arrow

प्रदेश विधेयक पारित

logo
प्रकाशित २०७५ वैशाख ११ मंगलबार

विराटनगर। प्रदेश नं. १ को आजको बसेको प्रदेशसभा बैठकले ‘प्रदेश सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि–२०७४’ सर्वसम्मतले पारित गरेको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले गत वैशाख ६ गतेको प्रदेशसभाको बैठकमा टेबुल गर्नुभएको सो विधेयकका सम्बन्धमा कुनै संशोधनका लागि प्रस्ताव दर्ता नभएपछि आजको वैठकमा सर्वसम्मत रुपमा पारित भएको हो।

प्रदेशसभाको नियमावली १०२ बमोजिम सो विधेयकको दफा १ देखि १४ सम्म अन्तर्गतका प्रस्तावना, प्रारम्भ र कार्य सर्वसम्मत रुपमा पारित गरियोस् भन्ने यो विधेयक प्रदेशसभाको अंग बनेको छ। प्रदेश सभाको शून्य समयमा उठेका प्रश्नहरुको जवाफ दिदैं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बेमौसमी वर्षा र असिनाका कारण कृषि क्षेत्रमा भएको क्षतिको सम्बन्धमा स्थानीय सरकारसँग छलफल र अध्ययन गरी गरी प्रतिवेदन प्रस्तुत गर्ने बताए।

यस प्रदेशमा रहेका अव्यवस्थित सुकुम्वासी बसोबासको समस्या समाधानका लागि सरकारले उच्चस्तरीय भूमिसुधार आयोग र संघीय सरकारमा उचित पहल गर्ने बताउँदै उनले इलाइची, चिया, कफिलगायत नगदीबालीका साथै खाद्यानबाली उत्पादन वृद्धिका लागि उचित पहल गरिने जानकारी दिए। ग्रामीण सडकलाई मूल सडकमा जोड्ने कार्यलाई पनि सरकारले प्राथमिकता दिइने मन्त्री कार्कीले बताए।

विशेष समय
नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले शान्तिसुरक्षाको खस्कँदो अवस्थाबारे प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै केही दिनअघि मोरङमा ८ वर्षीया बालिकाको हत्या भएकोप्रति चिन्ता व्यक्त गरे।

निर्वाचन आयोगका मुख्य आयुक्तको घर परिसरमा भएको बम विस्फोट सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण गराउँदै उनले वैशाख ११ गते नेपालको प्रजातान्त्रिक इतिहासको महत्वपूर्ण दिन भए पनि केन्द्रीय सरकारले बिदा कटौती गरेकाले अब प्रदेश सरकारलाई बिदाको व्यवस्था गर्न आग्रह गरे। प्रदेशसभाको अर्को बैठक बुधवार दिउँसो एक बजे बस्नेछ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ