arrow

उपेन्द्र यादवसँग जनताले नै हिसाबकिताब माग्नेछन् (अन्तर्वार्ता)

'कुरा घामझै छर्लङ्ग छ'

logo
प्रकाशित २०७५ जेठ २० आइतबार
rajkisor.JPG

प्रदेश नम्बर २ मा संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) को सरकार छ । यी दुवै पार्टी केन्द्र र प्रदेशमा एउटै मुद्दा बोकेर चुनाव लडेका थिए । अहिले फाेरम संघीय सरकारमा गएको छ, भने राजपाले सरकारलाई विश्वासको मत मात्रै दिइरहेको छ, मन्त्रालय सम्हाल्न पुगेको छैन । यसै सन्दर्भमा राजपा अध्यक्ष मण्डलका एकजना सदस्य राजकिशोर यादवसँग हामीले कुरा गरेका छाैँ । 

० सँगै चुनाव लडेकाे पार्टी सरकारमा गयो, फाेरमकाे सत्ताराेणलाई राजपाले कसरी लिएको छ ?
– संघीय समाजवादी र राजपा बेग्लाबेग्लै पार्टी हो । हो, हामीले विगतमा सँगै मिलेर आन्दोलन गरेका हौं । सँगै मिलेर चुनाव लडेका हौं । यो संविधान अधुरो र अपुरो छ, यो संविधानमा व्यापक संशोधनको आवश्यकता छ, त्यसैले यो संविधानलाई संशोधन नगरी सबै जनताको स्वामित्व रहन सक्दैन । यो राजपा र संघीय समाजवादी पार्टीको साझा धारणा र निष्कर्ष थियो, त्यही लिएर हामी जनतामा गयौं । राजपाले हिजो जनताका माँझमा जे कबुलनामा गरेको थियो, त्यसमा हामी अडिग छौं । संघीय समाजवादी पार्टी सरकारमा गयो । सरकारमा किन, कसरी गयो, भोलि जनतालाई जवाफ संघीय समाजवादी पार्टीले दिन्छ । यो विषयमा राजपाले प्रतिक्रिया दिइराख्नुपर्ने म आवश्यकता देख्दिनँ ।

० तपाईंहरु सरकारमा नजाने ? अनि फाेरम सरकारमा जानुले अर्थ राख्दैन ?
– संविधान संशोधन, हिजो जनतामा गरिएको प्रतिबद्धता र हिजो आन्दोलनका बेला जनतासँग गरिएको कबुलनाममा अर्थ राख्छ । तर राष्ट्रिय जनता पार्टीका लागि कुनै अर्थ राख्दैन । जनतासँग गरिएको प्रतिबद्धता पालना भएन भने त्यसको हिसाबकिताब जनताले नै माग्नेछन् ।
अहिलेको राजनीति जसरी ध्रुविकरण हुँदैछ, हामी पनि एक ठाउँमा बसेर अघि बढेको भए हाम्रो मुद्दालाई अझ बल मिल्थ्यो भन्ने हाम्रो बुझाइ हो । तर हाम्रो इच्छामा मात्र भर परेर हुँदैन । कम्युनिष्टहरु मिले, हामी पनि मिलेर लोकतन्त्रलाई बलियो पार्नुपर्छ भन्ने थियो, हाम्रो चाहनाले मात्र नहुनेभयो । संघीय समाजवादी सरकारमा गयो, हाम्रो शुभकामना छ ।

० फाेरम सरकारमा जाँदैमा एजेन्डा छोड्यो भन्न मिल्छ ?
– घामझै छर्लङ्ग छ । चुनावपछिको अभिव्यक्तिलाई हेर्ने हो भने संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवको अभिव्यक्तिले स्पष्ट पारेको छ ।

० अनि, सरकारमा गएर संविधान संशोधन गर्न सकिँदैन ?
– यो प्रश्न सरकारमा जाने संघीय समाजवादी पार्टीका नेतालाई सोध्दा सान्दर्भिक होला ।संविधान संशोधन गर्नकै लागि उहाँहरु सरकारमा जानुभएको हो जस्तो मलाई लाग्छ । संघीय समाजवादी सरकारमा जाँदा सम्झौता गरिराख्नुपर्दैन थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ