arrow

कलाकारसँग सुशिलले २५ मिनेट फूटबल खेल्दा...

उनको फूटबल खेलाई गज्जबकै थियो, कहिले हेडिङ हान्ने त कहिले कलाकारालाई छक्याउने उनको शैली सबैका लागि तारिफयोग्य नै रह्यो ।

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
Sushil.jpg.jpeg
काठमाडौं । कुनै बेला हलिउडको हिरो बन्ने सपना बुनेका पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशिल कोइराला फिल्ममा हिरो त हुन सकेनन्, तर नेपाली राजनीतिमा उनी सुपरस्टार झैं बने । आफु प्रधानमन्त्री भएको बेला राष्ट्रिय चलचित्र नीति पारित गर्नुदेखि चलचित्र विकास बोर्डमा फिल्मकर्मीलाई ल्याउने काम गरे । जुन काम नेपाली फिल्म क्षेत्रका लागि ऐतिहासिक नै थियो । कलाकारलाई माया गर्ने कोइरालाको अर्को एउटा रोचक प्रसंगले नेपाली मिडियामा राम्रै स्थान पायो ।

गत जेठमा नयाँ पत्रिकाले भूकम्प पीडितको सहयोगार्थ राहत संकलन गर्न राजधानीको हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा रहेको फूटबल ग्राउण्डमा कलाकार भर्सेस नेताको मैत्रीपूर्ण फूटबल आयोजना गरेको थियो । त्यो खेल कलाकारले जिते पनि प्रमुख आकर्षण उनै कोइराला नै थिए । ७८ वर्षको बुढो ज्यानलाई जेठको तातो घामको पर्वाह नगरी हरियो जर्सीमा मैदानमा छिराएका कोइरालाले करिब २५ मिनेटसम्म फूटबल खेले । उनको फूटबल खेलाई गज्जबकै थियो, कहिले हेडिङ हान्ने त कहिले कलाकारालाई छक्याउने उनको शैली सबैका लागि तारिफयोग्य नै रह्यो । 

‘‘नेता टिमका क्याप्टेन तथा देशकै क्याप्टेन प्रधानमन्त्री सुशिल कोइराला ज्यु थाक्नु भयो जस्तो छ, सायद खेलाडी परिवर्तन गर्ने बेला भए जस्तो छ ।’ कोमल वलीले यसरी माइकिङ गरिरहँदा जर्सी नम्बर ११ का खेलाडी सुशील कोइरालाले हात हल्लाएर नथाकेको जनाउ दिँदा उनीमाथि दर्शकको हुटिङ राम्रो चल्यो । 

बुढो सरिर, झुस्स परेको कपाल र आफैलाई नथेग्ला जस्तो देखिने खुट्टाहरुले फुटबललाई पछ्याई रहेको देख्दा मैदान भित्रकै कतिपय नेता तथा कलाकार खेलाडीहरुसमेत रमाइलो उनको क्रियाकलाप हेरिनै रहे ।  त्यो खेलमा मोटो शरीर भएका एमाओवादी अध्यक्ष प्रचण्ड खेलको ५ मिनेट नवित्दै मैदानबाट बाहिरिए । एमाले अध्यक्ष केपी ओली प्रचण्डलाई पछ्याउदै मैदान बाहिर लागे । 

कोइरालासँग फूटबल खेलेकी हाँस्य कलाकार दीपाश्री निरौला उनको खेल्ने शक्ति देखेर आफु चकित भएको बताईन् । ‘उहाँले शक्ति निकालेर खेल्नुभएको थियो, उहाँका सुरक्षागार्ड देखि निजी सचिवसम्मले धेरैबेर खेल्नु हुँदैन भन्दा पनि मलाई एनर्जी छ म खेल्छु भन्दै खेल्नुभएको थियो,’दीपाश्रीले स्मरण गरिन्,‘नखेल्नु भन्दा पनि भूकम्प पीडितको लागि हो भनेर खेलिरहनु भएको थियो । उहाँले खेल्नुहुन्छ जस्तो चाहिँ हामीलाई कतै लागेको थिएन, तर सामाजिक क्षेत्रका लागि मेरो पनि सहयोग हुनेछ भनेर उहाँले खेल्नुभयो ।’ दीपाश्रीले कोइरालालाई कलाकारको आकांक्षा बुझ्ने प्रधानमन्त्रीको रुपमा चिन्दछिन् । ‘कुनै पनि कारण लिएर जँदा सहयोग गर्ने स्वभाव उहाँमा थियो ।’ उनले भनिन् । 

दीपाका सहकर्मी दीपकराज गिरीले पनि फेसबुकमार्फत श्रद्धाञ्जली दिएका छन् । ‘भेट ४,५ पटक भयो होला उहॉसंग,  एक पटक भन्नु भयो मलार्इ ‘दीपक बाबु हाम्रो भन्दा तपाइको क्षत्र एकदमै राम्रो, हाम्रो त असाध्यै अपजसी क्षेत्र’ केहि जस केहि अपजस, केहि राम्रा केहि नराम्रा यस्तै यस्तै सम्झनाहरू छाडेर एक न एक दिन यो मृत्यू पथमा मानिशले हिडनै पर्छ तपाइको नेतृत्वमा बनेको संबिधानको सहि कार्वान्यन होस, तपाइको आत्माले शान्ति पाओस अलविदा ।’उनले पोष्ट गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ