arrow

निगमका ट्याङ्कर रक्सौलतर्फ, मोर्चा कार्यकर्ता धपाइए

वीरगन्ज नाकाबाट तीन बुलेट ग्यास भित्रियो

logo
प्रकाशित २०७२ माघ २३ शनिबार
तीन-बुलेट-ग्यास.jpg.jpeg
वीरगन्ज। वीरगन्ज–रक्सौल भन्सार नाका सञ्चालन भएपछि नेपाल आयल निगमले इन्धन भर्न केही ट्याङ्करलाई आज भारतीय आयल निगम रक्सौल डिपोमा पठाएको छ । 
 
सीमावर्ती रक्सौलस्थित भारतीय भन्सार र भारतीय आयल निगम रक्सौल डिपोका अधिकारीले इन्धन भर्न ट्याङ्कर पठाइदिन भनेपछि निगमले त्यसतर्फ ट्याङ्कर पठाएको निगमको वीरगन्ज कार्यालयले जनाएको छ । कार्यालयका अनुसार, आज बिहान करिब १२ वटा ट्याङ्कर इन्धन भर्नका लागि रक्सौल डिपोतर्फ पठाइएको हो । 
 
लामो समयदेखि अवरुद्ध रहेको वीरगन्ज–रक्सौल भन्सार नाका शुक्रवार दिउ“सोवाट खुलेपछि निगमले रक्सौल डिपोमा इन्धन भर्न ट्याङ्कर पठाएको हो । यस नाकावाट असोज ७ गतेयता कुनै पनि ट्याङ्कर रक्सौल डिपोमा इन्धन भर्न गएका थिएनन् । यसअघि पेट्रोलियम पदार्थ भरेर नेपाल ल्याउन लगिएका ट्याङ्करलाई आन्दोलनकारीले अवरोध गरेपछि रिरुट गरेर विराटनगर, भैरहवा लगायतका नाकाबाट नेपाल भित्र्याइएको थियो । यो नाका सञ्चालनमा नआएसम्म मुलुकमा इन्धनको आपूर्ति सहज हुन सकेको छैन । मुलुकमा खपत हुने कुल इन्धनको ७० प्रतिशत पेट्रोल, डिजेल यही नाका भएर भित्रिने गरेका छन् । 
 
त्यस्तै, खाना पकाउन प्रयोग हुने एलपी ग्यासको ८० प्रतिशत र हवाई इन्धनको ९० प्रतिशत यही नाकाबाट भित्रिने गरेको निगमको अमलेखगन्ज डिपोले जनाएको छ । स्थानीयवासी र सीमावर्ती भारतीय सहर रक्सौलका व्यापारीले शुक्रबार दिउँसोदेखि सञ्चालन गराएको वीरगन्ज–रक्सौल भन्सार नाका आज पनि निर्बाध रुपमा सञ्चालनमा रहेको छ । 
 
वीरगन्ज नाकाबाट आज तीन बुलेट खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाका केन्द्रित आन्दोलन थालेपछि रोकिएकामा आज पहिलोपटक वीरगन्ज नाकाबाट खाना पकाउने ग्यास बुलेट नेपाल भित्रिएको हो । विगत चार महिनादेखि रक्सौलको लक्ष्मीपुरमा थिन्किएर रहेको ग्यास बुलेट सर्वसाधारणले नाका खुलाएपछि वीरगन्ज भित्र्याइएको नेपाल आयल निगम वीरगन्ज वितरण केन्द्रले जनाएको छ । 
 
यसैबीच नाका अवरुद्ध गर्न वीरगन्जको मितेरीपुलमा पुगेका मोर्चाका नेता कार्यकर्तालाई भारतीय नागरिक तथा व्यापारीले कुटपिट गरी लखेटेका छन् । पहिले नेपालको अन्य सबै नाका बन्द गरेपछि मात्र वीरगन्ज नाका बन्द गर्न आउने भन्दै सर्वसाधारण तथा व्यापारीले मोर्चाका नेता कार्यकर्तालाई मितेरीपुलबाट थपाएका हुन् । 
 
नाका अवरुद्ध गर्न मितेरीपुलमा पुगेका मोर्चाका नेता कार्यकर्ता रक्सौलका नागरिकको विरोधपछि सीमा क्षेत्रबाट फिर्ता आएका छन् । सीमा क्षेत्रमा अवरोध हुन नदिन स्थानीय प्रशासनले उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । यसैबीच आज पनि भारतबाट नेपालका लागि सामान भरिएका मालबाहक वाहन वीरगन्ज नाकाबाट भित्रिने क्रम जारी रहेको वीरगन्ज भन्सारले जनाएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ