arrow

कोइरालाको निधनप्रति अन्तर्राष्ट्रिय समुदायद्वारा शोक व्यक्त

महासचिव वान मर्माहत

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
sushil-da.jpg.jpeg
काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र सङ्घ, युरोपेली सङ्घ, सोसलिस्ट इन्टरनेसनल र जापानले शोक व्यक्त गरेका छन् । 
 
संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले नेता कोइरालाको असामयिक निधनबाट आफू मर्माहत भएको उल्लेख गर्दै उहाँ सबैका आदरणीय राजनेता हुनुहुन्थ्यो भन्नुभएको छ । महासचिवका तर्फबाट उहाँका प्रवक्ताले आज जारी गर्नुभएको वक्तव्यमा महासचिव बानले जटिल सङ्क्रमणकाल र संवैधानिक प्रक्रियाका बेला नेपाललाई नेता कोइरालाले मार्गनिर्देश गर्नुभएको बताउनुभएको छ । 
 
सहमति, समझदारीको भावनाबाट प्रेरित भएर नेता कोइरालाले नेपाली जनता र राजनीतिक दललाई एकताबद्ध गर्नुभएको स्मरण गर्दै महासचिव बानले त्यसबाट नेपालको प्रजातान्त्रिक प्रक्रिया र शान्ति प्रक्रियामा ठूलो योगदान पुगको बताउनुभएको छ । महासचिव बानले कोइराला परिवार र नेपाली जनतामा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । 
 
सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयलाले नेपाली काँग्रेसलाई आज एक समवेदना सन्देश पठाउँदै नेता कोइरालाको निधनबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको जनाउनुभएको छ । 
 
त्यसैगरी, यहाँस्थित युरोपेली प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङले सङ्घका तर्फबाट शोक सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री कोइरालाले लामो राजनीतिक अनिश्चितताबाट नेपाललाई अगाडि बढाउनुभएको भन्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । 
 
नेता कोइरालाको इमान्दारी र दृढ प्रतिबद्धतापूर्ण सोचबाटै नेपालले नयाँ संविधान पाएको उल्लेख गर्दै उहाँले सन्देशमा नेपालको चौतर्फी विकास सुनिश्चित गर्न तथा द्विपक्षीय बाह्य कूटनीति प्रवद्र्धन गर्न उहाँमा स्पष्ट सोच थियो भन्नुभएको छ । 
 
सन्देशमा राजदूत टिरिङले युरोपेली सङ्घको उहाँ शुभचिन्तक हुनुहुन्थ्यो भन्दै नेता कोइरालाका परिवारजन, नेपाली काँग्रेस र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । 
 
यस्तै जापानले पनि नेता कोइरालाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै नेपालको लोकतान्त्रिकीकरण र संविधान जारी गर्न उहाँले निर्वाह गर्नुभएको ऐतिहासिक भूमिकाको स्मरण गरेको छ । 
 
नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउँदै नेपालका लागि जापानी राजदूत मासासी ओगावाले जापान सरकार, त्यहाँका जनता र शोक सन्तप्त कोइराला परिवारमा हार्दिक सहानुभूति व्यक्त गर्नुभएको छ । 
 
बङ्गलादेश र अमेरिकाद्वारा शोक व्यक्त
नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनमा गहिरो दुःख व्यक्त गर्दै बङ्गलादेश र अमेरिकाले शोक व्यक्त गरेका छन् । 
 
बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेललाई आज एक शोक सन्देश पठाएर दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जलि एवम् नेपाली काँग्रेस, नेपाली जनता र शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । 
 
सन्देशमा प्रधानमन्त्री हसिनाले नेता कोइराला एक राजनेता तथा लोकप्रिय नेता हुनुहुन्थ्यो भन्दै इतिहासको कठिन परिस्थितिमा उहाँले देखाउनुभएको दृढ नेतृत्व तथा महान् सीप र नेतृत्वको स्मरण गर्नुभएको छ । उहाँले श्री कोइरालाको निधनबाट नेपालमात्र नभई समग्र दक्षिण एसियामा अपुरणीय क्षति भएको बताउनुभएको छ । 
 
बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामका बेला उहाँले निर्वाह गर्नुभएको निःस्वार्थ एवम् साहसपूर्ण भूमिकाको आफ्नो मुलुकले सधैँ स्मरण गरिरहने उल्लेख गर्दै प्रधानमन्त्री हसिनाले सन्देशमा स्वर्गीय कोइरालाको आत्माको चिरशान्तिको कामना गर्नुभएको छ । 
 
यसैबीच, यहाँस्थित अमेरिकी राजदूतावासले पनि नेता कोइरालाको निधनमा नेपाली जनताप्रति सहानुभूति एवम् ऐक्यबद्धता प्रकट गरेको छ । प्रजातन्त्रका हिमायती नेता कोइरालाको प्रधानमन्त्रीत्वकालमा नयाँ संविधान जारी हुनु महान् उपलब्धि भएको भन्दै अमेरिकाले नेपालको प्रजातान्त्रिक भविष्यप्रति प्रतिबद्ध कोइराला भावी पुस्ताका निम्ति दृष्टान्त बन्ने विश्वास व्यक्त गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ