मकाउमा आत्महत्याको प्रयास गर्ने थिङलाई उपचारपछि थपलियाले नेपाल नै फर्काउने
थिङको उपचार खर्च र मकाउ जाँदाको खर्च फिर्ता गर्ने थपलियाको प्रतिवद्धता
प्रकाशित २०७५ असार १ शुक्रबार
652
Shares
काठमाडौं। आत्महत्याको प्रयास गरेर उद्धार पछि मकाउमा उपचारका क्रममा रहेका मकवानपुरका इश्वर थिङको उपचार सकाएपछि नेपाल फर्काउने गृहकार्य गरिरहेको डी वान म्यान पावरका विशाल थपलियाले बताएका छन्।
घाँटीमा आफैले काटेर घाइते भएका थिङको स्थानीय सान्तेङ अस्पतालमा उपचार भइरहेको छ । थिङको उपचार मकाउस्थित उनी कार्यरत कम्पनीले नै आफ्नो खर्चमा गरिरहेको छ। मकाउको ग्लोबल सेक्युरिटीमा थिङ करिव दुई महिनादेखि कार्यरत रहेको थपलियाले बताए।
घाइते अवस्थामा उपचार भइरहेका थिङको पूर्ण रुपमा उपचार सकाएपछि नेपाल ल्याएर परिवारको जिम्मा लगाउने तयारीमा आफूहरु रहेको थपलियाले बताए। यस क्रममा उनको उपचार खर्च कम्पनीले व्यहोर्ने र उनको मकाउ जाँदा लागेको सबै खर्च कम्पनीले फिर्ता गर्ने गृहकार्यमा पनि आफूहरु लागेको उनले बताए।
नेपाल सरकारबाट व्यक्तिगत श्रम स्विकृती लिएर नै थिङ मकाउ गएको थपलियाले प्रष्ट पारे। यस क्रममा आफूहरुले अरु कम्पनीले लिने भन्दा कम मूल्यमै थिङलाई मकाउ पठाएको उनले प्रष्ट पारे। सुरक्षा गार्डमा अरु देशमा भन्दा राम्रो आम्दानी हुने भएपछि मकाउ धेरैको रोजाइमा पर्दै आएको उनले बताए।
मकाउमा उपचार गरिरहेका थिङले आफ्नो आत्महत्याको प्रयासमा कसैलाई दोष नदिने पनि उनैले हस्तलिखित पत्रमा लेखेको थपलियाले बताए। पत्र लेख्दै गर्दाको थिङको तस्विर समेत ग्लोवल कम्पनीले पठाएको छ। तस्विरमा उनको घाँटीको चोटमा व्याण्डेज गरिएको देखिएको छ। ग्लोवल कम्पनीको प्रतिनिधीले प्रहरीको रोहवरमा थिङको तस्विर खिचेको थियो।