arrow

थपलिया र पुरीले बिना श्रमस्वीकृति कामदार मकाउ पठाएर पारे अलपत्र 

एनआरएनए मकाउका कोषाध्यक्ष पनि संलग्न 

logo
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
raghu-puri-bishal-thapaliya.jpg

काठमाडौं। श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले म्यानपावर धन्धा गर्नेलाई कडा कार्वाही गर्ने जनाए पनि राजधानीका दुई ओभरसिज संचालन गरेर बसिरहेका दुई संचालक भने खुलेआम नेपालीलाई विदेश पठाएर अलपत्र पार्ने काम गरिरहेको खुलेको छ । 

कामका लागि मकाउ पुगेका र्इश्वर थिङले आत्महत्याको प्रयास गरेपछि त्यहाँ संगठित रुपमा कामदार लैजाने नाममा भइरहेको गैरकानुनी धन्दाको रहस्य खुलेको हो । 

एजेण्टमार्फत १० लाख भन्दा बढी रकम बुझाएर मकाउ पुगेको एक महिना नपुग्दै थिङले धारिलो हतियारले घाँटी रेटेर आत्महत्या प्रयास गरेका थिए । 

एक महिनाअघि मात्र थिङ नेपालका एजेण्ट विशाल थपलियामार्फत १२ लाख रुपैयाँ बुझाएर मकाउ पुगेका थिए । उनलाई मकाउ झिकाउन स्थानीय एजेन्ट तथा एनआरएन मकाउका कोषाध्यक्ष युवराज न्यौपानेले थपलियालाई डिमान्ड पठाएका थिए। 

तर दुवै जनाले थिङलाई वेवास्ता गरेपछि पीडामा रहेका थिङले आत्महत्याको प्रयास गरेका थिए। घाँटीको आधा भाग काटिएका थिङको स्थानीय सान्तेङ अस्पतालमा उपचार भइरहेको छ ।

मकाउमा एजेन्ट र कम्पनीको मिलेमतोमा कामदारसँग मोटो रकम लिएर बोलाउने र पछि पीडा दिएर निकाल्ने प्रचलन बढिरहेको छ।

नेपालमा विशाल थपलिया र रघु पुरीले मिलेर काम गर्दै आइरहेका छन् । रघु पुरीका काठमाडौंको वत्तीसपुतलीमा दुई वटा म्यानपावर छन् । एउटा रिभर ओभरसिज र अर्को डी वान म्यानपावर । डी वानबाट विशालले एक कोठा लिएर मकाउ पठाउने काम गर्दै आएका छन् । 

को हुन् विशाल थपलिया ? 
विशालले वल्डवाइड ह्युमन रिसोर्समा काम गर्दथे । त्यहाँ काम गर्दागर्दै विशालले पुरीसँग काम शुरू गरे । पुरीले विशाललाई डी वान म्यानपावर दिए । एउटा कोठा लिएर पार्टनरका रुपमा विशालले काम गर्न थाले । तर अहिलेसम्म मकाउ पठाइएका कुनै पनि कामदारको श्रम स्वीकृति नलिइएको उनीमाथि आरोप छ। श्रम विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर सीधै १५ लाख रुपैयाँसम्म उठाएर मान्छे मकाउ पठाइरहेको कतिपय पिडितको आरोप छ ।

को हुन् रघु परी ? 
रघु पुरी पहिलेदेखिकै म्यानपावर संचालक हुन् । उनका दुई वटा म्यानपावर  छन्। उनी हातहतियार लिएर सरकारले केही समयअघि रद्द गरेका चार जनामध्येका एक हुन् । पुरीको हतियारको लाइसेन्स सरकारले रद्द गरेको छ । 

पुरी र थपलियाले मिलेर मकाउमा अहिलेसम्म दुई दर्जन भन्दा बढी नेपाली कामदारलाई मोटो रकम लिएर मकाउ पठाइसकेको स्रोतले जनाएको छ । १५ लाख रुपैयाँ खर्चेर मकाउ गए पनि त्यहाँ पुगेर नेपालीले कमाउने ७०–७५ हजार रुपैयाँमात्र हो मासिक कमाई ।

कसरी हुन्छ कानुनी प्रक्रिया ?
सामान्यतया कम्पनीको बारेमा विस्तृत बुझेर त्यो कम्पनी कानुनी ढंगले चलेको पाएपछिमात्र म्यानपावरले पूर्व स्वीकृति लिएर आउँछ । त्यसपछि दूतावासबाट एटेस्टेड भएर आउँछ । त्यसपछि श्रम विभागबाट पहिलो इजाजत लिइन्छ । त्यो इजाजत लिएर मात्र पत्रपत्रिकामा सूचना जारी गरिन्छ । 

त्यसपछि अन्तर्वार्ता हुन्छ । अनि बल्ल प्रक्रिया सुरु हुन्छ । कागजपत्र सम्बन्धित देशमा पठाइन्छ । अनि बल्ल स्वीकृत भए भीसा प्रक्रिया अगाडि बढ्छ । दूतावासबाट भीसा लगाए आएपछि अन्तिम अन्तर्वार्ता विभागले लिन्छ । त्यसपछि मात्र मजदूर वा श्रमिक विदेश जान्छ । 

के भन्छन थपलिया?

आत्महत्याको प्रयास गरेर उद्धार पछि मकाउमा उपचारका क्रममा रहेका मकवानपुरका इश्वर थिङको उपचार सकाएपछि नेपाल फर्काउने गृहकार्य गरिरहेको थपलियाले बताए। घाँटीमा आफैले काटेर घाइते भएका थिङको स्थानीय सान्तेङ अस्पतालमा उपचार भइरहेको छ । थिङको उपचार मकाउस्थित उनी कार्यरत कम्पनीले नै आफ्नो खर्चमा गरिरहेको छ। मकाउको ग्लोबल सेक्युरिटीमा थिङ करिव दुई महिनादेखि कार्यरत रहेको थपलियाले बताए।

घाइते अवस्थामा उपचार भइरहेका थिङको पूर्ण रुपमा उपचार सकाएपछि नेपाल ल्याएर परिवारको जिम्मा लगाउने तयारीमा आफूहरु रहेको थपलियाले बताए। यस क्रममा उनको उपचार खर्च कम्पनीले व्यहोर्ने र उनको मकाउ जाँदा लागेको सबै खर्च कम्पनीले फिर्ता गर्ने गृहकार्यमा पनि आफूहरु लागेको उनले बताए। 

नेपाल सरकारबाट व्यक्तिगत श्रम स्विकृती लिएर नै थिङ मकाउ गएको थपलियाले प्रष्ट पारे। यस क्रममा आफूहरुले अरु कम्पनीले लिने भन्दा झण्डै आधा कम मूल्यमै थिङलाई मकाउ पठाएको उनले प्रष्ट पारे। सुरक्षा गार्डमा अरु देशमा भन्दा राम्रो आम्दानी हुने भएपछि मकाउ धेरैको रोजाइमा पर्दै आएको उनले बताए। 

मकाउमा उपचार गरिरहेका थिङले आफ्नो आत्महत्याको प्रयासमा कसैलाई दोष नदिने पनि उनैले हस्तलिखित पत्रमा लेखेको थपलियाले बताए। पत्र लेख्दै गर्दाको थिङको तस्विर समेत बाहिर आएको छ। तस्विरमा उनको घाँटीको चोटमा व्याण्डेज गरिएको देखिएको छ। अस्पतालमा प्रहरी बाहेक कसैलाई नभेटेका थिङले सामाजिक सञ्जालमार्फत पत्र आफूहरुलाई पठाएको थपलियाले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ