arrow

अलविदा 'शुसिल दा'

सादा जीवनका पर्याय थिए शुसिल दा

logo
अजयबाबु शिवाकोटी।
प्रकाशित २०७२ माघ २६ मंगलबार
sushil-koirala.jpg.jpeg
काठमाडौं। नेपाली राजनीतिमा एक सरल र सादा जीवनका पर्यायका रुपमै नेतृत्व तहमा पुगेका शुसिल कोइराला अब हामीमाझ रहेनन्। कार्यकर्ताहरुले प्रिय रुपमा  बोलाउने उनै शुसिल दाको मंगलवार विहान १२: ५०मा कोइराला निवास महाराजगञ्जमा निधन भयो। जिब्रोमा भएको क्यान्सरलाई दृढ इच्छा शक्तिले नै जीतेका कोइराला त्यसपछि पनि विश्राममा नरहि राजनीति मार्फत देशको सेवामा लागिरहे पनि मंगलवारबाट भने कहिल्यै नफर्कने गरि पूर्ण विश्राममा रहेकाछन्। 
 
विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय रहेका कोइरालामा गान्धीवादी आदर्शको छाप थियो। सादा जीवन जीउने र देशका लागि केहि गर्ने भावनाबाट प्रेरित गान्धीवादी नेताहरु कृष्णप्रसाद भट्टराई महेन्द्रनारायण निधी जस्तै कोइराला पनि त्यहि पथमा थिए। सरकारी लाभको पदलाई कहिल्यै लक्ष्य नबनाएका कोइरालाको देशको सेवा नै लक्ष्य थियो।
 
पटक पटक लामभको पदलाई लत्याएका कोइरालाले देशकै सेवा गर्ने क्रममा देशको ३७ औं प्रधानमन्त्री भएर देशको नेतृत्व गर्ने अवसर पाएका थिए। त्यो अवसरलाई उनले संविधान जारी गरेर प्रमाणित पनि गरे। संविधानसभाबाट संविधान जारी गर्ने काँग्रेसका संस्थापक बीपी कोइरालाले देखेको सपनालाई शुसिल कोइरालाले पुरा गरे। समाज कृतघ्न भएन भने यसमा उनको योगदानको दीर्घकालसम्म चर्चा हुने नै छ। उनको समन्वयकारी नेतृत्वले नै संविधान जारी हुन सम्भव भएको थियो। भलै निरन्तर विकास हुने संविधानमा केहि असन्तुष्टी रहेपनि आफ्नो जीवनकालमै उनले त्यसलाई संसोधन मार्फत असन्तुष्ट पक्षको माग सम्वोधन गराउन पनि नेतृत्व लिए। कोइरालाको देहावसान पछि अब संविधान कार्यान्वयन गर्ने चुनौतीलाई चिर्दै संविधान जारी गर्न र यसमा आम नागरिकको अधिकारलाई स्थापित गर्न काँग्रेसले खेलेको भुमिकाको तल्लोस्तरसम्म लैजाने चुनौती पनि काँग्रेसजनमा आएको छ। 
 
पद प्रतिष्ठा र शक्तिको आशक्ति नराखी जीवन पर्यन्त राजनीति मार्फत देश सेवामा होमिएका कोइरालाको निधनले नेपालको समकालीन राजनीतिमा एक युगको अन्त्य भएको छ। नेपाली राजनीतिमा अविच्छिन्न ६ दशक भन्दा लामो योगदान पुर्‍याएका कोइराला राजनीतिमा आउन खोज्ने सबैका लागि आदर्शका प्रेरणा हुन। राजनीतिलाई आदर्शको बाटोमा डोहोर्‍याउन उनको पदचापलाई अनुसरण गर्ने दायित्व अब काँग्रेसजनमा आएको छ। 
 
आसन्न १३ औ महाधिवेशनकै सम्मुखमा भएको कोइरालाको निधनले काँग्रेसजन अचानक शोकमा परेका छन्। पार्टी रुपान्तरण र सुदृढीकरणको महाअभियानलाई अगाडी बढाउँदै काँग्रेसको नेतृत्वगण अघी बढ्नुको विकल्प छैन। पार्टीलाई देशकै नेतृत्वदायी पार्टी बनाइराख्ने चुनौती पनि काँग्रेसका नेता कार्यकर्ताहरुलाई आएको छ। यसो गर्न सके कोइरालाप्रति काँग्रेसजनको साँचो श्रद्धाञ्जली हुनेछ। 
 
को थिए त कोइराला?
नेपाली काँग्रसका सभापति सुशील कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको थियो। सुशीलको जन्म सन् १९३९ मा भएको थियो। उनका ६ भाइ र एक बहिनी छन्। राजनीतिमा सक्रिय रहेका सुशील अविवाहित नै थिए। वन अधिकृत बोधप्रसाद जागीरका सिलसिलामा बाँके जिल्ला, नेपालगञ्ज पुगेपछि कोइराला परिवारको बसोबास नेपालगञ्ज मै भएको हो। 
 
नेपालको ३७ औं प्रधानमन्त्री
सुशील कोइराला नेपालका ३७ औं प्रधानमन्त्री थिए। कोइराला नेपालको व्यवस्थापिका संसदबाट २०७० माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। उनकै प्रधानमन्त्री कालमा नेपालले दोस्रो संविधानसभा मार्फत संविधान पाएको छ। 
 
राजनीति प्रवेश
विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका थिए। वि. सं २०१७मा प्रजातन्त्रको अपहरणपछि उनी १६ वर्षसम्म भारतमा स्वप्रवासमा रहेका थिए। प्रवासमा रहँदा उनले नेपाली कांग्रेसको मुखपत्र तरुणको सम्पादन गरेका थिए। उनले नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनैतिक बन्दीजीवन बिताएका थिए। वि.सं २०३६मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका सुशिल २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनाका साथै २०४२ सालको सत्याग्रह र २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सक्रियरूपमा लागेका थिए।
 
राजनीतिक योगदान
बीपी कोइरालाको निधनपछि नेता गिरिजा प्रसाद कोइरालासँग सोसलिस्ट इन्टरनेसनलसँग पार्टीको सम्बन्ध विस्तार गर्न युरोप र अमेरिका भ्रमण गरेका सुशिलले समाजवादी नेता बिली ब्रान्ट, ब्रुनो कास्की तथा अन्य युरोपेली र अमेरिकी नेतासँग समाजवादी आन्दोलन सम्बन्धमा छलफल गरेका थिए।
 
सुशीलले पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरेका थिए। पार्टीको एघारौँ महाधिवेशनपछि उनले पार्टीको कार्यवाहक सभापतिका हैसियतले काम गरे। १२औ महाधिवेशनबाट भने कोइराला सभापतिमा निर्वाचित भएका थिए। प्रधानमन्त्री हुनु अघीसम्म सरकारी लाभको पदमा नरहेका सुशिल सन्त राजनैतिक नेताका रूपमा पनि परिचित छन्।
 
उनले स्वदेश र प्रवासमा नेपाली काङ्ग्रेसका नेता बिपी र गिरिजा निकट रहेर नेपाली प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन्। उनले २०४६ सालपछि पार्टीको परराष्ट्रसम्बन्ध विभागका प्रमुख भई काम गरेका थिए। पार्टी सङ्गठनमा विशेष चासो लिने सुशिल तत्कालीन प्रतिनिधिसभा चुनावमा वि.सं २०४८ र २०५६ (सन् १९९९)मा बाँके जिल्लाबाट निर्वाचित भएका थिए। सन् २००० सेप्टेम्बरमा फिलिपिन्सको मनिलामा भएको एसियाली राजनैतिक दलहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिएका थिए। 
 
काँग्रेस सभापतिमा कोइराला
सन् २०१० सेप्टेम्बर २२मा काठमाडौंमा भएको १२ औं महाधिवेशनमा नेपाली काँग्रेसको सभापतिमा निर्वाचित भए। सुशिलले १ हजार ६ सय ५२ मत ल्याए, जुन पार्टी विधान अनुसार निर्वाचित हुन आवश्यक कूल मतको ५० प्रतिशत भन्दा बढी थियो। उनका निकट प्रतिद्वन्द्वी देउवाले १हजार ३ सय १७ मत मात्रै ल्याए। सभापति पदका अर्का दावेदार पुराना तथा त्यागी नेता भीमबहादुर तामाङले भने मत संख्यामा दोहोरो अङ्क पनि कटाउन सकेनन्। उनले ७८ मत मात्रै ल्याए। कूल मतदाता संख्या ३ हजार ८० भएकोमा ३ हजार ६४ मत मात्रै खसेको थियो। १५ मत बदर र २ मत खाली थियो।
 
पाँच दशक राजनीतिमा बिताएका कोइरालाले ०४६ सालपछि कांग्रेस नेतृत्वमा पटक-पटक सरकार बन्दा पनि मन्त्री पद अस्वीकार गरेका थिए। ०४६को जनआन्दोलनपछि ०४८ र ०५६मा बाँके क्षेत्र नं. २ बाट सांसदमा विजयी भए पनि उनी सत्ता र शक्तिलाई छाडेर पार्टी संगठनमा बस्न रुचाए। ०४६मा प्रजातन्त्र पुनःस्थापनापछिको अन्तरिम सरकारमा परराष्ट्रमन्त्री र त्यसपछि पनि पटक-पटक उपप्रधानमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरेका थिए। २०३५ सालदेखि कांग्रेस केन्द्रीय सदस्य रहेका कोइराला महामन्त्री, उपसभापति हुँदै पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको कार्यकालमै कार्यवाहक सभापति बनेका थिए। समकालीन नेताहरूमध्ये कोइरालाको जीवनशैली निकै सादा मानिन्छ। 
 
स्वर्गीय कोइरालाप्रति भावपूर्ण शब्दश्रद्धा। 



नयाँ