arrow

भारतसँग मिलेर चीन घेर्दै अमेरिका...

logo
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
indo-pacafic.jpg

काठमाडौं । अमेरिकाले भारतसँग मिलेर चीनलाई घेर्ने नयाँ योजना अघि सारेको छ । अमेरिकाले आफ्नो यसअघिको प्यासिफिक कमाण्डको नाम परिवर्तन गरी इन्डो–प्यासिफिक कमाण्ड राख्ने निर्णय गरेको हो ।
 
अमेरिकाले अहिले गरेको निर्णयसँगै अमेरिकाको सबैभन्दा ठुलो भौगोलिक सैन्य कार्यक्रम भारततर्फ खिचिएको हो । अमेरिकाको सुरक्षा सचिव जेम्स म्याटिसले भारतसँगको सम्बन्ध विस्तार गर्दै यो क्षेत्रको स्थायित्वको लागि अघि बढ्नका लागि यस किसिमको योजना ल्याइएको बताएका हुन् ।

पछिल्लो समय हिन्द महासागर र प्यासिफिक सागरको बीचमा बढ्दो सम्बन्धलाई मध्यनजर गर्दै अमेरिकाले आफ्नो सैन्य कार्यक्रमको नाम नै परिवर्तन गर्ने निर्णय गरेको हो । अमेरिकाले आफ्नो नाममा गरेको परिवर्तनसँगै आफ्नो दक्षिण कोरियाको राजदूत पनि परिवर्तनको निर्णय गरेको हो ।

अहिले गरिएको नाममा परिवर्तनको निर्णय निकै सांकेतिक रहेको बताइएको छ । यसअघि नै भारत यो कार्यक्रमको एक हिस्सा रहेको अवस्थामा अमेरिकाले यस्तो निर्णय गरेको हो । यो कार्यक्रमले चीन, मंगोलिया, दक्षिणवपूर्वी एसिया, अष्ट्रेलिया, अन्टार्टिका र समग्र प्यासिफिक सागरलाई समेट्छ । विशेषगरी चीनलाई घेर्ने योजनाअनुसार अमेरिकाको तर्फबाट यो योजना आएको विश्लेषकहरुले बताएका छन् ।

सन् २०१६ यता अमेरिका भारतसँगको सैन्य कारबाही बढाउँदै आइरहेको छ । दुई मुलुकको बीचमा भएको सम्झौतासँगै अमेरिका र भारतको बीचमा सैन्य सम्बन्ध बलियो रहेको पाइएको हो । चीनको सैन्य क्षमतामा व्यापक विस्तार भइरहेको भन्दै ओबामा सरकारको पालामा यस किसिमको कार्यक्रम अघि सारिएको थियो ।

भारत चीनलाई क्षेत्रीय हिसाबमा प्रतिस्पर्धी मुलुकको रुपमा हेर्दै आएको छ । उनीहरुको बीचमा सीमाक्षेत्रको विषयलाई लिएर पनि धेरै विवादहरु रहेका छन् । अमेरिका भारतलाई सैन्य हतियार तथा अन्य आवश्यक सामग्रीहरु बिक्री गर्दै रसियालाई यो मामिलामा पछि पार्ने योजनामा रहेको छ । अमेरिकाले पछिल्लो एक दशकमा भारतलाई १५ अर्ब डलरबराबरको सैन्य हतियार तथा सामग्रीहरु बिक्री गरिसकेको छ ।  

यद्यपि भारतमा सैन्य हतियार र सामग्रीहरु बिक्री गर्ने मुलुकको रुपमा रसिया सबैभन्दा अगाडि रहेको छ ।  यस्तोमा अमेरिका भारतमा आफ्नो प्रविधिका हतियारहरु बिक्री गर्दै यो क्षेत्रको प्रभाव थप विस्तार गर्ने अवसरको खोजीमा रहेको विश्लेषकहरुले बताएका छन् ।

यद्यपि अमेरिका र भारतको सम्बन्धको विषयमा अझै केही आशंकाहरु देखिएका छन्, अमेरिकाले रसियासँग हतियार तथा अन्य सामग्रीहरु खरिद गर्ने मुलुकमा प्रतिबन्धको निर्णय गरेको थियो । साथै उसले इरानमाथि पनि सोही किसिमको प्रतिबन्ध लागउने निर्णय गरेकोमा भारतले यसलाई अस्वीकार गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ