arrow

राजकीय सम्मानका साथ कोइरालाको अन्त्येष्टी गर्ने मन्त्रिपरिषदको निर्णय, भोलि सार्वजनिक बिदा

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
Sushil-Koirala.jpg.jpeg
काठमाडौँ । सरकारले नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले स्व कोइरालाको सम्मानका लागि तोप, सलामीलगायत अन्य आवश्यक व्यवस्था मिलाउन रक्षा तथा गृह मन्त्रालयलाई जिम्मा दिएको छ । 
 
बैठकले कोइरालाको निधनमा शोक मनाउन यही माघ २७ गते सार्वजनिक बिदा दिने र माघ २६ देखि २८ गतेसम्म तीन दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा, वरिष्ठ राजनीतिज्ञ, पूर्वप्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति एवम् व्यवस्थापिका–संसद्का प्रमुख प्रतिपक्षी दलका नेता कोइरालाको दुःखद् निधनबाट नेपाल सरकार स्तब्ध भएको जनाउँदै बैठकले यस दुःखद् घडीमा दिवङ्गत कोइरालाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्ने निर्णय गरेको छ । 
 
बैठकको निर्णयमा भनिएको छ, “नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो समय उहाँले निर्वाह गर्नुभएको भूमिका सदैव स्मरणीय रहनेछ । आजीवन राष्ट्र, जनता, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यताका हिमायती कोइरालाले नेपालको संविधान निर्माणमा पु्र्‍याउनुभएको अतुलनीय योगदान नेपाल र नेपालीले सदैव सम्झिरहने छन् ।” कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्निप्रसाद खरेलले बैठकका निर्णयबारे जानकारी दिँदै सरकारले दुःखको यस घडीमा शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुक एवम् नेपाली काँग्रेसप्रति हार्दिक समवेदना व्यक्त गरेको बताए । 
 
कोइरालाको निष्ठा, त्याग र सङ्घर्षमय जीवनका उदाहरणीय पक्ष तथा सत्मार्ग सबैले आत्मसात् गर्न सक्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने विश्वास सरकारले व्यक्त गरेको छ । यस्तै सरकारले माघ २६ देखि २८ गतेसम्म कुनै पनि सार्वजनिक औपचारिक कार्यक्रम नगर्ने, माघ २८ र २९ गते परराष्ट्र मन्त्रालय लगायत विदेशस्थित नेपाली दूतावास र नियोगमा शोकपुस्तिका राख्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । राष्ट्रिय सम्मानसहितको अन्त्येष्टि कार्यको समग्र समन्वय गर्न गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई तोकिएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ