arrow

मुआब्जा दिएर मात्र निर्माणका काम थाल्न सांसदहरुको आग्रह

logo
प्रकाशित २०७५ असार १८ सोमबार
parliament1.png

काठमाडौँ ।  प्रतिनिधिसभामा सोमबारको विशेष समयमा बोल्ने सांसदहरुले सार्वजनिक जग्गाको संरक्षण, तराईको डुबान समस्या, माथिल्लो तामाकोशीको शेयर आवेदन गर्ने समयसीमा वृद्धिलगायतका विषयहरु उठान गरे।

सांसद शान्ति पाख्रिनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको र स्थानीयवासीलाई दिइने शेयरको यही असार २४ देखि साउन ९ गतेसम्मका लागि आवेदन दिने समय तोकिएपनि रोपाइँलाइृ ध्यानमा राखेर एक महिना थप गर्नुपर्ने सुझाव दिए ।

सो आयोजनाको शेयरमा आवेदन दिने प्रक्रियालाई सरल बनाउन र लागतबारे अनुगमन गर्न माग गरे । सांसद केदार सिग्देल सेती नदीको कटानले शुक्लागण्डकी नगरपालिकाका एक हजार ४०० भन्दा बढी व्यक्तिले विगत ४० वर्षदेखि सरकारी ढिलासुस्तीका कारण लालपूर्जा पाउन नसकेको उल्लेख गरे।

सांसद भैरवबहादुर सिंहले बझाङ जिल्लामा यही असार १३-१४ गतेदेखि योङ कम्युनिष्ट लिगका कार्यकर्ताले स्थानीय तहमा बजेट विनियोजन गर्न नदिने भनी दिँदैआएको धम्कीप्रति सरकारको ध्यान आकृष्ट गरे ।

सांसद भरतकुमार शाहले चिसो छिँडीमा अनशन बस्नुभएका डा गोविन्द केसीको स्वास्थ्यमा ध्यान दिन सुझाव दिए । उनले माइतीघर मण्डलाजस्ता स्थानमा धर्ना गर्न निषेध लगाइएकामा आपत्ति जनाए ।

सांसद विमलप्रसाद श्रीवास्तवले मुआब्जा दिएर मात्र विकास निर्माणका काम शुरु गर्न सुझाव दिए ।  सांसद प्रकाश रसाइलीले बर्खामा पानीले सडक जलमग्न भएकोप्रति सदनको ध्यानाकर्षण गराए ।

सांसद भूमिप्रसाद त्रिपाठीले सडकमा जताततै बिग्रिएका सवारीसाधन राख्ने प्रवृत्ति देखापरेको बताउँदै कति वर्ष पुराना सवारी चलाउन पाउने हो त्यसबारे नीति ल्याउन माग गरे ।

बोल्ने क्रम सकिए लगत्तै सभामुख कृष्णबहादुर महराले शून्य समय र विशेष समयमा उठेका महत्वपूर्ण विषयमा जवाफ दिन आफूले सम्बन्धित मन्त्रालयलाई जानकारी दिने प्रतिवद्धता सांसदहरुसमक्ष व्यक्त गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ