arrow

पर्वत समाजको लन्डनमा च्यारिटी, ६५ लाख रुपैयाँ संकलन 

logo
प्रकाशित २०७५ जेठ २३ बुधबार
london-parbat-nrna.jpg

लण्डन । एक महिनासम्मको तयारी र दौडधुप । पर्वतका साँसदहरुको जमघट । जनप्रतिनिधी पनि एउटै मञ्चमा । पर्वत र लण्डनमा रहेका नेपाली कलाकारहरुको साँगितिक प्रस्तुती । अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत समाज यूकेको व्यवस्थापन तथा सबै देशमा रहेका पर्वत समाजको समन्वयमा लण्डनमा भव्य रुपमा च्यारिटी कार्यक्रम सम्पन्न भएको छ ।

समृद्ध पर्वत निर्माण गर्ने अभियान अन्तर्गत कार्यक्रम गरिएको हो । एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएकोमा च्यारिटी कार्यक्रमबाट लगभग ६५ लाख संकलन भएको छ । अन्य रकम पनि संकलनको  क्रममै रहेको  र च्यारिटी कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न गरिएको आयोजकले जनाएको छ । 

 पर्वतका साँसद पदम गिरी, साँसद लालकाजी गुरुङ, प्रदेश ४ का साँसद ललितकला गुरुङ, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण‘ सहित प्रबासमा रहेका पर्वतेली दाजुभाई दिदिबहिनीहरु एकै थलोमा भेला भएर भव्य रुपमा च्यारिटी कार्यक्रम भएको युके स्थित एनआरएनए युके लगायत विभिन्न संघसंस्थाका अध्यक्ष एवं पदाधिकारीहरुको उपस्थित रहेको थियो । 
पर्वत जिल्लाका संघिय साँसद द्दय लालकाजी  गुरुङ र पदम गिरिको सयुक्त प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा अध्यक्ष  पुरन गिरिको सभापतित्व र महासचिव गुणराज शर्माले  संचालन गरेका थिए । कार्यक्रम संयोजक हितकाजी गुरुङले  स्वागत मन्तब्य र संरक्षक अर्जुन कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । 

प्रमुख अतिथि एवम साँसद लालकाजी गुरुङले अव राजनीतिक दाउपेच भन्दा पनि बिकासमा सबैजनाको एकमत हुनुपर्ने बताए ।

पर्वतको बिकासका लागि बिदेशमा रहेका नेपालीहरुको चासो दिएर लण्डनमा बोलाएकोमा उनले खुशी व्यक्त गरे । उनले जिल्लाको बिकास भएमात्रै जिल्लाबासीहरुको अवस्था पनि सुधार हुने भएकाले बिकासका काममा राजनीति गरेर काममा अप्ठ्यारो गर्न कसैलाई छुट नभएको बताए । अन्तराष्ट्रिय पर्वत समाजलाई पर्वतको बिकासमा लगानी गर्न उनले आग्रह गरे । 

प्रमुख अथिति एवं संघिय साँसद पदम गिरीले जिल्लाभित्रका सम्पदाहरु त्यसै खेर जाने तर यहाँका जनशक्ति दिनदिनै बिदेश पलायन हुने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाए । 

बिगतमा ६–६ महिनामा सरकार परिवर्तन हुने खेलका कारण सरकारले बनाएका योजना पुरा नहुने गरेको स्मरण गर्दै अहिले ईतिहाँसकै बलियो सरकार बनेकाले यो सरकारले यूवाहरुमा आशा र भरोसा जगाएको बताएका थिए । 

उनले जिल्लाको कायापलट हुने गरि साँसदहरुले काम गर्ने र सरकारले पनि हाम्रा स्रोत र साधानहरुको समुचित प्रयोग हुने नीति ल्याउने बिश्वास दिलाए । ‘बिदेशमा रहेका नेपालीहरुलाई हामी सुरक्षा र नाफाको ग्यारेण्टी दिन्छौँ आउनुहोस अव भाषण हैन लगानी गरेर मातृभूमीको बिकासमा लागौँ,’ साँसद गिरीले भने । साँसद गिरीले आफुले यो परियोजनामा थप एक करोड सहयोग गर्ने बाचा गरेका छन् । 

 विशिष्ठ अथिति एवं प्रदेश साँसद ललितकला गुरुङले प्रदेशले प्रबासी नेपालीहरुलाई स्वदेशमा सहज तरिकाले लगानी गर्ने र त्यसबाट राम्रो प्रतिफल कसरी गर्न सकिन्छ भनेर कानुन बनाउन आवाज उठाउने बताए । 

स्वदेशको बिकास होस् भन्ने कुरामा बिदेशमा रहेका नेपालीहरु बढि चिन्तित रहेको बताउँदै साँसद गुरुङले राज्यले अब हरेक बिकासमा प्रबासी नेपालीहरुलाई सहभागी गराउनुपर्छ भन्ने पक्षमा आफु पहिल्यैदेखि सकारात्मक रहेको बताए ।

विशिष्ठ अतिथि एवम् कुश्मानगरपालिकाका प्रमुख रामचन्द्र जोशी र विशेष अथिति जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले संघियता पछि पर्वतले बिकासको बाटो हिँड्न खोजेको तर अझै केहि समस्या भने यथावत रहेको बताए । 

कानुनको अभाव, कर्मचारीको अभाव, पूर्वाधारको अभाव, बजेटको कमी, राजनीतिक आग्रह पूर्वाग्रह जस्ता कारण सिँहदरबार गाउँ पुग्न नसेकेको उनीहरुले बताए । 

तर, निराश भैहाल्नुपर्ने अवस्था भने नरहेको बताए । पहिलो अभ्यास भएकाले कमी कमजोरी भएपनि बिस्तारै भविष्यमा संघियता सफल हुँदै जाने र पर्वतका सबै क्षेत्रमा बिकासका नतिजा देखिने जोशी र मल्लले बताए । बिदेशमा रहेका पर्वतेलीहरुलाई जन्मभूमीको माया नमार्न दुबै जनाले आग्रह गरेका छन् । 

  विशेष अतिथि संरक्षक एवं  एनआरएनएका उपाध्यक्ष कुल आचार्यले च्यारिटी बाट उठेको रकम स्वास्थ्य क्षेत्रमा खर्च गर्ने निर्णय अनुसार प्रशुती गृह निर्माण लगाउन प्रस्ताव गरेका थिए ।

उक्त कार्यक्रममा  पर्वत समाज यूकेका अध्यक्ष दधी आचार्य, समाजका संरक्षक गोबिन्द सुबेदी, अर्जुनकुमार श्रेष्ठ ‘बेल्जियम’, सल्लाहकारहरु ग्याम गुरुङ, मेख गुरुङ, कृष्ण तिवारी, सुरेन्द्र भुसाल, गोपीचन्द्र भुसाल, ठाकुरप्रसाद शर्मा ‘मनहरी‘, अर्जुन श्रेष्ठ ‘स्विडेन’, खड्कबहादुर केसी लगायतले जिल्लाको बिकासका लागि बिदेशमा रहेका नेपालीहरुले आर्थिक, भौतिक, नैतिक एवं सबै सहयोग गर्न तयार रहेको तर, त्यसका लागि योजनाबद्ध प्रपोजल बनाउन जनप्रतिनिधीहरुलाई सुझाव दिए । आफुहरुलाई देश बनाउने अभियानमा सहभागी गराउन जनप्रतिनिधीहरुले आवश्यक पहल गर्ने कुरामा उनीहरुले विश्वास व्यक्त गरे ।

  च्यारिटी पछि त्यहा उपस्थित पर्वेतेलिको सम्पन्न भेलाले तत्कालका लागि रकम कसरी परिचालन गर्ने र कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा समाजको आगामी बैठकले संरक्षक ,सल्लाहकार सहित अन्य अनुभवी व्यक्तिहरु रहेको उच्चस्तरिय समिति बनाएर तत्काल कार्य शुरु गर्ने निर्णय गरिएको समाजका उपाध्यक्ष झलक केसीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्माले पर्वतको विकासका बारेमाा कार्यक्रममा गहन रुपमा छलफल भएको छ । पर्वत जिल्ला पर्यटकिय संभावना, कृषिको प्रचुर संभावना, जल, जमिन, बनबाट धेरै फाईदा लिन सकिने भएपनि त्यसको समुचित प्रयोग हुन नसकेकोमा छलफलमा चिन्ताको बिषयका रुपमा उठान भएको साथै सबै तयारीका कारण कार्यक्रम सोचे भन्दा बढि सफल भएको र  पर्वतको बिकासका लागि सबै जना चिन्तित रहेको आफुले पाएको बताए । 

पर्वतको बिकासका लागि पर्वतबाट जनप्रतिनिधीहरु र प्रवासी नेपालीहरु बिभिन्न देशबाट आएर कार्यक्रमको महत्व झनै बढाएको बताए ।

 अन्तराष्ट्रिय पर्वत समाजका कोषाध्यक्ष एवं पर्वत समाज यूकेका महासचिव भरत पौड्यालका अनुसार आगामी बृहत भेला मध्य पूर्वमा गर्ने भेलाले निर्णय गरेको छ ।

 ‘यूएईका सल्लाहाकार गोपीचन्द्र भुसाल आएका हुनाले उनीसंग सल्लाह गरेर मध्यपूर्वको यूएईमा बृहत भेला गरौँ भनेर प्रस्ताव गरिएको छ । तर, यूएईमा गर्ने कि अन्यत्र भन्ने कुराको टुंगो लागेको छैन । अबको कार्यक्रम मध्यपुर्वमा गर्ने घोषणा समाजका अध्यक्ष पुरनगिरिले च्यारिटी कार्यक्रम समापनको अवसरमा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ