arrow

काँग्रेस कञ्चनपुरको जिल्ला सभापतिका लागि चार जना आकांक्षी, निर्वाचन भोली

logo
ईश्वर दत्त बडू।
प्रकाशित २०७२ माघ २५ सोमबार
kanchanpur-congress-disctrict.jpg.jpeg
 
महेन्द्रनगर।नेपाली काँग्रेसको १३ औं महाधिवेशन अन्तर्गत सोमबार बिहान ११ बजेदेखि नेपाली काँग्रेस कञ्चनपुरको जिल्ला अधिवेशन अन्तर्गत बन्दसत्र सुरु हुदैछ । सोमबार बिहान अधिवेशन उद्घाटन भएपछि बन्दसत्र सुरु हुने जिल्ला अधिवेशनका निर्वाचन अधिकृत प्रयागदत्त भट्टले बताए।
 
उनका अनुसार बन्दसत्रमा जिल्ला अध्यक्ष, सचिव र कोषाध्यक्षले प्रतिवेदन प्रस्तुत गर्नेछन् । बन्द सत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथि सदस्यले छलफल गर्नेछन् । ‘बन्दसत्रमा पार्टीका गतिविधिबारे छलफल हुनेछ,’ निर्वाचन अधिकृत भट्टले भने ।सोमबार बन्द सत्र सकिएपछि निर्वाचन कार्यक्रम सुरु गरिने छ। उम्मेदवारी दर्ता, दावी विरोध, उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोमबारै गरिने निर्वाचन अधिकृत प्रयागदत्त भट्टले बताए । उनका अनुसार मंगलबार बिहान ८ बजेदेखि मतदान गरिने छ। 
 
कञ्चनपुरको जिल्ला अधिवेशनमा ४ जनाले जिल्ला सभापतिको पदका लागि आकांक्षा व्यक्त गरेका छन् ।नेपाली काँग्रेस कञ्चनपुरको जिल्ला सभापति हुन हरिप्रसाद बोहरा, गोपाल गुरुङ, भोजराज बोहरा र पदम बोगटीले तयारी गरिरहेका छन्। हरिप्रसाद बोहरा र पदम बोगटी काँग्रेसभित्र देउवा समूह निकट मानिन्छन् भने गोपाल गुरुङ र भोजराज बोहरा संस्थापन समूह निकट मानिन्छन् । काँग्रेसका दुबै समूहभित्र सहमति हुन नसक्दा समूहको साझा उम्मेदवार समेत चयन हुन सकेको छैन । गुटभित्र पनि उपगुट बनेकाले छुट्टाछुट्टै उपगुटका छुट्टाछुट्टा उम्मेदवार प्रतिस्पर्धा गर्ने देखिएका छन् । त्यसै गरी संथापन पक्षका केही नेताले समेत हरि बोहरा लाई सहयोग गर्ने तयारी भइरहेको नाम नबताउने सर्तमा एक नेताले खुलासा गरेका छन् । यसो भएमा पहिलो चरणको निर्वाचनमै हरि बोहराले ५० प्रतिशतभन्दा बढी मत ल्याई सभापति हुने संभावना समेत रहेको छ ।
 
कञ्चनपुरका ४ निर्वाचन क्षेत्रबाट ५ सय ६४ मतदाताले मतदानमा सहभागी हुन पाउने छन् । नगर वडा, गाउँ र नगर अधिवेशनबाट निर्वाचित भएका क्षेत्रीय अधिवेशन सदस्यले नै जिल्ला अधिवेशनमा सहभागी हुन पाउने व्यवस्था रहेको छ । कञ्चनपुरको ४ नम्बर निर्वाचन क्षेत्रमा १ सय १८ जना मतदाता रहेका छन् । भीमदत्त नगरपालिकाका ६८ र दोधाराचाँदनी नगरपालिकाका ५० मतदाता रहेका छन् । ३ नम्बर निर्वाचन क्षेत्रमा बेदकोट नगरपालिकाका ६५, भीमदत्त नगरपालिकाका ३५  र झलारीपिपलाडी नगरपालिकाका २६ मतदाता गरी १ सय २६ मतदाता रहेका छन् । १ नम्बर निर्वाचन क्षेत्रमा बेलौरीका ६९, बेल्डाँडीका ५४ र पुनर्वासका ४६ मतदाता गरी १ सय ६९ मतदाता रहेका छन् । २ नम्बर निर्वाचन क्षेत्रमा १ सय ५१ मतदाता रहेका छन् । झलारीपिपलाडीका ३४, कृष्णपुरका ४६, पुनर्वासका २५, देखतभूलिका १०, शंकरपुरका १०, रैकवारविचवाका ११ र वाइसेविचवाका १२ जना मतदाता रहेका छन् ।
 
जिल्ला सभापतिले निर्वाचित सदस्यहरु मध्येबाट कायसमितिका लागि १ उपसभापति, १ सचिव र १ सहसचिवको नाम प्रस्ताव गरी निर्वाचित जिल्ला कार्यसमितिले चयन गर्ने विधानमा लेखिएको छ । ‘चार निर्वाचन क्षेत्र भएका जिल्लामा प्रत्येक क्षेत्रीय अधिवेशनका सदस्यहरुले आफूहरुमध्येबाट कम्तिमा १ महिलासहित ६ जना निर्वाचन हुने गरी जिल्ला कार्यसमितिका सदस्यका लागि ४ क्षेत्रबाट २४ जना सदस्य निर्वाचित गर्नेछन्,’ विधानमा लेखिएको छ, ‘जिल्ला अधिवेशनका सदस्यहरुमध्येबाट प्रत्येक क्षेत्रबाट बढीमा २ जना पर्ने गरी जिल्ला सभापतिले जिल्ला कार्यसमितिका लागि बढीमा ८ जना सदस्य मनोनित गर्नेछ । यसरी मनोनित गर्दा कम्तिमा १ दलित, १ आदिवासी जनजाति, १ मधेशी वा मुस्लिम वा अल्पसंख्यक वा पिछडिएको वर्गबाट मनोनित गर्नुपर्ने छ ।’
 
‘जिल्लाभित्रको प्रत्येक क्षेत्रीय अधिवेशनका लागि निर्वाचित क्षेत्रीय प्रतिनिधिहरु तथा गाउँ, नगर, नगर वडाका कार्यसमितिका सभापतिहरु, जिल्लाका सांसद एवम् संविधानसभा, प्रतिनिधिसभाको पछिल्लो प्रत्यक्ष निर्वाचनमा पार्टीको उम्मेदवार भएको व्यक्ति, सो जिल्लामा रहेका संविधानसभाको निर्वाचनमा पार्टीको तर्फबाट समानुपातिकमा उम्मेदवार भएका व्यक्ति तथा सो जिल्लामा रहेका पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु जिल्ला अधिवेशनको सदस्य हुने गरी जिल्ला अधिवेशनको गठन हुनेछ,’ नेपाली काँग्रेसको विधानमा लेखिएको छ । 
 
सोमबारदेखि सुरु हुने जिल्ला अधिवेशनले जिल्ला कार्यसमितिको निर्वाचित गर्नेछ । ‘जिल्ला अधिवेशनले कम्तिमा १० वर्ष निरन्तर क्रियाशील सदस्य भएका महाधिवेशन प्रतिनिधिहरुमध्येबाट जिल्ला कार्यसमितिका लागि १ जना सभापतिको निर्वाचन गर्नेछ । निर्वाचनमा विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनु अनिवार्य हुनेछ । पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने २ जना उम्मेदवारका बिचमा पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछ । तर, पहिलो पटक नै २ जना मात्र उम्मेदवार भएमा, बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछ,’ विधानमा लेखिएको छ, ‘जिल्ला अधिवेशनले कम्तिमा ५ वर्ष निरन्तर क्रियाशील सदस्य भएका जिल्ला अधिवेशनका सदस्यहरुमध्येबाट जिल्ला कार्यसमितिका लागि १ सचिव, १ कोषाध्यक्षको निर्वाचन गर्नेछ । सचिव र कोषाध्यक्ष पदको निर्वाचनमा जतिसुकै उम्मेदवार भएपनि बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ