पर्सा। नेपाल आयल निगमले आज वीरगन्ज नाकाबाट ९५ ट्याङ्करमा लोड रहेको १३ लाख १० हजार लिटर इन्धन नेपाल भित्र्याएको छ । नेपाल आयल निगमले भारतको बरौनी र रक्सौल डिपोबाट आज उक्त परिमाणमा इन्धन भित्र्याएको हो ।
वीरगन्ज नाकाबाट मंगलबार साँझ ६ः३० बजेसम्म ५९ ट्याङ्करमा सात लाख ३४ हजार लिटर डिजल, २१ ट्याङ्करमा तीन लाख लिटर पेट्रोल, १२ ट्याङ्करमा दुई लाख ४० हजार लिटर हवाई इन्धन र तीन ट्याङ्करमा लोड रहेको ३६ हजार लिटर मट्टितेल वीरगन्ज नाकाबाट भित्रिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्जका क्षेत्रीय प्रमुख भानुभक्त खनालले जानकारी दिए ।
उनले मधेसकेन्द्रित दलले नाका केन्द्रित आन्दोलन गरेयता साढे चार महिनामा पहिलो पटक वीरगन्ज नाकाबाट यति ठूलो परिमाणमा इन्धन नेपाल भित्रिएको जानकारी दिए।