arrow

सिन्धुली काँग्रेस अधिवेशन: सभापतीमा बराल र दाहालको प्रतिस्पर्धा

क्षेत्र र वडामा सांसद देखि पुर्व जिल्ला सभापति समेतको हार

logo
राजन परियार
प्रकाशित २०७२ माघ २५ सोमबार
Nepali_Congress_Sindhuli.jpg.jpeg
सिन्धुली । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तरगत आज (सोमबार) जिल्ला अधिबेशन सुरु भएको छ ।  सिन्धुली जिल्लामा जिल्ला सभापतिका लागि दुई उमेदवारले उमेद्वारी दर्ता गराएका छन् । सभापतिमा उमेदवारी दर्ता गराउनेहरुमा संस्थापन पक्षका युवा नेता उज्वल बराल र देउवा पक्षका प्रेमचन्द्र दाहाल रहेका छन् । बरालले क्षेत्रीय निर्वाचनमा क्षेत्र नम्बर दुई र दाहालले क्षेत्र नम्बर एकबाट अत्याधिक मत ल्याएर महाधिवेशन प्रतिनीधिमा विजयी भएका थिए । उनिहरुविच जिल्ला सभापतिका लागि कडा प्रतिस्पर्धा हुने काग्रेस श्रोतले बताएको छ । 
 
जिल्लामा यस अघिदेखिकै जिल्ला सभापतिका दावेदारका रुपमा आफ्नो उमेदवारी घोषणा गरेर निर्वाचनमा होमिएका संस्थापन पक्षका निवर्तमान सभापति तथा संसद मोहन बरालले उज्वल बराल र अर्का जिल्लाका प्रभावशाली मानीने देउवा पक्षका नरेन्द्रजंग थापाले दाहालको उमेदवारीलाई समर्थन गरेपछि सभापति पदमा दुई जनाविच प्रतिस्पर्धा हुन लागेको हो । 
 
यस्तै जिल्ला सचिवमा पनि संस्थापन र देउवा पक्षविचमै प्रतिस्पर्धा हुने भएको छ । जिल्ला सचिवमा चार जनाको उमेद्वारी परेको छ । सचिव पदका लागि दिपककुमार घिमिरे, अच्चुतम ढकाल, प्रेमप्रसाद भट्टराई र सरदप्रसाद आचार्यले उमेद्वारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत चुन्नीशरण यादवले जनाए । सचिवका उमेद्वारीहरुमा ढकाल र आचार्य संस्थापन पक्षका हुन् भने  घिमिरे र भट्टराई देउवापक्षका हुन् । 
 
यस्तै कोषाध्यक्षमा पाँच जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावली अनुसार कोषाध्यक्षको एक पदका लागि कृष्णकुमार श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, गोविन्दप्रसाद पहाडी, रामकाजी वाइवा र यसोदा कोइरालाको उमेदवारी परेको छ । उनिहरु मध्ये श्रेष्ठद्धय र वाइवा देउवा पक्ष र कोइराला र पहाडी संस्थापन पक्षका हुन् । 
 
यस्तै जिल्ला सदस्यहरुमा महिला, दलित, आदीवासी जनजाती र अल्पसंख्यक गरी ४२ जनाको उमेदवारी परेकोमा क्षेत्र नम्बर तिनबाट महिला तर्फ कान्ता ढकाल, मन्जु दाहाल दलित तर्फ कृष्णबहादुर सार्की, जनजाती तर्फ कान्छामान वल र अल्पसंख्यक तर्फ भगवान माझी निर्वीरोध भएका छन् । ‘जिल्ला सदस्यहरुमा बाँकी ३७ जनाविच निर्वाचन हुने छ,’ निर्वाचन अधिकृत यादवले भने । अधिबेशनले २५ जना जिल्ला कार्य समिति सदस्यका लागि निर्वाचन गराउँने छ ।
 
निर्वाचनमा ६ सय ६२ जना मतदाताले भाग लिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले उमेदवारहरुविचको प्रतिस्पर्धाका लागि दिउँसो दुई बजेबाट साँझा साँढे पाँच बजेसम्म निर्वाचन गरिने कार्यतालिका सार्वजनीक गरेको छ । निर्वाचन अधिकृत यादवका अनुसार साँझ निर्वाचन सम्पन्न पछि लगत्तै कार्य्विधी बनाएर मत गणना गरिने छ । निर्वाचनको मत परिणाम आजै अवेर सम्ममा सार्वजनिक हुने बताइएको छ । 
 
जिल्लामा सोमबार बिहानै देखि सिमसिम पानी परिरहेपनि कांग्रेस नेता तथा कार्यकर्ता आ–आफ्ना उमेद्वाहलाई विजयी गराउँन सक्रिय भएर लागि परेका छन् । उमेद्वारहरुको फोटो सहितको ठुलठुला पोष्टकार्ड, ब्यानर बनाएर प्रदर्शन गर्दै हिडेका छन् ।
 
क्षेत्रमा सांसद देखि पुर्व जिल्ला सभापति समेतको हार
 
शनिवार सिन्धुली क्षेत्र नम्बर एकको मतपरिणाम सार्वजनीक भएसंगै जिल्लामा क्षेत्रीय प्रतीनिधि र महाधिबेशन प्रतिनीधिको अन्तिम टुङ्गो लागेको हो । प्राप्त जानकारी अनुसार क्षेत्रीय प्रतिनीधि र महाधिबेशन प्रतीनिधिमा जिल्लाबाट संस्थापन पक्षले नै वर्चस्व कायम गरेकोे छ । जिल्लाको प्रतिनीधी छनौट कार्यले यस्तो देखाएको हो । सिन्धुलीको क्षेत्र नम्बर एकबाट देउवा पक्षका नेताहरुको बहुल्य प्रतिनीधित्व भएको भएपनि अरु क्षेत्रमा भने संस्थापनकै अग्रता देखिएको कांग्रेसका एक जिल्ला नेताले खुलसा गरे ।
 
अझ जिल्लामा देउवा पक्षका मानिने पुर्व सांसद तथा नेता होमराज दाहाल वडामै पराजीत भएका छन भने तत्कालीन कांग्रेस लोकतान्त्रीकका जिल्ला सभापति समेत रहेका नेता माणीक ढकाल र संविधान सभाका उमेदवार समेत बनेका देउवा पक्षकै विनोद गुरुङले त क्षेत्रमै हार ब्यहोर्नु परेको छ । उनिहरु वडाबाट सिफारीस भएर आएको भएपनी क्षेत्रीय निर्वाचनबाट महाधिबेशन प्रतीनीधिमा छनौट हुन नसकेका हुन् । उनिहरुलाई तल्लो तहका युवाहरुले पराजीत गर्न सफल भएका छन् । जिल्ला कार्य समितिको नेतृत्वका लागि सभापतिको दावेदार रहेका ढकाल र गुरुङ दुबैले यस अघिनै जिल्ला सभापतिको उमेद्वारका रुपमा आफुलाई उभ्याएका थिए । तर, उनिहरु क्षेत्रबाट हारेपछि देउवा पक्षका नेता तथा कार्यकर्ता थप निरास समेत बनेका छन् । 
 
कांग्रेसको क्षेत्रीय निर्वाचन र महाधिबेशन प्रतीनीधि छनौटमा देखिएको परिणामका आधारमा हेर्ने हो भने जिल्ला तहको नेतृत्वमा पनि संस्थापनकै वर्चस्व रहने अनुमान गरिएको छ । यसैविच सोमबारबाट हुने जिल्ला अधिबेशनमा समेत संस्थापनले नै पद खुस्काउन सक्ने अनुमान गरिएको छ । कांग्रेस सिन्धुलीका सचिव उपेन्द्र पोखरेलले दिएको जानकारी अनुसार यस पटकको वडा देखि क्षेत्रसम्मको निर्वाचनबाट प्रायः युवा पुस्ताको अग्रता रहेका कारण लामो सयदेखि पार्टीको जिल्ला तहको राजनीतिक नेतृत्वमा रहेर बसेका पुराना पुस्ताहरु पराजित हुँदै नयाँ पुस्ता नेतृत्व लिने सम्भावना बढेको छ ।
 
‘कांग्रेस सिन्धुलीका प्रभावसाली मानीने माणिक ढकाल, दिपक मिश्र, कृष्ण प्रसाद दाहाल, सम्भु राउत, कृष्ण गौतम, विनोद गुरुङ लगायतका जिल्ला नेताहरु क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमै आउन नसक्नुले पनि युवा पुस्ताले नयाँ नेतृत्व चाहेको प्रमाणीत हुन्छ,’ एक जिल्ला तहका नेताले भने । यस अघि जिल्ला सभापतिका लागि उमेद्वारी घोषणा गरेका ढकाल क्षेत्र नम्बर दुई र  क्षेत्र नम्बर एकबाट गुरुङले हार व्यहोर्नु परेपछि दुई जनाविच मात्र प्रतिस्पर्धा हुने देखिएको हो । सभापतीका उमेदवारमध्ये उज्वल बरालले जित हातपार्ने प्रवल सम्भावना रहेको बताइन्छ । 
 
क्षेत्रबाट निर्वा्चित क्षेत्रीय र महाधिबेशन प्रतिनीधिहरु 
क्षेत्र नम्बर एक बाट क्षेत्रीय सभापतिमा कर्ण बहादुर थापामगर चयन भएका छन् भने सचिबमा उत्तम कार्की र कोषाध्यक्षमा संगीता सिंह ठकुरी निर्वाचीत भएका छन् । यस्तै क्षेत्र नम्बर एक बाट महाधिबेशन प्रतिनीधिका रुपमा खुल्ला तर्फ प्रेमचन्द्र दाहाल, मोहन बहादुर कार्की, गंगा गीरी, विपिन कोइराला, प्रेम प्रसाद भट्टराई, लाल बहादुर थापा चयन भएका छन् । यस्तै महिला तर्फ गंगा दाहाल, विन्दा गौतम दलित तर्फ रित बहादुर परियार, जनजाती तर्फ दानबहादुर तामाङ र अल्पसंख्यक तर्फ बृजनारायण शाह चयन भएका छन् ।
 
यस्तै क्षेत्र नम्बर दुईका लागि क्षेत्रीय सभापतिमा सुमन कोइराला, सचिबमा डोर बहादुर तामाङ्ग र कोषाध्यक्षमा बद्रि प्रसाद पहाडी निर्वाचीत भएका छन् । क्षेत्रनम्बर दुइको महाधिबेशन प्रतिनीधिमा खुल्ला तर्फ उज्जवल प्रसाद बराल, मोहन प्रसाद बराल, उपेन्द्र पोखरेल, दिनेश अधिकारी, दिपक कुमार घिमिरे, बलराम बराल चयन भएका छन् । महिला तर्फ  सुशिला थिङ्ग, विजुला बर्मा चयन भएका छन्  भने जनजाती तर्फ मिन बहादुर श्रेष्ठ, दलित तर्फ जनक बहादुर तोलाङ्गे अल्पसंख्यक तर्फ जेवी माझी निर्वाचीत भएको कांग्रेस सिन्धुलीका सचिव उपेन्द्र पोखरेलले जनाए । 
 
यस्तै क्षेत्र नम्बर तिनका लागि क्षेत्रीय सभापतिमा जगत बहादुर भोलन र सचिब बोधविक्रम थापा निर्वाचीत भएका छन् । क्षेत्र नम्बर तिन बाट महाधिबेशन प्रतिनीधिका रुपम खुल्ला तर्फबाट नरेन्द्रजंग थापा, नवराज श्रेष्ठ, सरोज मैनाली, कविन्द्र घलान, खड्ग वाईवा, रंगराज खतिवडा, महिला तर्फ शान्ता कार्की, जनजाती तर्फ दोर्जे तामाङ्ग, दलित तर्फ सन्तोष वि.क. र अल्पसंख्यक तर्फ गौरीसंकर राई निर्वाचीत भएका छन् ।
 
तीनवटै निर्वाचन क्षेत्रमा सहमति हुन नसकेपछि क्षेत्र नं.२ र ३ मा शुक्रबार नै निर्वाचन गरिएको थियो भने निर्वाचन क्षेत्र नं.१ मा सनिबार निर्वाचन गरिएको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ