राजकुमार ह्यारी र मार्कलको बिवाह सम्पन्न

प्रकाशित मिति : २०७५ जेठ ५ शनिबार

विन्डसोर, बेलायत । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिएका छन् ।

राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करिब ६ सय विशिष्ठ पाहुना सहभागी भए भने वैवाहिक समारोह भएको दरबार बाहिर हजार्रौ दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुशी साटासाट गरेका थिए । उनिहरूको विवाहलाई विश्वभर टेलिभिजनमार्फत विशेष उत्लासकासाथ अवलोकन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विवाह समारोहमा तेत्तीस वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कलले एकआपसमा सँगै जिउने वाचा गर्दै औँठी साटासाट गरेपछि परम्परा अनुसार केनटनबरीका आर्कसिशप जस्टिन वेल्बीले उनिहरू श्रीमान् र श्रीमती भएको घोषणा गरेका थिए । यसलाई एउटा ऐतिहासिक घटनाको रूपमा लिइएको छ ।

मार्कल आफ्नी आमासहित रोल्सरोयस गाडीमा विवाहस्थल पुगेकि थिन् भने सेन्ट जोर्जेज च्यापलमा पुगेसँगै ह्यारीका पिता युवराज चाल्र्सले मार्कलको हातमा समाएर वैवाहिक समारोहमा लगेका थिए ।  यसैगरी ह्यारी विवाह समारोहस्थलमा आफ्ना दाजु विलीयमसँगै पुगेका थिए ।

विवाहको खुशीयालीमा देशभर चियापान कार्यक्रमको आयोजना गरिएको समाचारमा जनाइएको छ । उनिहरू सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।

राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिकरुपमा देखापरेका थिए ।  अमेरिकी टेलिभिजनको टेलिश्रृखंलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा पनि संलग्न  छन् । एएफपी

 

नयाँ