक खालको रोग हो । 
अहिले नेपालमा वार्षिक ४ सय भन्दा बढीमा एमडीआर टीबी देखिएको छ । तर डब्लुएचओले भने, नेपालका कम्तिमा १ हजार ५० बिरामीमा एमडीआर टीबी  हुनुपर्छ भनेको छ । 

यो रोग विशेष गरी आर्थिक उपार्जन गर्ने उमेर समूहलाई सबैभन्दा बढी देखिएको छ । जनरल टीबीका बिरामीले जनरल नै र एमडीआर टीबीका बिरामीले एमडीआर टीबी नै सार्छ, जुन भयानक स्थिति हो । 
उपचारमा खटिएका चिकित्सक कर्मचारी तथा विशेषगरी यस्ता रोग हेर्ने स्वास्थ्य केन्द्रका सरसफाई गर्ने कर्मचारी नै एमडीआर टीबीबाट बढी पिडित भएको पाइएको छ । जनरल टीबी बिग्रेपछि एमडीआर टीबी हुने हो । औषधीको कमजोरी नभई नियमित र कोर्ष पुरा गरेर औषधी नखाइदिँदा रोग फेरी बल्झने मात्र होइन कडा खालको एमडीआर विकसित हुन्छ । 

जनरल टिबी भएकाले नियमित र पूर्ण कोर्षका औषधी नखाइदिँदा एमडीआर केस बढने गरेको छ । यो विशेषगरी युवा पुस्ताले हेलचेक्रयाई गरेको पाइन्छ । बिरामीले पहिलोपटक टीबी देखा परेपछि रोगको प्रकृति अनुसार निश्चित अवधिका लागि दिन नबिराई औषधी सेवन गर्नुपर्छ । तर भूलबस वा जानाजान बीचैमा औषधी खान छुटेमा रोग दोहरिन्छ । दोहरिएको बेला पनि हेल चक्र्याईं गरेमा तेश्रो पटक रोग देखिँदा उपचार हुने संभावना न्यून भएर जान्छ । त्यसैकारण टीबीको औषधी स्वास्थ्यकर्मीको निगरानीम दिन नबिराईकन खान डाक्टरहरुले सल्लाह दिने गर्छन् । 

डब्लु एचओ र सरकारी तथ्यांकमा फरक  
रोग विशेषको विषयमा अन्तर्राष्ट्रिय स्तरमा डब्ल्यूएचओले सर्भे गर्ने गर्छ भने स्थानीय स्तरमा स्थानीय सरकारले । तर प्रायजसो डब्ल्यू.एच.ओ र सरकारी आँकडा फरक पर्ने गर्छ । राष्ट्रिय क्षयरोग केन्द्रका योजना अनुगमन मुल्यांकन तथा तथ्यांक अनुसन्धान प्रमुख तथा प्रिभिलेन्स सर्भेका संयोजक अनिल थापा यो रोगलाई जनस्वास्थ्यका बिभिन्न समस्यामध्ये प्रमुखका रुपमा राख्नुपर्ने आवश्यकता ठान्छन् । 
टीबीमा काम गर्नेहरुवीच चारचार महिनामा छलफल हुन्छ । आवधिक अध्ययनले, उपचारमा आउने संख्या डब्लुएचओले भनेको भन्दा कम देखाएको छ । 

बिरामीहरुले नीजि स्वास्थ्यसंस्थामा पनि उपचार गराउने भएकोले, सरकारी तथ्यांकमा कम रोगी देखिएको पनि हुनसक्ने उनको भनाइ छ । रोग लुकाएर बस्ने प्रवृति र गरिबीका कारणले पनि डब्लुएचओले भनेको भन्दा कम संख्या देखिएको थापा बताउँछन्  । नमुनाका रुपमा दोल्खा, सिन्धुली र भक्तपुरमा अध्ययन गरिसकिएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले वास्तविक तथ्यांक पत्ता लगााउन क्लष्टर छुट्याएर प्र्रिभिलेन्स सर्भे गर्ने तयारी गरेको छ । 

केही दिनमै चितवनबाट तथ्यांक संकलन सुरु हुनेछ । नमूना परीक्षणका लागि भक्तपुरमा ६ सयजनाको छाती परीक्षण गर्दा पनि टीबीका बिरामी देखा परेनन् । अब वास्तविक क्लष्टरको जाँच गर्दा ५५ जिल्लामा जाने तयारी छ। ती जिल्लामा ९९ वटा क्लष्टर छुट्याएर टीबीको परीक्षण गर्ने केन्द्रले जनाएको छ । यो परीक्षणपछि मात्रै टीबीका बिरामीको वास्तविक संख्या पत्ता लगाउन सहज हुनुका साथै डब्ल्यूएचओ र सरकारको तथ्यांकबीचको मतभेद हट्ने थापाको दाबी छ।

कारण 
विशेषगरी गरिबी, ध्रुम्रपान मद्यपान, पत्रु खाना (जंक फूड) खाने र  जीवनशैली परिवर्तन, वातावरण प्रदुषणका कारणले रोगसँग लड्ने क्षमता (इम्यून पवर) मा कमी आउँछ । जसको इम्यून पावर कम छ उसैलाई टीबीले गाँज्ने गरेको पाइएको छ । 

के गर्ने ?
हावाबाट सर्ने रोग भएकाले टीबीका बिरामीले खोक्दा वा हाच्छिउँ गर्दा स्वस्थ मान्छेमा पनि रोगका किटाणु सर्छ । त्यसैले  बिरामी आफैले माष्क लगाउने, खोक्दा वा हाच्च्च्च्छिउँ गर्दा रुमाल प्रयोग गर्नुपर्छ । अनि स्वस्थ मान्छे बिरामीको सम्पर्कमा रहँदा माष्क प्रयोग गर्ने, सतर्क रहने । विशेषगरी सार्वजनकि यातायातमा यात्रा गर्दा अनिवार्य माष्क लगाउने । पोशिलो खाना खाने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ