- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दक्षिण कोरिया । सन् २००९ को अन्त्यतिर कोरियाको भिषा लागेपछि पासपोर्ट च्यापेर घर परिवार सहित आफन्तहरुसंग बिदा हुँदा मन मष्तिकमा एक मात्र लक्ष्य थियो छोटो समयमा केही धन कमाउने र घर परिवारमा आफ्नो जिम्मेवारी पूरा गरी स्वदेश फर्कने ।केही लक्ष्य र सपना बोकेर कोरियाको कर्म भुमिमा पाईला बिसाउन आईपुगेको त्यस समयमा मेरो मनमा कतै पनि लागेको थिएन कोरियामा पनि संगठित रुपमा पार्टी राजनीतिमा सक्रिय हुन पाइएला भन्ने ।
नेपाली कांग्रेसको संगठन भित्र रहेर काम गर्ने बानी परेको मेरा लागि कोरियाको नयाँ सपना सहित हान्निदा पनि पार्टी राजनीति प्रतिको लगाव र समर्पण घटेन बरु थप उर्जा सहित प्रवासी राजनीतिलाई हैसे गर्ने अवसर मिल्यो ।
पहिलो संविधान सभाको चुनाव पछि कोरिया प्रवेश गर्दै गर्दा मैले विश्वास र भरोसा लिएको पार्टीको स्थान दोस्रोमा खुम्चने पुगेको थियो । ने.क.पा.माओबादी युद्धको जगबाट शान्ति प्रकृयामा प्रवेश गरेकाले हुन सक्छ पहिलो भयो । नेपाली जनताले केही खाशा त केही अन्य अवस्थाका कारण माओबादीलाई मतदान मार्फत मुलुकको ठूलो दल बनाएर नेपाली जनताले संविधान बनाउदै शान्ति प्रक्रिया टुङ्गो लागाउने जिम्मा दिए । तर नेपाली कांग्रेस खबरदारी सहित सहयोग गर्नु पर्ने जनादेशमा थियो ।
एकातिर आफु बिद्यार्थी अवस्था देखि नै नेपाल विद्यार्थी संघको राजनितीमा संगठनिक तरवले विभिन्न तहमा रहेर काम गरेकाले कांग्रेसको तत्कालीन समयमा संविधान सभा भित्रको उपस्थित र जिम्मेवारी हेर्दा मनमा चिन्ता परिहेको थियो तर बाध्यता थियो केही समयलाई देश छाड्नै पर्ने ।
२००९ को नोभेम्बर तिर होला मैले काम गर्ने कम्पनी नजिकै रहेको अर्को कम्पनीमा काम गर्ने जयराम तिमिल्सिना सँग भेट भयो । भेटमा परिचय हुँदै जादा राजितिक बिचार पार्टीको कुरा पनि साटासाट हुन थाले । भावना त मिल्यो नै पार्टी प्रतिको आस्था पनि मिलेछ । त्यसै बखत कोरियामा कांग्रेसको प्रवासी भातृ संगठन रहेको जानकारी सहित संगठनका नेताहरु भेट गराउने कुराले मेरा लागि कोरियामा कांग्रेस बुझ्ने मौका आयो ।
त्यस पछि जनसम्पर्क समिति दक्षिण कोरियाका नेता जो आन्सान क्षेत्रमा बसेर केन्द्रीय कार्यसमितिमा सक्रिय भुमिका निभाएका नेता एवम् मेरा अहिलेका निकट मित्र टंक बानियाँसँग भेट भयो । कांग्रेसको चार तारे झण्डा बोकेर काम गर्न पाईने अवसरले त्यस बेला लगभग लगभग मलाइ छोयो जस्तो महसुस हुन थाल्यो । पार्टी र बिचार प्रति देश छाड्दा समेत निरन्तर सक्रिय रहन पाईने भो भन्ने कुराले अर्को इटा थपिएला भन्ने तिर मन दौडन थाल्यो ।
टंक बानियाँ सर संगको भेट पश्चात आफु पुगेको देशको राजधानी सउलमा कांग्रेसीहरुसँग भेटघाटको कार्यक्रममा जाने तय भयो । पार्टीले क्रियाशिल सदस्य बनाउनका लागि पठाएको फर्म सहित सउल पुगेर सदस्य थप्न पाउँदा धेरैसँग चिनजान होला र राजनीतिमा अघि बढ्न थप उर्जा मिल्ला भन्ने निर्णय सहित म सउल जाने निश्कर्षमा पुगे र आफुले समेत त्यहि सदस्यता लिए ।
आन्सानबाट सउल जाँदा रेलमा झण्डै १ घण्टा ४० मिनेट राजनितीक गफ भयो होला । नेपालको अवस्थाको बारेमा धेरै गफियो । कति चिन्ता थपियो कति उर्जाशिल बहस पनि भए । कोरियामा राजनीतिक पहिचान बनाएर नेपाल फिर्ता भएका दाजुहरुको अभाव कोरिया जनसम्पर्क समितिले निरन्तर गरिरहेको आभाष उहाँका कुराहरुबाट पाएँ ।
उपसभापति सुनिल कर्माचार्यले कार्यवाहक भएर संगठनको नेतृत्व गर्दै गर्दा भएको समय अभावका कारण संगठन संचालनमा भएको निकै गाह्रो र कठिन अवस्थाका विषयमा पनि धेरै छलफल भए । यतिन्जेल हामी सउलको दुङ्देमुन पुगेका थियौ । त्याहाँ हामी नै सबै भन्दा पहिले पुग्यौं । हामी पुग्ने बित्तिकै गंगा थापा श्रेष्ठ, राजन श्रेष्ठ,मणिचन्द्र चेम्जोङ, डिबि थापा, लिला बि.क, सुनिल कर्माचार्य लगाएत धेरै जनसम्पर्क समितिका नेताहरु आइसकेको पाएँ । तत्कालीन समयमा दुङदेमुनमा नेपाली रेस्टुरेन्ट संचालन गर्दै आएका जनसम्पर्क समितिका बौद्धिक नेता आनन्द गुरुङको रेस्टुरेन्टमा राजनीति तात्यो । त्यही सबै संग परिचयभ यो । बैठक सकेर हामी सबै आफ्नो कार्यथलो फिर्ता भयौं ।
संगठन मजबुत बनाउन विदेशी भूमिमा खटेका नेता एबं साथिहरुको भेटले मनमा उर्जा मिलेको थियो । आफु पनि सक्रिय हुने मन बढिसकेको थियो । तत्कालीन कार्यवाहक सभापति सुनिल कर्माचार्यको सम्पर्क नम्बर लिइसकेको थिएँ । पछि धेरै पटक सम्पर्क गर्न खोजे सम्पर्क हुन सकेन र टंक बानियाँ सँगै बुझ्दा संगठनको अवस्था निकै नाजुक भएको सुनाउनु भयो ।
संगठनकै चिन्तामा सरसल्लाह हुदा हुँदै धेरै समय बित्यो । पछि सक्रिय नेताहरु एबं साथिहरुको छलफलले जेबि राईको संयोजकत्वमा तदर्थ समिति गठन गरेर क्षेत्रीय एबं केन्द्रीय अधिबेशन गर्ने निचोड सहित अगि बढ्ने कामको सुरुवात भयो । संगठनले नयाँ जीवन पाउने सुनिश्चितता भयो । तत्कालीन अवस्थामा कारियामा संगठन रहेको सात क्षेत्रमा भब्यताका साथ क्षेत्रीय अधिवेशन सम्पन्न गरियो । यसले ऐतिहासिक दोस्रो अधिवेसनको बाटो तय गरेको हामी सबैले मान्यौ । नेपाल बाट पाल्नु भएका नेपाली कांग्रेसका प्रखर नेता ध्रुव वाग्लेको प्रमुख आथित्यमा अधिवेशन सम्पन्न गर्दै जनसम्पर्क समिति दक्षिण कोरियाले नयाँ सभापतिको रुपमा गंगा थापा श्रेष्ठलाई पायो । उपसभापतिमा नवराज सिवाकोटी र आन्नद गुरुङ, महामन्त्रिमा प्रकाश खनाल, सहमहामन्त्री म र रामकुमार राई, कोषाध्यक्षमा राजेश लामा निर्वाचित भयौ ।
अन्य केन्द्रीय कमिटीका साथिहरु पनि निकै जुजारु थिए । लक्ष्मण भान्तना र ईन्छन क्षेत्रका तत्कालीन क्षेत्रीय सभापति प्रकाश वलीहरुको सक्रियता सुरु देखि आज सम्म पनि उच्च सम्मानन योग्य र सशक्त छ । यस कार्यकालमा सबै बिभागहरु गठन गरेर सबैलाई जिम्मेवारी सुम्पिएर सभापतिले परिपक्वता देखाइ सकेका थिए । तत्कालीन सातै क्षेत्रमा क्षेत्रीय भेला सम्पन्न भएका थिए । केन्द्रमा पनि भेला आयोजना गरिएको थियो । यो कार्यकालमा संगठन अझ एक कदम अगि बढेको थियो ।
तेस्रो अधिवेशनमा कांग्रेसका नेताहरु आनन्द ढुंगाना र अर्जुन जोशिको उपस्तिथि बाट सभापतिमा नवराज शिवाकोटी निर्वाचित भए । यश कार्यकालमा पनि धेरै प्रतिभावान साथिहरुले संगठनलाई उचाईमा पुराउन योगदान दिए । म भने कोरिया बसाइ अवधि अति कम भएकोले कार्यसमितिमा बसिन । कार्यसमितिले क्रियाशिल सदस्यता ५०६ पुराएर नेपाली कांग्रेसको बिधान बमोजिम एक निर्वाचन क्षेत्रको बैधानिक अधिकार सुनिश्चित गरेको थियो । यस्तै नेपाली कांग्रेसको १३ औ माहाधिवेशनमा ७ जना प्रतिनिधि जाने निश्चित समेत भइसकेको थियो । यस माहान अवसरका लागि हामी सबै खटेका थियौ ।
चौथो अधिवेशन नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेको प्रमुख अथितिमा भएको थियो । सो अधिवेशबाट हामीले तत्कालीन उपसभापति गिरिबाहादुर कुवँरलाई सभापतिमा चयन गरेका थियौ । सो कार्यसमितिको नेतृत्वमा पार्टीको एतिहासिक १३ औं महाधिवेशनमा ३ महासमिति सदस्य र ४ महाधिवेशन प्रतिनिधि सहित भाग लिएर कोरिया जनसम्पर्क समितिले नयाँ उचाइ लिउको हो ।
यसरी साथिहरु संगैका यात्रामा सधै सक्रिय रहदै आज सम्मको समय र अवस्था सम्म आईपुग्दा जनसम्पर्क समिति दक्षिण कोरियाले एउटा निकै ठूलो उचाई र कोर्स पूरा गरेको अनुभुती भएको छ । पार्टीको बिधानले दिएको मान्यतासंगै थप जिम्मेवारी पनि थपिएको महसुस गर्दै अगि बढ्ने काम तर्फ अहिलेको अवस्थमा पाइला अघि बढिरहेको छ ।
बर्तमान समयमा नेपालको राजनीतिमा नेपाली कांग्रेसको उपस्थित म कोरिया आउँदै गर्दाको भन्दा पनि खस्किएको छ । त्यता तर्फको चिन्ता कोरियाका राजनीतिक छलफल र बहसहरुमा सधै उठ्ने गरेका छन । विषम परिस्थितिमा हामीले पनि हाम्रो संगठनलाई संगठानिक रुपमा र पार्टीलाई शक्ति प्रदान गर्न अहम भुमिका खेल्न जरुरी छ भन्ने महसुस टट्कारो रुपमा भइरहेको अवस्था छ । पार्टी नेतृत्व देखि सम्पर्क समितिमा नेतृत्व गरिरहेका र गर्न चाहने सबै पूर्णरुपमा एक ढिक्का भएर संगठित हुँदै अगि बढ्नु नितान्त जरुरी छ । यसका लागि आगामि दिनमा म आफु र साथिहरुलाई उत्प्रेणा र उत्प्रेरित गर्दै सक्रिय रहनु पर्छ भन्ने तथ्य ति सुरुवातका दिन र संगठन कमजोर भउका दिनहरुले सम्झाइ रहेका छन ।
पछिल्लो समयमा पार्टी सरकारमा हुदा अवलम्बन गरेको आर्थिक निति गलत थियो भनेर जसरी देखाउन खोजिएको छ यो कम्युनिस्टहरूले चर्चा कमाउदै अफवाहा फैलाउन मात्र चालेको चालवाजी हुन भन्ने हाम्रो निश्कर्ष हो । किनभने विश्व बिख्यात राजनीतिक र्दार्शनिक एबं कम्युनिस्ट बिचारकै पिता मानिएका कार्ल माक्र्सको बिचारमै टेकेर हेरे पनि सम्यवादमा पुग्न पुजीवाद,समाजवाद हुँदै आउनु पर्छ भन्ने तर्क पाईन्छ । हाम्रो पार्टी समाजवादको पक्षपाती हो । समाजवाद तर्फ लाग्न मुलुक सम्पन्न हुनै पर्छ । सम्पन्नता पुजी बिना सम्भव पनि हुदैन । त्यसैले पुजिको बिकास र बृद्धी नै समाजवाद को आधार हो भन्न सकिन्छ । सबै तरिकाबाट देशको अर्थतन्त्र दरो बनाए पछि त्यसैको जगमा टेकेर समाजवादी अर्थनीति उन्मुख राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने कुरामा हामी बिश्वत हुने उदाहरणहरु पनि हाम्रो बिचमा छन ।
नर्वे, फिनल्यान्ड,आईसल्याण्ड र स्वीट्जरल्यान्ड जस्ता देशहरुले समाजवादी अर्थ निति अवलम्बन गरेका छन । यी देशहरुले पनि सुरुवाती समयमा पुजीको तिब्र र भिमकाय बिकास गरेरै समाजवादी अर्थ निति देशमा सफलता संग सञ्चालन गर्न सक्ने हैसियतमा आएका हुन । चिन पनि पछिल्लो समयमा यसै बाटोको यात्रा गरिरहेको देख्न सकिन्छ । पुजिको अथाहा बिकास बिना समाजवादी अर्थ नीति लागु गर्न वा व्यवहारमा उतार्न निकै कठिन देखिन्छ अथवा असम्भव प्राय नै हुन्छ । अहिले कम्युनिस्टहरूले कांग्रेस बि. पि को समाजवादी सिद्धान्त छाडेर पुजीवादी अर्थनीति तिर लाग्यो भन्नू दोष मात्र हो ।
नेपाली जनताले पनि संका गर्नु कम्युनिस्टहरुले छरेको झुटको अफवाहालाई हामीले चिर्न नसक्नु नै हो । यसका लागि पार्टी भित्र र विभिन्न भातृ संगठन भित्र रहेर काम गरिरहेका सक्रिय सदस्य एबं कार्यकर्ताहरुलाई राजनीतिक प्रशिक्षण मार्फत प्रशिक्षित गराउन नितान्त जरुरी छ ।हामी कोरियामा नेपाली जनसम्पर्क समिति द. कोरियाको ५ औं क्षेत्रीय र केन्द्रीय अधिबेशनको संघारमा छौ । यस अधिवेशन मार्फत हामीले यहाँका कांग्रेस जनहरुलाई एक आपसमा जोड्दै सुसंगठित पार्दै क्षेत्रीय कार्यसमिति र केन्द्रीय कार्यसमितिलाई मजबुत बनाउन पहल गर्नु पर्नेछ । संगठित साथिहरुलाई राजनीतिक एबं सैद्धान्तिक रुपमा प्रखर शैलिले पार्टी र आफ्ना बिचार राख्न सक्ने बनाउन आवश्यक छ । यति गर्न सक्यौ भने यति धेरै संघर्षको सार्थकता देखिनेछ । जय नेपाल !!!
(लेखक जनसम्पर्क समिती दक्षिण कोरियाका प्रेस बिभाग प्रमुख हुन)