arrow

अर्जेन्टिनाको विश्वकप अधूरो सपना

logo
अजय अलौकिक,
प्रकाशित २०७५ असार १७ आइतबार
argentina-team.jpg

चीन । होइन, कुनै सपना बाँचुञ्जेल पूरा हुन्न कि के हो? २८ वर्ष अघिदेखि देखेको सपना, गरेको कामना यस पटक पनि पूरा भएन। अब के ३२ औं वर्षमा होला। अँह आशा छैन, पटक्कै छैन। यो जिन्दगी भर छैन, लौजा। २८ वर्ष भनेको ठट्टा हो र?
बाह्र वर्षमा खोला त फर्कन्छ भन्छन्। ऋतुको चक्र घुमिरहेकै छ अनि दिनपछि रात एवम रीतले चलिरहने प्रकृतिको नियम चली नै रहेको छ। तर खोइ त? कस्तो सपना बुनिएछ, कस्तो आशा गरिएछ, कस्तो कामना गरिएछ, कहिले पूर्ण नहुने। चन्द्रमा नै कहिलेकाँही एकै मासमा दुई पटक पूर्ण भइदिन्छ।

चार चार वर्षमा आउने विश्वकपको ६ संस्करण बितिसक्दा पनि अहँ देखेको सपना, जगाएको मनोइच्छा, मनलाई शित्तल पार्ने आशा पूरा भइदिएन। २८ वर्ष बितिसक्यो। अब के ३२ वर्षमा पूरा हुन्छ त? हुन त जीवन भनेकै आशा हो। तर पट्यारै लाग्ने कस्तो आशा हो यो अनि कस्तो सपना कहिल्यै पूरा नहुने। अनि भाग्य?

सन् १९८६ अर्थात् ३२ वर्षअघि देखि अर्जेन्टिनालाई समर्थन गरिरहेकाहरू १९९० पछिको हारपछि एक पटक अर्जेन्टिनाले विश्वकप चुमेको हेर्न लालायित छन्। यो लालसा, सपना, कामना गरेको २८ वर्ष भइसक्यो। तर अहँ। हैट, २८ वर्ष भइसकेछ, फुटबल जिनियस डिएगो म्याराडोनाले सन् १९९० मा जर्मनीसँग फाइनलमा पराजित भएपछि बगाएको आँसु अनि उनीसँगै उनका लाखौं प्रशंसकले पनि बगाएका थिए, आँसु। आँसुसँगै अर्को विश्वकप अर्जेन्टिनाले फेरि पनि चुमोस् भनेर दह्रो कामना पनि गरे, सबैले। तर त्यो दिन कहिले आएन। आजसम्म अर्थात् २८ वर्ष सम्म पनि भएन पूरा, अधूरै रह्यो, अधूरै रहिरह्यो। हरेक पटक पीडा मात्रै थपिएको छ। घाउ झनै बल्झिएको छ।

सन् १९८६ को मेक्सिको विश्वकप विश्वका अंसख्य मानिसले घरघरमा बसेर प्रत्यक्ष हेर्ने अवसर मिलेको थियो। त्यस बेला घरघरमा टिभीले प्रवेश पाइसकेको थियो त्यसै गरी मध्यमवर्गीय नेपालीको घरमा पनि टिभीले शोभा बढाइसकेको थियो त्यसमाथि एन्टेना धेरै पटक मिलाउनु नपर्ने गरी नेपाल टेलिभिजनले नै प्रत्यक्ष प्रसारण गरेको थियो, विश्वकप फाइनल खेल अर्जेन्टिना र जर्मनीबीच।

धनी तथा सम्भ्रान्त परिवारले त्यस अघिको १९८२ को संस्करणनै टिभीमा हेरेका थिए त्यसबाहेक भिडियो रिलमार्फत पनि अघिल्ला विश्वकपका खेलहरू हेरिसकेका थिए जसकारण ती फुटबल प्रेमी तथा प्रशंसक बलियो जर्मनी, प्रिमियर लिगका कारण ईंगल्याण्ड र फुटबलका महान हस्ती पेलेका कारण ब्राजिलका समर्थक थिए। तर १९८६ को मेक्सिको विश्वकपमा भने यस्तो खेलाडीको उदय हुँदै थियो जसको नाम हाल फुटबल इतिहासमा नै अजम्बरी नाम बनेको छ। त्यही महान हस्तीको खेल कौशलले धेरैको मन जितेको थियो र उनैको प्रेरणामा अर्जेन्टिनाले शक्तिशाली जर्मनीलाई फाइनलमा हराएर विश्व विजेता बनेको थियो। दोस्रो पटक विश्वकप चुमेको थियो।

उनी म्याराडोना थिए। उनै म्याराडोनाको खेल कौशलबाट धेरै कायल पनि भए र आमनेपालीले यसरी विश्वकप फाइनल हेर्न पाउनु र त्यसमाथि म्याराडोनाको जादुले धेरैभन्दा धेरै म्याराडोना र अर्जेन्टिनाका फ्यान भए, प्रशंसक भए। यी नै महान हस्ती फुटबलका जादुगर म्याराडोना साथै अर्जेन्टिना धेरै फुटबलप्रेमीको मनमा गाढा गरेर बस्यो जुन आजसम्म पनि रहेको छ।

फुटबलप्रेमी प्रशंसकको मनमस्तिष्कबाट म्याराडोना मेट्ने नाम नै होइन। यही म्याराडोनासहितको अर्जेन्टिना टोलीले पुनः १९९० को विश्वकप यात्रा गाह्रोसाह्रो गरी फाइनलसम्म गरेको थियो। अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई गोल गर्दै ४ वर्षअघिको बदला लिँदै जर्मनीले विश्वकप हात पारे। यहाँ भन्न सकिन्छ कि खेलमा भाग्य र टिमवर्क मात्रै होइन रेफ्रीको साथ पनि चाहिन्छ।

खेलमा एक पक्षको हार र एक पक्षको जीत हुन्छ नै र विजयी पक्ष खुशीको उन्मादमा हुन्छन्, खुशीको आँसु छचल्किन्छ अनि हार्नेलाई पीडा हुन्छ नै साथमा देखिन्छ आँसु र आँसु। योसँगै प्रशंसकमा पनि त्यति कै पीडा हुन्छ झनै आफूलाई मनपर्ने खेलाडीको पीडा असह्य भइदिन्छ। यस्तै भएको थियो म्याराडोना र अर्जेन्टिनाका प्रशंसकलाई। म्याराडोनाको आँसुले धेरैलाई भिजायो र सबैसबैले भने अर्को पटक। तर यस्तो अर्को पटक धेरै पटक आयो र गयो। हालसम्म ६ पटक भइसक्यो।

यस दौरानमा अर्जेन्टिना विश्व फुटबलको केन्द्रबिन्दुमा नै रहेको छ र समयसमयमा खेल शैली तथा कदका हिसाबले पनि म्याराडोनाजस्ता खेलाडी जन्माए, ग्राबिएल बाटिस्टुताजस्ता गोलमेसिन पनि पाएकै थियो अनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय फुटबल जगत्मा तहलका मच्चाइरहेका गोञ्जालो हिग्वाइन, सर्जियो अगुइरो, एञ्जल डि मारिया नयाँ पुस्तामा क्रिश्चिएन पाभोन, पाउलो डाइबाला जस्ता उत्कृष्ट खेलाडी थिए नै त्यसबाहेक पेले र म्याराडोना जस्तै आजको समयको सर्वोकृष्ट खेलाडी म्याराडोनाको उत्तराधिकारी मानिएको मेस्सी पनि छन्। तर यस्ता नामुद खेलाडीले भरिएको अर्जेन्टिनाले पनि २८ वर्षदेखि अधूरो रहेको म्याराडोनाको सपना, अर्जेन्टिनाको सपना र अर्जेन्टिना, म्याराडोना र मेस्सीलगायतका प्रशंसक र समर्थकको सपनालाई अझै पनि पूरा गर्न सकेन। हाल रूसमा जारी विश्वकपबाट अर्जेन्टिना प्रिक्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएको छ र यस बहिर्गमनसँगै लाखौं प्रशंसक मर्माहत भएका छन् र २८ वर्ष अघि देखिको एउटा सपना अझै सपना नै रहिरहेको छ।

हुन त सन् २०१४ ब्राजिल विश्वकपमा अर्जेन्टिनाले फाइनलसम्मको यात्रा तय गरेको थियो तर एक पटक फेरि विश्वकप विजेता बनेको म्याराडोना र अर्जेन्टिनाका प्रशंसकले देखेको सपना पूरा गर्न सकेनन्। अर्जेन्टाइन खेलाडीले प्रयास पुगेन भनी चित्त बुझाउला र मौन धारण गर्दै सपनाको निर्मम हत्या पनि गर्लान्। गर्छन् नै र सन्यास लिन्छन् र आजीवन त्यो बोझ लिएर बाँच्छन्, शायद।
२८ वर्षसम्मको हिसाब गर्दा म्याराडोनापछि तीन पुस्ता खेलाडी फेरिसकेका छन्, यस्तै नै भइरहेको छ, सपना, आशा अनि हस्तान्तरण र अन्तमा अधूरो सपना र आशा।

यता प्रशंसकको स्थिति पनि यस्तै छ। अर्जेन्टाइनमात्र होइन प्रशंसकको रूपमा विश्वका दूरदराजका देशदेखिका जनताले अर्जेन्टिनाको समर्थन गर्दैआएका छन्। ती देशहरूमध्ये एक नेपाल पनि हो। पहिले म्याराडोना थिए अहिले म्याराडोनाको उत्तराधिकारी मेस्सी छन् जसलाई पेले र म्याराडोना भन्दा पनि उम्दा खेलाडी मानिँदै आएको छ। यसरी प्रशंसकका अर्को पुस्तासमेत पनि अर्जेन्टिना, म्याराडोना र मेस्सीको प्रशंसक भएका छन्, झन् बढ्दै गएका छन्।   

खेल नराम्रै खेल्ने पनि होइन, विश्वकै उत्कृष्ट खेलाडीहरू हरेक वर्ष जन्माइरहेको छ, अर्जेन्टिनाले। यस दशक तथा शताब्दीकै महान खेलाडीहरू विश्वलाई दिएकै छ। अनि यस्तो टोलीबाट आशा गर्ने ठाउँ प्रशस्तै छन्। आशा गरिएकोले नै सुखद सपना कल्पिने हो। अनि प्रशंसकले समर्थन गरिरहन्छन्, सपना देखिरहन्छन्। यस पटक नभए अर्को अर्को पटकका लागि आफ्ना सपना साँच्छन्। तर अर्जेन्टिना र अर्जेन्टिना प्रशंसकले देखेको एउटा सपना पूरा होस् भनी कामना गरेको २८ वर्ष बितिसक्यो। अब कहिलेसम्म?

सपना र आशालाई पूर्णता दिन हरेक चार वर्षमा विश्वकप आइनै रहन्छ, अब के २२औं संस्करणमा पूरा होला त? उत्तर भविष्यको गर्भमा छ। दुःख र पीडामा तड्पिरहेका प्रंशसकले फेरि पनि आश मार्ने छैन। विगतमा जस्तै आश गरिरहन्छन्। अर्जेन्टिनाले तेस्रो पटक विश्वकप चुमेको सपना देखिरहन्छन्। सपनाले आकार लिएमा लाखौं समर्थकको सुखद अवतरण हुने छ नत्र पीडा र शोकको तरङमा अझै झुल्नुबाहेक केही रहन्न।

सपना देख्नु नराम्रो होइन तर आफ्नो हातमा नभएको कुरालाई लिएर सपना बुन्नु अन्धो समर्थन हो भन्ने बुझाइ छ। तर मनले मान्दैन।
साथै अब यो सपना नयाँ पुस्तामा हस्तान्तरण। आशा छ यो अधूरो सपना पूर्ण भएको हेर्न नयाँ पुस्ताले आधा जीवन कुर्न नपरोस्।
(अलौकिक जनगणतन्त्र चीनको चिनियाँ अन्तर्राष्ट्रिय रेडियो बेइजिङका विशेषज्ञ हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ