arrow

७० वर्षको उमेरमा पनि डोकाको भर

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ जेठ २८ सोमबार
doko_ko_photo.jpg

पाल्पा । उमेर ढल्कँदै गएपछि मानिस मानसिक तथा शारीरिक रुपमा अशक्त तथा कमजोर बन्दै जान्छ । तर रामपुर नगरपालिका ७ किसानवारीका विष्णु विक ७० वर्षको उमेरमा पनि डोको बुनेर जिविकोपार्जन गर्दै आएका छन् । डोको बुनेर नौ जनाको परिवारको गुजारा चलाउँदै आएका विक उमेरले डाँडापारिको घाम जस्तै भएका हुन ।

 उनी बिहान उठे देखि रात नपरुन्जेल सम्म डोको बुन्नमै व्यस्था रहन्छन् । ‘डोको बुन्ने कामले उमेर ढल्कदै गएको ख्यालै भएन,अझैपनि जवानी नै छु जस्तो लाग्छ तर उमेर हिसाब गर्दा ७० पो काट्न लागेछु’ उनले भने । विकले ४१ वर्ष अघि देखि सुरु गरेको यो पेशालाई अहिले सम्म पनि उत्तिकै जोश जाँगर मेहनतका साथ निरन्तरता दिदै आएका छन् । उनको हातको सीपले घरमै बसी बसी दिनहुँ आम्दानी गर्ने बाटो बनेको छ ।

सामान्य परिवारमा जन्मेका विकको डोको नबुनेसम्म  साँझ बिहानको हातमुख जोर्ने अर्को उपाय नै छैन । डोको बुनेर उनको परिवारको जिविका अहिले राम्रो संग चलेको छ । पहिले पहिले गाउँघरमा प्रयोग हुने डोको,थुम्से,भकारी बुनेर घर घरमा बिक्रिका लागि पुग्ने गर्थे ।  अहिले गाउँघरमा यी डोको बुन्ने मान्छे कमै मात्रामा भएपछि उनकै घरमा दिनहुँ आउने गरेको पाइन्छ । गाउँघरमा थुम्से,भकारीको चलनचल्ती कम हुँदै जाँदा विकले पनि डोको उत्पादनलाई नै बढी प्राथमिकता दिने गरेका छन् । खरीद गर्नेले पनि बढी डोको नै खोज्ने गरेको पाइन्छ ।

उनले एउटा बाँसलाई दुई सय देखि तीन सम्ममा किनेर डोको बुन्दै आएका छन् । उनले भने,‘कमाउने कोही छैन,सम्पत्तिको नाममा हातमा डोको बुन्ने सीप मात्र छ’—‘डोको बुनेर नै छोराछोरीको पढाई खर्च,घरव्यवहार चलाएको छु ।’ विकले दिनमा पाँच वटा डोको बुनेर मासिक २५ हजार जति आम्दानी गर्दै आएका छन् । प्रति  डोकाको मूल्य साइज अनुसार २ सय ५० देखि ३ सय ५० सम्ममा बिक्रि हुने गर्दछ ।

डोकोको माग अत्यधिक हुने गरेकाले पुर्‍याउन मुस्किल परेको विकले बताए । ‘पहिले नै अर्डर हुन्छ,ग्राहकको माग बढ्दो छ,पुर्‍याउनै मुस्किल पर्छ’ उनले भने । विकले बुनेको डोको बलियो र धेरै समय सम्म टिकाउने हुने  टाढा टाढाबाट पनि डोको खरीदकै लागि ग्राहकहरु आउने गरेका छन् । मेहनत गरियो भने पैसा कमाउनकै लागि अन्यत्र धाउन नपर्ने विक बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ