arrow

विश्व थाइराइड दिवस : पुरुषको तुलनामा महिलामा बढी

logo
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
thyroid-day.JPG

काठमाडौं । आज २५ मार्च , विश्व थाइराइड दिवस विभिन्न जनचेतनामुलक कार्यक्रम गरी नेपालमा पनि मनाईँदैछ । विश्वभर थाइराइड ग्रन्थी सम्बन्धी रोगका बिरामी बढ्न थालेपछि यसबारे जनचेतना जगाउने उद्देश्यले सन् २००८ देखि हरेक वर्ष मे २५ मा दिवस मनाउन थालिएको हो ।

विश्व स्वास्थ्य सङ्गठनको आयोजनामा विश्व थाइराइड दिवस मनाउने गरिन्छ । थाइराइड  एउटा ग्रन्थी जो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल पुतली आकारमा  रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्ने चिकित्सकको भनाइ छ ।

थाइराइड ग्रन्थीको काममा गडबडी भए अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन हुन्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिजम भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म भनिन्छ । हाइपो थाइरोडिजम भए धेरैजसो बिरामीले जीवनभरी नै औषधि खानुपर्छ ।

पुरुषको तुलनामा महिलामा धेरै किन ?
थाइराइड  पुरुषको तुलनामा महिलामा धेरै देखिएको छ ।  अटोइम्युन समस्या पुरुषमा भन्दा महिलामा बढी हुने भएकाले महिलामा तुलनात्मक रुपमा यो समस्या धेरै रहेको अध्ययनहरले देखाएका छन । साथै हर्मोन कमीको समस्या पुरुषभन्दा महिलामा नै बढी देखिन्छ।  बालबालिकामा वंशाणुगत कारणले लाग्ने हाइपो थाइरोडिज्मले उनीहरुको दिमागको बृद्धिविकास रोकिने र सुस्त मनस्थितिका हुने अध्ययनले देखाएको छ ।

गर्भावस्था वा त्यो भन्दा अघि थाइराइडको समस्या भए बच्चामा सर्ने जोखिम बढी हुन्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनु पर्छ । महिनावारी नियमित नहुने, मोटोपना, अल्छी हुने, मोटाउने, शरीर सुन्निने, दिक्क लाग्ने, अनावश्यक जाडो हुने, प्रजनन् क्षमतामा कमी हुने थाइराइडमा लक्षण हुन् ।

यस्तै कपाल झर्नु, एकदमै दुब्लाउनु, मुटुको धड्कन बढ्नु, शरीरको तापक्रम बढ्नु, भोक बढी लाग्नु तर दुब्लाउनु, दिसा बढी लाग्नु, मन आत्तिनु र मानसिक तनाव बढी हुनु पनि यसको लक्षण हो । युवामा थाइराइडको समस्या भए केही समयका लागि खुट्टा नचल्ने लक्षण देखिन सक्ने डाक्टर बताउछन् ।

मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ । कहिले काहिँ हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ । थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई पनि हुने समस्या भएपनि  हर्मोन बढीको समस्या २० देखि ४० वर्षको उमेरमा बढी देखिन्छ। यसैगरी, हर्मोनको कमी जुनसुकै उमेरमा देखिने भएपनि ३०–४० वर्ष कटेपछि बढी देखिन्छ। नेपालमा थाइराइडका बिरामी कति छन् भन्ने विषयमा यकिन तथ्यांक छैन। विश्व जनसंख्याको ४ प्रतिशतमा हर्मोनको कमी र १ प्रतिशतमा बढीको समस्या रहेको बिश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

जविनशैली र खानपान परिवर्तनबाट थाइराइडलाई व्यवस्थापन गर्न सकिने चिकित्सकहरुको सुझाव छ । विशेष गरी मिसावटयुक्त खाना र वंशाणुगत कारणले यो रोग लाग्ने गरेको चिकित्सकहरु बताउँछन् । हाइपोथाइरिजमको समयमै उपचार नभए मस्तिष्क, मुटुलाई असर गर्ने, बाँझोपन हुने बेहोस भएर ढल्ने खतरा हुन्छ भने हाइपोथाइरोडिजम (हर्मोन बढी हुने) भएमा मुटुको चाल गडबड भएर मानिसको मृत्यु पनि हुन सक्ने सम्भावना रहेको चिकित्सकहरुको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ