arrow

राष्ट्रियसभामा आव २०७५-७६ पूर्व बजेट छलफल शुरु

logo
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
upper-house.JPG

काठमाडौं। राष्ट्रियसभामा आव २०७५-७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल शुरु भएको छ। अर्थमन्त्री डा युवाराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस् भनी बुधबारको बैठकमा प्रस्तुत गरेका छन्।

उक्त प्रस्तावमाथिको छलफलमा पहिलो वक्ताका रुपमा बलरामप्रसाद बास्कोटाले अर्थमन्त्रीले प्रस्तुत गरेको प्रस्तावमा समृद्ध नेपाल र सुखी नेपालको लक्ष्य प्राप्त गर्ने मार्गचित्र सकारात्मक रहेको बताए। सांसद राधेश्याम अघिकारीले अर्थमन्त्रीले प्रस्तुत गरेको स्वेतपत्रले आँकलन गरेजस्तो मुलुकको आर्थिक अवस्था नरहेको टिप्पणी गरे।

उनले भने, “शिक्षामा बजेट घटेको छ, उच्च शिक्षा र अनुसन्धानको विषयमा विनियोजन विधेयकले छोएको छैन, सामुदायिक विद्यालयको गुणस्तर कायम गर्ने विषय छोइएको छैन, सुनकोशी कमला डायभर्सनका लागि बजेट ल्याइनुपर्यो, मानव संशाधनबारे अर्थमन्त्रीको स्पष्ट धारणा आउन आवश्यक रहेको छ।”

सांसद जीवन बुढाले आर्थिक र समृद्धिका आधारले मूलभूत रुपमा बजेटका प्राथमिकताप्रति सहमत भए पनि दुर्गम र सुगमका लागि एउटै बास्केटमा हाल्ने प्रवृत्ति गलत छ भने। उनले भने, “पहाड र दुर्गम क्षेत्रका नागरिकले बजेट र प्राथमिकता हेर्न तराई र शहरमा आउनु पर्ने अवस्था अन्त्य हुनुपर्छ, दुर्गम क्षेत्रका लागि आँकलन गरेको बजेट निकै थोरै भएको हुनाले वृद्धि गर्न आवश्यक छ।

सांसद रामप्रित पासवानले समाजवादी अर्थतन्त्रको खोलभित्र पूँजीवादी अर्थतन्त्रको परिकल्पना गर्नु नै त्रुटि रहेको बताउँदै वर्गीय र जातीय विभेदको समस्या समाधान नगरिकन विकास सम्भव नभएकाले विभेद र कुरीति निरुत्साहित गर्ने बजेट ल्याउन सुझाव दिए।

उनले बाढीपीडितको समस्यालाई सम्बोधन गर्ने विषय बजेटमा समेटिन आवश्यक रहेको बताउँदै प्राविधिक तथा स्वरोजगार शिक्षाका लागि पर्याप्त बजेट विनियोजन गर्न सुझाव दिए। राष्ट्रियसभाको बैठक जारी रहेको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ