arrow

युएईमा रहेका पाल्पाली युवाद्धारा विद्यालय अक्षयकोष स्थापना

logo
सीता डोटेल
प्रकाशित २०७५ जेठ २४ बिहिबार
34532923_1679240922156171_6558765899690541056_n.jpg

पाल्पा । पूर्वखोला गाउँपालिका वडा नम्बर ३ रिङनेरहमा रहेको बाराही प्राथमिक बिद्यालयमा पाल्पाली समाज युएईले २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

विद्यालयका गरिब तथा बिपन्न समुदायका बालबालिकालाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यले समाजले ६० वटा बिद्यालयले अक्षयकोष स्थापना गर्ने कार्यक्रम अन्तर्गत बाराही प्राबिमा कोष स्थापना गरेको हो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणी ठाडाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पुर्वखोला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष निलकण्ठ भट्टराईले संयुक्त अरब इमिरेड्स युएईमा बस्दै आएका पाल्पालीले आफ्ना गाउँका बिद्यालयमा गरेको सहयोगको खुलेर प्रशंसा गरे । 

शिक्षा बिना न डाक्टर, न वकिल, न पाइलट त न शिक्षक बन्न सकिन्छ वडाध्यक्ष भट्टराईले भने–सामान्य मानिसलाई पनि नभईनहुने शिक्षालाई जोड दिँदै बिद्यालयमा स्थापना गरेको अक्षयकोषले बिद्यार्थी र समाजलाई नै फाइदा पुग्नेछ । उनले बिद्यालयमा अन्य सहयोग जुटाउन र यस कोषको नियमित परिचालनको लागि ध्यानाकर्षण गर्ने गराउने बताए ।

पाल्पाली समाज युएई क्षेत्रिय समिति दुवईका अध्यक्ष खगेश्वर बोटे ‘पाल्पाली कान्छा’ले समाजको स्थापना र ८ गाँउपालिकाका प्रत्येक वडा तथा साविक गाबिसका एक–एक बिद्यालय छनौट गरि अक्षयकोष स्थापनाको उद्देश्यबारेमा स्पष्ट पार्दै विदेशमा आफ्ना र परिवारका लागि कमाउन गएका पाल्पालीले आफुले कमाएको रकमबाट जिल्लामा गरेको सहयोगबारे जानकारी दिएका थिए ।

 बिद्यालयका प्रधानाध्यापक रमेशकुमार न्यौपानेले समाजले एक एक बिद्यार्थीलाई पढ्न र अनुशासनमा रहन सक्ने प्रोत्साहन बढाउने अक्षयकोष खडा गरेको र यसको सही सदुुपयोगका लागि कार्ययोजना निर्माण गरि प्रत्येक बर्ष अक्षयकोषबाट आउने रकम गरिव तथा जेहन्दार बिद्यार्थीलाई प्रदान गर्ने बताए ।

पाल्पाली समाजले जिल्लामा सामाजिक अभियान कार्यक्रम अन्तर्गत २०७२ सालदेखि जिल्लाका ६० विद्यालय छनौट गरी अक्षयकोष स्थापना गर्दै आएको छ । समाजले बाराही प्राविसहित जिल्लाका ५२ विद्यालयमा अक्षयकोष स्थापना गरिसकेको र बाँकी ८ बिद्यालयमा हस्तान्तरण गर्ने तयारीमा रहेको पाल्पाली समाज युएईका केन्द्रीय सदस्य कुलबहादुर केसीले जानकारी दिए । 

पाल्पाली समाज युएईको केन्द्रिय समिति तथा त्यहाँको ७ वटा क्षेत्रको क्षेत्रिय समितिमा पाल्पालीहरु आबद्ध भई सहयोग गरेसँगै कार्यक्रमलाई तिव्रता दिएको हो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणी ठाडाको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक उमान सिं सुनारीले स्वागत भाषण गर्दै कार्यक्रमबारे स्पष्ट पारेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ