arrow

अन्तर्राष्ट्रिय प्रतियोगितामा नवयुगको दोहोरो ह्याट्रिक, भुटानविरुद्ध शानदार जित

‘यसपटक स्वर्णको कसरत’

logo
प्रकाशित २०७२ माघ २४ आइतबार
nabayug.jpg.jpeg
काठमाडौं । दक्षिण एसियाली खेलकुद सागको जारी १२औं संस्करणको पुरुष फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । जितसंगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ । बंगबन्धु गोल्डकपमा उत्कृष्ठ लय पक्डेका नवयुग श्रेष्ठको ह्याट्रिकले नेपाल समूह ‘बी’ को पहिलो खेलमा भुटानविरुद्ध ५–० को शानदार जित हासिल गर्न सफल भयो । 
 
आइतबार भारतको गुवाहाटीमा भएको खेलमा नेपालका लागि विशाल राई र अन्जन बिष्टले १–१ गोल गरे । पहिलो हाफमा २–० ले अघि रहेको नेपालले दोस्रो हाफमा थप ३ गोल गरेको हो । नेपाली फुटबलका आकर्षण नवयुगले खेलको ३३, ७५ र ८५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । यो संगै अन्तर्राष्ट्रिय फुटबलमा नबयुगले दोहोरो ह्याट्रिक गरेका छन् । यसअघि बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका उनले नेपाली फुटबल इतिहासमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा ह्याट्रिक गर्ने खेलाडीको सुचिमा नाम लेखाएका थिए । 
ह्याट्रिक
१। गणेश थापा : सन् १९८७, भुटानविरुद्धको खेलमा 
२। नरेश जोशी : सन् १९९९ श्रीलंकाविरुद्धको खेलमा 
३। निराजन रायमाझी : सन् २००१ मकाउविरुद्धको खेलमा 
४। भरत खवास : सन्  २०१३ नर्दन मरिना आइल्याण्डविरुद्धको खेलमा 
५। नवयुग श्रेष्ठ : सन् २०१६ मालदिभ्सविरुद्धको खेलमा 
५। नवयुग श्रेष्ठ  : सन् २०१६ भुटानविरुद्धको खेलमा 
बंगबन्धुगोल्डकपको उपाधि उचालेपछी उत्साही नेपालले दश खेलाडीमा सीमित  भुटानविरुद्ध सहज जित निकाल्यो । यो जितसंगै नेपालको यू–२३ टिम तीन अंकसहित समूहको शीर्ष स्थानमा छ । मंगलबार समूहको अर्को खेलमा बंगलादेशले भुटानसंग खेल्ने छ । जुन खेलको नतिजाले सेमिफाइनल समीकरण तयार पार्नेछ । समूह चरणको अन्तिम खेलमा बिहिबार नेपालले बंगलादेशसँग खेल्दा सम्भवतः समूह विजेताको टुंगो लाग्ने छ । अफगानिस्तानले नाम फिर्ता लिएपछि समूह ‘बी’ मा जम्मा तीन टोली मात्र परे । 
 
बंगबन्धुगोल्डकपमा सहभागि टोलीबाट एक खेलाडी मात्र परिवर्तन भएको नेपाली यू–२३ टोली जोजका साथ गुवाहाटी पुग्यो । दक्षिण एसियाली खेलकुदको फुटबलतर्फ हालसम्म नेपाल दुई स्वर्ण, दुई रजत र दुई कास्य जित्न सफल भएको छ । नेपालले अन्तिम पटक सन् २००६ मा कांस्य पदक जितेको थियो । 
 
नेपालले सन् १९८४ मा काठमाडौंमा भएको तत्कालिन साफ गेम्स र १९९३ मा बंगलादेशको ढाकामा भएको साग गेम्समा फुटबलतर्फ स्वर्ण जितेको थियो । नेपालले सन् १९८७ मा भारतको कोलकाता र १९९९ मा काठमाडौंमै भएको सागमा रजत पदक जितेको थियो । नेपालले १९८५ मा बंगलादेशको ढाका र सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको सागमा कास्य हात पारेको हो । दक्षिण एसियाली खेलकुदमा पुरुष फुटबल सन् २००३ देखि यू–२३ टिममा खुम्चियो । यसपटक, ६ मुलुक सहभागी पुरुष फुटबलमा नेपाल समुह ‘बी’ मा छ । समुह ‘बी’ मा नेपाल, भुटान र बंगलादेश छन् । यस्तै, समुह ‘ए’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् । समुहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्ने छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ