उदयपुर। उदयपुर जिल्लाका तीनओटै निर्बाचन क्षेत्रका क्षेत्रीय सभापति पदमा संस्थापन प्यानलका उमेद्वार बिजयी भएका छन् । नेपाली काँग्रेसको १३ औ महाधिवेशनको प्रतिनिधि छनौटका लागि शुक्रबार शान्तिपूर्ण रुपमा क्षेत्रीय अधिबेशन सम्पन्न भएको हो । पार्टीको आन्तरिक अधिवेशन भएपनि सर्वसहमतका आधारमा प्रतिनिधि चयन गर्ने प्रयास असफल भएपछि सवै क्षेत्रका सवै पदहरुमा निर्वाचन प्रक्रियाद्धारा प्रतिनिधि चयन गरिएको नेपाली काँग्रेस उदयपुरका सभापति हिमाल कार्कीले बताए ।
सभापति कार्कीका अनुसार क्षेत्र नं १ मा भोजराज खतिवडा क्षेत्रीय अध्यक्षमा निर्बाचित भएका छन् । तथा खुल्ला तर्फका छ जना महाधिवेशन प्रतिनिधिहरुमा क्रमश अशोक कार्की, हाइदीप राई, प्रदीप केशी, तेजराज तिम्सिना, शिवकुमार राई र हरी कार्की बिजयी भएका छन् । यसैगरी महिला तर्फ सीता राई र रेणुक खड्का,दलित कोटामा गडुलमान विक (निर्विरोध),जनजातीमा दलबहादुर तामाङ र मधेसीमा महेन्द्र रौनियार बिजयी भए ।
क्षेत्र नं २ मा बसन्तकुमार बस्नेत क्षेत्रीय अध्यक्ष तथा खुल्ला तर्फका छ जना महाधिवेशन प्रतिनिधिहरुमा क्रमश हिमाल कार्की, बिदुर वस्नेत, प्रमिला राई, तिलक कटवाल, अकुर खड्का र बिष्णुबहादुर राउत बिजयी भए । महिला तर्फ लीला राई र बिमला सुनुवार ,दलितमा लक्ष्मी परियार, जनजातीमा भिमबहादुर पुलामी र मधेसीमा देबेन्द्र झा बिजयी भएको नबनिर्बाचित क्षेत्रीय अध्यक्ष बस्नेतले जानकारी दिए ।
त्यसैगरी क्षेत्र नं ३ मा रामकुमार खत्री क्षेत्रीय अध्यक्ष तथा खुल्ला तर्फका छ जना महाधिवेशन प्रतिनिधिहरुमा क्रमश रामकुमार राई, नारायणवहादुर कार्की, अर्जुनकुमार खड्का, हरी खड्का, कृष्ण श्रेष्ठ र अम्बर राउत विजयी भएका छन् भने महिला तर्फ निर्मला कार्की र सीता यस्मालीमगर, दलित कोटामा जयबहादुर मोते ,जनजातीमा साङ्दोर्जी लामा र मधेसी तथा पिछडा वर्गमा धनवहादुर दनुवार बिजयी भए ।
विजयी हुने मध्ये तीनओटै क्षेत्रका क्षेत्रीय अध्यक्षसहित २५ जना महाधिबेशन प्रतिनिधि संस्थापन र र ११ जना वरिष्ठ नेता देउवा निकटका रहेको सचिव मदनराज कटवालले बताए ।संस्थापन प्यानलबाट निर्बाचित तीनओटै क्षेत्रीय अध्यक्ष पूर्व सभापति बिदुर बस्नेत निकट मानिन्छन् । हालसम्म कुनै पनि प्यानलमा स्पष्ट नखुलेका बर्तमान सभापति हिमाल कार्कीलाई बरिष्ठ नेता देउवा निकट पूर्व सभापति नारायणबहादुर कार्कीको समर्थन छ । बस्नेत र कार्की सोमबार हुने सभापतिको निर्बाचनका उमेद्वार हुन् ।