arrow

प्रदीप गिरीले ‘लाल सलाम’ ठोक्ने के छलाङ मारेछन् अर्थमन्त्रीले (पूर्ण पाठसहित)

‘ट्रयापमा परे भन्नु भो अर्थमन्त्रीले एक पटक प्रत्यक्ष चुनाव लड्नै पर्छ’

logo
प्रकाशित २०७५ जेठ २० आइतबार
pradeep_giri.JPG

काठमाडाैँ । कांग्रेस नेता प्रदीप गिरीले वर्तमान सरकारले ल्याएको बजेटले उल्टो छलाङ मारेको बताएका छन् । आइतबार संसदमा बजेटबारे आफ्नो धारणा राख्दै उनले यस्तो बताएका छन् । सम्बोधनका क्रममा उनले आफुले बजेट सबै पढेको तर, छलाङ मार्ने नयाँ कुरा कहीँ नभेटाएको बताए । उनले बजेटले उल्टो छलाङ भने मारेको बताए । 

सांसद गिरीले आत्मनिर्भर अर्थतन्त्र मुलुकलाई चाहिएको भन्दै वर्तमान सरकारले प्रस्तुत गरेका केही कार्यक्रम सकारात्मक भए पनि कार्यान्वयन पक्ष कस्तो हुन्छ भन्ने विषयबाट त्यसको प्रभावकारिताको मापन हुने पनि बताएका छन् । 

गिरीले संसदमा दिएको वक्तव्य  

सभामुख महोदय, धन्यवाद । सरकारका अर्थमन्त्रीद्वारा हरेक वर्ष प्रस्तत हुने बजेट यो पटक पनि प्रस्तुत भएको छ । हामी यस्ता धेरै सांसदहरु छौँ । जसले धेरै राजनीतिक उचारचढावहरु देख्यौँ । र, धेरै वर्षदेखि, यस बजेटका पक्ष र विपक्षमा यस्तै दस्ताबेजका उपर बोलिरहेका छौँ । सम्झिनुपर्ने के छ भने, एउटा बजेटको पुस्तिका आफैमा राजनीतिक अथवा आर्थिक दर्शनको सम्पूर्ण अभिव्यक्ति होइन । बजेटभन्दा धेरै माथि राज्यको जीवन दर्शन हुन्छ । राजनीतिक चिन्तन हुन्छ । र, मुलुकको परिस्थिति हुन्छ । मुलुकको ठोस बस्तुस्थिति कुनै अर्थमन्त्रीले चाहँदैमा वा कुनै प्रधानमन्त्रीले चाहँदैमा रातारात फेरिने कुरा पनि होइन । त्यसो भएको हुनाले हामीले बजेटलाई मुलुकमा बर्तमान प्रधानमन्त्रीले पाएका तथ्यहरु, संसाधनहरु, मुलुकमा भएको राजनीतिक परिवर्तन र परिवर्तित पृष्ठभूमिको सन्दर्भ हेर्नु पर्नेछ । यो बजेटमा हेर्दा मैले यसमा के खोजे होला त ? वर्षौदेखि लगातार बोलिरहेको मान्छे । लगभग उही कुरा बोलिरहेको मान्छे । के खोजे हुँला त ।

पुरानो नेकपा माओवादीका सर्वमान्य नेता अध्यक्ष प्रचण्डले क्रान्तिकालमा बारम्बार निरन्तरता र छलाङ् भन्ने शब्द प्रयोग गर्नु हुन्थ्यो । त्यो शब्द उहाँले नाटकीय ढंगबाट भन्नु भो । होइन भने राजनीतिक विज्ञानमा यो शब्द बराबर प्रयोग भइराख्छ । चाहे फ्रान्सेली राजनीतिक क्रान्तिमा, चाहे रुसी राजनीतिक क्रान्तिमा । जहिले पनि के भनिन्छ भने, क्रान्तिमा नयाँ कुरा के–के ल्याएको रहेछ ? हेरौँन । र, क्रान्तिमा पुराना कुरा के–के रहेछन् । समाजशास्त्रीले के भनेका छन् भने, क्रान्तिको चार पाँच वर्ष उथलपुथल हुन्छ । आवाजहरु कतिपय काटिन्छन् पनि । तर, १५–२० वर्षपछि हेर्दा त ति सबै निजामति सेवाका कर्मचारीहरु, ति सबै सेनापतिहरु, सबै हाकिमहरु, ति सबै पुलिसका प्रमुख करिब करिब उहीँ आईसकेका हुन्छन् । रुसी क्रान्तिले, फ्रान्सेली क्रान्तिले, चिनिया क्रान्तिले र ७ सालको क्रान्ति समेतले यो कुरा देखाएको छ । त्यसैले बजेटमा निरन्तरता छ, थुप्रै निरन्तरता छन् । छलाङ के छ, भनेर सर्वप्रथम मैले हेरे । नयाँ कम्युनिष्ट पार्टी बनेको छ । छलाङको थोरभौत संकेत त अवश्य होला भनेर नियालेर हेरे । 

म बधाई दिन चाहन्छु बजेटका लेखकलाई । छलाङ छ । निरन्तरताका लागि मेरो पुर्ववक्ता मित्रले उहाँलाई बधाई दिइसक्नु भएको छ । अर्थशास्त्रले पनि बधाई दिईसकेको छ । ओ हो यो बजेटलाई त अनुशासित बनाईयो । झण्डै झण्डै रामशरण महतको जस्तै बनाईयो भनिसक्या छ । त्यसका लागि मैले भन्नु परेन । यतिकै रामशरण महतको बजेटलाई पनि मैले धेरै कडा भाषामा आलोचना यो मञ्चबाट गरिसकेको छुँ । (अर्थमन्त्री निकै गम्भीरतापूर्वक सुनिरहे....) छलाङ यसमा दुईटा कुरा छ । एक त छलाङ अहिलेका शक्तिशाली प्रधानमन्त्रीले यसअघि देखाईसक्नु भएको छ । लगभग सबै विकेन्द्रीत, अझ बढी विकेन्द्रीकरण गर्नु पर्ने संस्थाहरुलाई आफ्ना मातहतमा केन्द्रीत गरेर छलाङ देखाईसक्नु भएको थियो ।  थप छलाङ यहाँ कहाँ छ भने, जहाँ कतिपय आत्मनिर्भर हुनुपर्ने शीर्षक दिएर त्यस्ता उद्योगहरुलाई नियन्त्रण गर्छु भन्नु भएको छ । विश्व बैँक र आइएमएफको इसारामा चल्नुपर्ने मुलुकले साच्चैनै त्यस किसिमको नियन्त्रणमुखि अर्थतन्त्र ल्यायो भने, म उहाँलाई अहिले नै लाल सलाम ठोक्छु । म यसका लागि उहाँलाई पूर्व शुभकामना दिन चाहन्छु ।

अर्को छलाङ छ यहाँ, प्वाइन्ट नम्बर १९७ मा एक सय सन्तानब्बेमा । प्रधानमन्त्रीले लेख्नु भो, वा अर्थमन्त्रीले लेख्नु भयो अथवा सधैँ लेखिरहने कारिन्दाले लेखे । थोरभौत आर्थिक अपचलन अथवा अनियमित काम भएको खण्डमा नागरिक सुविधा यावत खोसिने छ, भन्नु भएको छ । एक त नागरिता नै नेपाली राजनीतिको ठूलो विशेषता हो । नागरिकता नभई एडमिसन हुँदैन, जगा नामसारी गर्न पाइँदैन, जागिर पाइँदैन, विदेश जान पाइँदैन । सबै कुरो नागरिक सुविधामा अडिएको देशमा कतिपय आर्थिक अपचलनका लागि नागरिक सुविधा समेत खोसिनेछ भन्नु, यो ठूलो जनवादी छलाङ हो । जनवादी छलाङका बारेमा तत्कालीन नेकपा एमालेको प्रस्तुत, चर्चित दस्तावेज बहुदलीय जनवाद एमालेका यस समयका पाका कामरेडहरुले राम्ररी पढ्नु भएको होला । २१ औँ सताब्दीको जनवाद पढ्नु परेन । बडो स्पष्ट र ढुक्क पालेर प्रातस्मरणीय कमरेड मदन भण्डारीले लेख्नु भएको थियो । बहुदलीय जनवाद बहुदलीय व्यवस्था हो । यसले तोकतान्त्रिक प्रस्तिस्पर्धामा विश्वास राख्छ ।

तर, जनताकाविरुद्ध कुनै समय गयो भने, त्यस्ता जाने सानातिना मुठीको नागरिक अधिकार अपहरण गरिन्छ । त्यसको प्रतिध्वनी यो बजेटमा पाए । र, मलाई साँच्चै कम्युनिष्ट पार्टीको प्रतिवद्धताकाप्रति गर्व आएको छ । सारा दुनियाँमा कम्युनिष्ट पार्टीहरु सिद्धिदै छन् । नेपालमा पहिलो पटक साँचो कम्युनिष्ट पार्टी स्थापना भएछ भनेर यो बजेटका लेखकलाई म बधाई दिन चाहन्छु । बाकिँ मित्रहरुले ईस्र्या नगर्नु होला । काँग्रेसीले त यसमा ताली नबजाउनु होला । तपाईलाई थाहा छ, म यो मञ्चबाट आर्थिक विषयमा बोलेको छु । म विकासको वर्तमान अवधारणालाई मन्दिन । (एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि गिरीलाई नियालीरहे...) गिरी अगाडि बढे । यो विनास हो । सबैले शंका गरेका छन्, अविश्वास गरेका छन् । के को रेल ल्याउँछ यो केपी ओलीले ? उहाँहरुलाई रेल ल्याईदिन्छ कि भन्ने चिन्ता छ । मलाई चैँ झन ठूलो चिन्ता छ । रेल आयो भने के हुन्छ ? कहाँबाट रेल आउने ? ग्रान्टबाट रेल ल्याउनु हुन्छ ? त्यतिबेला थेग्न सक्नु हुन्न । गोङबाट ल्याउनु हुन्छ । श्रीलंकासहित आठ देशको चाइना डे ट्रयाप । डे ट्रयाप अरुले नपढे पनि, प्रधानमन्त्री, गृहमन्त्रीले नपढेको भएपनि प्रोफेशनल अर्थशास्त्रीले त पढ्नु भएको होला ।

धन्न डे ट्रयापको पुरा कुरा गरिएको छैन । डे ट्रयापको कुरा गर्दा, श्रीलंकाको दुदर्शाको कुरा गर्दा मैले छर्लङ्ग बुझेको छुँ । अर्थमन्त्रीले किन भन्नु भो, ट्रयापमा परे । बोल्दा हाड नभएको जिब्रो लरबरियो होला । उहाँको कुरा मान्छेले के बुझे । सांसदहरुको ट्रयापमा प¥यो भन्ने । सांसदहरुको ट्रयापमा के पर्नु पर्दथ्यो । सांसदहरुको भन्दा बढ्ता अपमान आजको दिनमा यो मुलुकमा अरु कसैको छ । ट्रयापमा उहाँ किन पर्नु भो भने, आफुले एमएमा पढेको शिक्षा, पीएचडी गरेको शिक्षा, विश्व बैंकसँग भएको संगत एकातिर छ । नेताहरुको दबाब अर्कोतिर छ । त्यसैले उहाँ अन्तरआत्माको र महावली नेताको ट्रयापमा परेको हो । भन्न नजानेको हो, सांसदको ट्रयापमा होइन । नेताहरु भन्छन्, सुपरसोनिक जेट ल्या । तारा मात्र होइन जुनपनि खसाईदिम्ला, विजुलीले रेल चलाईदिम्ला, नेताहरु भन्छन्, चन्द्रमा पुर्‍याई दिम्ला । जन्ता वाह वाह वाह.. गरेर तालि बजाउँछन् । त्यही त खोजेको हुँ, त्यही त खाजेको हुँ, भन्छन् । अर्थमन्त्रीले हिसाबकिताब गर्ने हुनाले थाहा छ । नेपालको आजको आवश्यकता पनि होइन । धान्न पनि सक्तैन । नेता त्यो होइन । जो उपभोक्ताका पछि लाग्छ । नेता त्यो होइन, जो तपडी, थप्पडी खानका लागि बहुमतकापछि लाग्छ ।

बहुमतमात्रै कुनै पनि मुलुकको प्रगति र उन्नतिको एक मात्र कसौडी होइन । बहुमतमा मात्र अल्मिलिएका मित्रहरुले छरछिमेकका धेरै बहुमत देखेको हुनुपर्छ । विश्वभरका बहुमत देखेको हुनुपर्छ । यस मुलुकलाई आज गणतन्त्रमुताविकको आत्मनिर्भर अर्थतन्त्र चाहिएको थियो । चाहिएको छ । तीन वटा आधारभूत कुरा कसरी हामी यो मुलुकम बढीभन्दा बढी रोजगार सिर्जना गर्छौँ । कसरी विदेशीयका हाम्रा दाजुभाई, लगत नभएका दिदिवहिनी भित्रिन्छन्, त्यो हाम्रो चिन्ता थियो । त्यसको एउटै ठाउँ छ समाधान । कृषि । अर्को छैन । म अर्थमन्त्रीलाई यस कुराका लागि बधाई र धन्यवाद दिन चाहन्छु । उहाँले कमसे कम बजेटको क्रम मिलाउँदा खेरी सुरु रोजगारबाट गर्नु भएको छ ।

तर, रोजगारलाई उहाँले झण्डै–झण्डै मुखमा राखेतापनि रोजगार सिर्जनाका बाटो के छन् त ? रोजगारको बाटो सिर्जनाकाबारेमा जुन अध्ययन, गम्भीरता र बाटो देखाउनु पर्दथ्यो उहाँले पटक्कै पनि संकेत गर्न सक्नु भएन । त्याहाँ छलाङले जितेको छैन । त्उहाँ छलाङ हारेको छ । त्यहाँ क्रमिकताले जितेको छ । (अर्थमन्त्री गिरीलाई नियालीरहे) ‘त्यहाँ क्रम भङ्गता छैन । निरन्तरता छ । निरन्तरता के छ, भने यस्ता आश्वासन, यस्ता प्रस्तुति, यस्ता प्रस्ताव, विगत २० वर्ष होइन २५ वर्षले दिँदै छ । त्यो अर्थमन्त्रालय अर्थात् योजना आयोगका कर्मचारीले लेख्छन् । त्यसमा दस्तखत गर्नेकाम मात्रै मन्त्रीको रहन्छ । त्यही भएको छ । के गर्न सकिन्छ ? के गर्न सकिन्थ्यो ? तर, यहाँ उदार बन्न चाहन्छु । हामीले यो देशलाई मिलेर काम गर्नु परेको छ । प्रतिपक्ष र सत्तापक्ष दुवै जानु परेको छ । म बेनिफित र डाउट दिन चाहन्छु । अर्थमन्त्री भरखरै आउनु भएको छ । विगतका अनुभव जे भए पनि जनराजनीतिको अनुभव उहाँलाई छैन । अब प्रधानमन्त्री अथवा नेताहरुमा उत्साह ज्यादा छ । यो समस्या धेरै ठूलो, धेरै ठूलो, धेरै ठूलो छ ।

नेपाल जस्तो गरिब मुलुक, भूमण्डिलीकरणले घेरेको मुलुक, भारत र चीन जस्तो विशालकाय अर्थतन्त्रले घेरिएको मुलुकले साँचो अर्थमा आत्मनिर्भर रोगारमुखि अर्थतन्त्र बनाउने हो । एकातिर ट्रयाप, आफ्नो आर्थिक अनुशासन र आर्थिक अध्ययन । अर्कोतिर नेताहरुको पपुलिष्ट मागको ट्रयाप र अर्कोतिर सांसदको ट्रयाप । सांसदपनि कस्ता भोका–नाङ्गा भने । भुइचालोको पाँचसय रुपैयाँ पनि लिएर जाने । कुनै सुविधापनि नछोड्ने । एक दुई जना होलान् सुविधा नलिने । सारा सुविधा चाहिने । तिलाई तपाईले ठी जवाफ दिनु भयो अर्थमन्त्री ज्यू । सांसदले यही जवाफ खोजेका थिए । र, एक पटक विनम्रतापूर्वक भन्न चाहन्छु । अर्थमन्त्रीले एकपटक प्रत्यक्ष चुनाव लड्नै पर्छ । अनि सांसदको कुरा बुझ्नुहुनछ । यति भन्दा (ताली बज्यो, हाँसोको फोहरा छुट्यो) । एक जना विशाल, मैले साह्रै गुरु मानेको अर्थशास्त्री हुनुहुन्थ्यो, डा. देवेन्द्रराज पाण्डे । त्यो भन्दा पनि ठूला ऋिषिकेश शाह । उहाँहरुले पनि चुनाव लड्नु भएको थियो । सभामुखलाई याद छ ।

(अर्थमन्त्रीले हाँसो थेग्न सकेनन् । खुलेरै हाँसे) ।  गरीले अगाडि भने- यस्ता कुरा गर्नुस् । निमुखा सांसदबीच ट्रयापको कुरा गर्नुअघि तिनको मर्म पनि बुझ्नुस् । म अर्थमन्त्रीलाई एक पटक थप बधाई दिन चाहन्छु । यदि साँच्चै नै उहाँले आफ्नो व्यक्तित्व पर्दर्शन गर्नु भएको छ भने, साँच्चै नै बलिया, बाङ्गा नेताबाहेक कसैलाई टेरपुच्छर लाउनु भएको छैन । जे उहाँको विवेकले देख्यो त्यही गर्नु भो । अब त्यो विवेकको परीक्षा कहिले हुन्छ भन्ने कुरा, मेरा युवामित्र गगन थापाले भनेर गईसक्नु भएको छ । त म गगन थापाजति आशावादी छैन । त्यो विवेशको इम्पेहान र विवेकको परीक्षाका लागि एक वर्ष पर्खिनु पर्ने छैन । यहाँ सबैभन्दा ठूलो कुरा के छ भने, अर्थमन्त्रीले जनप्रतिनिधि सांसदलाई हेपे जस्तै, आम जनतालाई हेप्या छ । बजेटका आजको अवधारणा सांख्याकी र यान्त्रिकीका आधारमा चल्दैन । ह्युम्यान डेभलपमेन्ट कन्सेप्ट हो । त्यहाँ आर्थिक विकासको केन्द्रमा मनुष्य रहनु पर्दछ ।

बजेटको आलोचना यसअर्थमा भएको छ । सांसदलाई तपाईले ४ करोड दिनु भो, तर गाउँपालिकाका मान्छेलाई सामेल गर्नु भो भनेर । त्यो सामेल गरेर ठिक काम गरेको छ बजेटले । यिनीहरुले मिलेरै काम गर्नु पर्ने हो । अध्यक्ष, सदस्य र एमएलएले । तर, त्यो भन्दा पनि तल लैजानु पर्दछ । विकास एउटा राजनीतिक प्रक्रिया हो । आर्थिक सांख्यकीको खेल होइन । विकास मुनुष्यलाई माथि उठाउने कुरा हो । मैले भनेको होईन, तपाईहरुलाई थाहा छँदै छ । एसियाका एकमात्र उल्लेखनीय अर्थशास्त्री अमर सेनले भन्नु भएको हो । ह्युम्यान डेभलपमेन्टको योगदान थाहा छ । बारम्बार भन्नु हुन्थ्यो वीपी कोइराला विकास राजनीतिक काम हो । अब कम्युनिष्ट पार्टीले वीपी कोइरालाको कुरा सुन्ने कुरा छैन । यत्ति भन्दाभन्दै उनको माइक्रोफोनको आवाज काटियो । त्यसपछि उनले १८ सेकेन्ड माईक्रोफोनको आवाजविनै बोले ।                 
    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ