arrow

विद्यार्थी खुल्ला आकाशबाट भवनमा

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ जेठ ३ बिहिबार
rampur_palpa.png

पाल्पा। रामपुर नगरपालिका २ मा रहेको कालिका प्राथमिक विद्यालयले लामो समय देखि खुल्ला आकाशमुनी विद्यार्थीहरुलाई पठनपाठन गराउदै आएको थियो। राष्ट्रिय तथा स्थानीय संञ्चार माध्यमहरुबाट ‘विद्यालय सारेर खुल्ला आकाशमुनी पढाई’ भन्ने समाचार प्रकाशन भएपछि विद्यालयले विद्यार्थीहरुलाई सामुदायिक महिला भवनमा विद्यार्थी राखेर पठनपाठन सुरु गरेको छ। 

विद्यार्थीहरुलाई पानी र हावा हुरीका कारण पठनपाठनमा समस्या आए पछि खुल्ला आकाशमुनी विद्यार्थी राखेर नपढाउन सरोकारवाला निकायले दिएको सुझावलाई मनन् गर्दै विद्यालयले अहिले स्थानीय सामुदायिक महिला भवनमा विद्यार्थी राखेर कक्षा सञ्चालन गरेको हो।

खुल्ला आकाशमा बसेर पढ्न पर्दा सास्ती खेपेका विद्यार्थीहरु यतिबेला नयाँ भवनमा बसेर पढ्न पाउँदा हर्षित भएका छन्। विद्यालयले दुई वटा कोठामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई समूह समूह बनाएर  पढाउन थालिएको विद्यालयका प्रधानाध्यापक बाबुराम घिमिरेले बताए।

“विद्यालयको टहरा निर्माण कार्य भइरहेको छ, टहरा सम्पन्न नहुदा सम्म विद्यालय नजिकै रहेको स्थानीय सामुदायिक महिला भवनको दुई वटा कोठामा सबै कक्षा सञ्चालन गरेका छौ”—“टहरा निर्माण सम्पन्न नहुदा सम्म घामपानीबाट ओत लाग्नका लागि मिलाएर पढाइएको छ”उनले भने।

अहिले ४५ जना विद्यार्थी विद्यालयमा भर्ना भएका छन्। गतवर्षको विद्यार्थी भर्नादरको तुलनामा यसवर्ष ठूलो संख्यामा विद्यार्थी थपिएका छन्। गतवर्ष ८ जना विद्यार्थी मात्र रहेका थिए। कम विद्यार्थी रहेका कारण पुरानो ठाउँबाट नयाँ ठाउँमा विद्यालय सारेपछि भर्नादर बढ्दो छ। शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिको निर्णयमा बाक्लो वस्ती भएको ठाउँमा विद्यालय सारेपछि विद्यार्थी संख्या ह्वात्तै बढेको छ। विद्यालयले नगर शिक्षा समिति रामपुरसँग अनुमती नलिइकन पुरानो ठाउँबाट नयाँ ठाउँमा विद्यालय स्थानान्तरण गरेका कारण भवन अभावको समस्या खट्किएको हो।

खुल्ला आकाशमुनी राखेर पढाएको अनुगमनका क्रममा देखेपछि तुरुन्त भवनभित्र विद्यार्थी राखेर पढाउन निर्देशन दिइएको रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत रमाकान्त अर्यालले बताए। टहरा निर्माणको क्रममा रहेकाले अब छिट्टै नै निर्माण कार्य सकाएर टहराभित्र पठनपाठन गराउने विद्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ