- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चीनको ६ दिने औपचारिक भ्रमणमा रहेका छन् । उनलाई चीनले स्वागत गरेको समय र परिस्थितिको चर्चा भने खासै भएको छैन । स्वागतको विषयलाई लिएर नेपालमा विशेष चर्चा हुने गर्छ ।
तर जति चर्चा स्वागतको विषयमा भारत भ्रमणका बेलामा हुन्छ त्यति चर्चा चिनियाँ आतिथ्यमा भने हुने गर्दैन । भारतमा कुन मन्त्रीले स्वागत गर्यो त भनेर नामै किटिन्छ । तर चीनमा त्यो चर्चा कम हुन्छ ।
प्रधानमन्त्री ओलीले यसअघिका प्रधानमन्त्रीहरु भारत जाँदा ‘यस्तो पनि हुन्छ ?’ भनी प्रश्न गर्ने गर्दथे । तर अहिले आफै फन्दामा परेका छन् । उनलाई अपमानजनक शैलीमा स्वागत गरिएको छ ।
मंगलबार अपरान्ह राजधानी बेइजिङ उत्रिएका ओलीलाई चीनका सबैभन्दा तल्लो तहका विदेश मन्त्रीले स्वागत गरेका थिए । ओलीलार्इ चीनमा रहेका १२ सहायक विदेश मन्त्रीमध्ये सबैभन्दा तल्लो तहका १२ औँ नम्बरका जुनियर विदेश मन्त्रीले स्वागत गरेका हुन्।
ओली भारत गएको बेला उनलार्इ भारतीय गृहमन्त्री राजनाथ सिंह र परराष्ट्रमन्त्री लगायत उच्च दर्जाका मन्त्रीहरुले स्वागत गरेका थिए।
चीनमा किन त्यस्तो भएन ?
ओली ११९ जनाको ‘महाजम्बो’ टोलीको नेतृत्व गर्दै चीन गएका छन् । यो संख्या आफैमा हाँस्यास्पद हो । यतिधेरैको संख्यामा चीन जाँदा सम्भवतः चीन असन्तुष्ट भयो कि ! या त ओलीको चीन भ्रमणप्रति चीनले खासै रुची दिन चाहेको थिएन कि !
औपचारिक भ्रमणमा जाँदा पनि विदेश मन्त्रालयका पुछारका मन्त्रीले स्वागत गर्नु उसले राखेको प्राथमिकता के रहेछ भन्ने पनि हो । चीनमा विदेश मन्त्रीको हकमा एक विदेश मन्त्री, एक उप विदेशमन्त्री र १२ जना सहायक विदेशमन्त्री हुने गरेका छन्।
तल्लो तहका मन्त्रीले स्वागत गर्दा ‘महाजम्बो टोली’ का प्रतिनिधिहरु अधिकांशले खल्लो महसुस गरेका छन् । उनीहरुलाई कुटनीतिक अपमान पो भयो कि भन्ने पनि छ । प्रधानमन्त्री ओलीले पनि लाभालस्कर लागेर टोली लैजाँदा आफूले आफै अपमान गर्न पो प्रोत्साहन थपे कि !
चीनले अहिले विभिन्न देशका प्रतिनिधिहरुलाई स्वागत गरिरहेको छ । यो स्वागतका क्रममा नेपाल कम प्राथमिकतामा परेको पो हो कि । उत्तर कोरियाका शासक किम जोन उन पनि चीनमै आएका कारण ओली छायाँमा परेका पनि हुन सक्छन् ।
तर स्वागतमा बोलाएपछि अतिथि सत्कार पनि राम्रो गर्नुपर्ने थियो होला ।
यसबारे आउँदो आइतबार असार १० गते टोली नेपाल फर्केपछि चर्चा परिचर्चा पक्कै हुने नै छ । कस्तो महसुस गरे समग्रका नेपाली डेलिगेट्सले । भनिन्छ –बिहानीले दिनको संकेत गर्छ । कतै सत्कारबाटै चीनले नेपाललाई दिएको प्राथमिकतालाई लिएको हो त ?
निकै प्रतिक्षित विभिन्न विषयमा सहमति हुन सकेको अवस्था छैन । भारतले जस्तै आश्वासन चीनले पनि दिएको छ । रेलले काठमाडौं उपत्यकामा सेवा दिने चीनले पनि जनाएको छ ।
सपना देख्नेका सपना पूरा हुने हो भने छिट्टै रेल काठमाडौंमा चल्नेछ । तर चीनले सघाउने र चल्ने तिथिमिति पनि दिने हो भने त्यसैअनुसारको योजना बन्दथ्यो होला । आश्वासनले त केवल केही क्षणमा मज्जा आउने हो ।
चीनले नेपालमा पाँच वर्षे स्थायी सरकार चाहेको थियो । त्यो पनि पूरा भएको छ । कम्युनिष्ट सरकार भए उत्तम भनेकै थियो । त्यो पनि पाएको छ । अब यो अवस्थामा पनि चीनले आश्वासनमात्र बाँडेर काम गर्ने इच्छाशक्ति देखाएन भने त्यो त दुर्भाग्य नै हुनेछ ।
प्रधानमन्त्री ओली यसअघि प्रधानमन्त्री हुँदा चीन गएका बेलामा गरेका १० बुँदे सम्झौता पनि अहिलेसम्म पूरा भएका छैनन् । कार्यान्वयनको पक्ष सबल भएन भने त्यो ओलीलाई मात्र होइन नेपाललाई नै गरेको अपमान हुनेछ ।
चीनले नेपाललाई धेरै महत्व नदिनु नेपालकै कमजोरी भएको समेत विश्लेषकहरुले बताइरहेका छन् । चिनियाँ राष्ट्रपति नेपाल नआउनु पनि अपमान नै हो भनी बुझ्न थालिएको छ ।
प्रधानमन्त्रीलाई प्रश्न !
ओली प्रतिपक्षीमा रहेका बेलामा निकै खरो बोल्ने गर्छन् । जो प्रधानमन्त्री छ त्यसलाई व्यङ्ग्यबाण गरेकै छन् । भारतमा यसअघिका प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल जाँदा उनले ‘यति धेरै मानिस लिएर के सिंगडी खान गएको ?’ भनेर प्रश्न गरेका थिए ।
अहिले ओलीले त त्यो संख्यालाई पनि माथ दिए । यतिबेला उनी चीनमा ‘महाजम्बो टोली’ संग के खाइरहेका छन् ?