arrow

नेपाललाई उसुमा अन्तिम दिन ६ रजत, गौरिकाले रचिन् इतिहास

१ स्वर्ण, १२ रजत, १९ कांस्य : पदक संख्या ३२

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
gaurika-FNL-new.jpg.jpeg
काठमाडौं । नेपालले भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद ‘सागक’को  छैठौं दिन वुधबार मात्रै ७ रजत जितेको छ । उसुको अन्तिम दिन बुधबार नेपालले ६ रजत जितेको हो । यस्तै पौडीमा गौरिका सिंहले ऐतिहासिक रजत जितिन् । नेपाली खेलाडीले अन्तिम दिन थाउलोमा २ र सान्सौं ४ गरी उसुमा ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । सबै खेलाडी फाइनलमा चुकेपछि रजतमा खुम्चिए ।
 
पुरुषको थाइची छ्वान अलराउन्डमा हरिप्रसाद गोलेले १७.६२ अंक जोड्दै रजत जिते । सोही स्पर्धाको महलिामा सविता राई १७.७० अंक जोड्दै दोश्रो भइन् । सान्सौंको महिला ६३ केजीमा झरना गुरुङ, ६० केजीमा जुनी राई तथा ७० केजीमा विन्दु पुन मगर फाइनलमा पराजित भए । सोही स्पर्धाको पुरुष ५६ केजीमा राजेश चौधरी फाइनलमा चुके । छवटै स्पर्धाको फाइनलमा नेपाली खेलाडी भारतीय खेलाडीसंग पराजित भएका थिए । 
 
उसुमा नेपालले कुल १ स्वर्ण, १० रजत र १ कांस्य पदक जित्दै साग यात्रा टुंगाएको छ । जारी प्रतियोगितामा हालसम्म निमा घर्तीमगर नेपाललाई स्वर्ण दिलाउने एक्लो खेलाडी बनेकी बनेकी छन् । निमाले उसुको नान्ताओउतर्फ  नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् ।
 
पौडी : गौरीकालाई ऐतिहासिक रजत
पौडीमा गौरिका सिंहले वुधबार महिला २ सय मिटर व्यक्तिगत मिड्लेमा रजत जितेकी छन् । गौरीकाले निर्धारित दूरी २ मिनेट ३३.२६ सकेन्डमा पूरा गरिन् । यो प्रदर्शनसंगै गौरिकाले आफ्नै नाममा रहेको २ मिनेट ३८.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमानमा पनि सुधार गरिन् । गौरीकाले यसअघि ५० र २ सय मिटर ब्याकस्ट्रोक तथा ४ सय मिटर फ्रिस्टायलमा कांस्य जितेकी थिइन् । गौरीकाको यो एकै खेलको विभिन्न विधामा व्यक्तिगत चौथो पदक हो । नेपाली पौडी इतिहासमा यसअघि कास्य जितेको रेकर्ड थियो । त्यो पनि गौरिकाले नै जारी सागमै जितेकी हुन् । 
 
स्क्वास : महिला टिमलाई कांस्य
स्क्वासको महिला टिम इभेन्टमा नेपालले बुधबार कांस्य पक्का गरेको छ । चार राष्ट्रले सहभागिता जनाएको महिला टिभ इभेन्टमा नेपालले कुनैपनि राष्ट्रसंग जित हात पार्न सकेन । दुई टिमलाई कांस्य दिने प्रावधान भएकोले नेपालले कांस्य पाएको हो । नेपाल भारत, श्रीलंका र पाकिस्तानसंग समान २–० को नतिजाले पराजित भयो । नेपाली टोलीमा भावना सुनवार, कृष्णा थापा र विपना ब्लोनले प्रतिस्पर्धा गरेका थिए ।
 
ब्याडमिन्टन : नङ्शल कांस्यमा सीमित
नेपालकी नङ्शल तामाङ ब्याडमिन्टनको महिला सिंगल्समा कांस्यमा सीमित भएकी छन् । सिलोङमा भएको खेलमा नङ्शल सेमिफाइनलमा भारतकी रुबिकासंग सोझो सेटमा २१–१२ र २१–७ ले पराजित भएपछि कांसयमा सीमित भएकी हुन् । अघिल्लो दिन सम्पन्न क्वाटरफाइनलमा नङ्शलले बंगलादेशकी राहनालाई २१–१० र २१–१३ को सोझो सेटमा हराउदै सेमिफाइनलमा स्थान बनाएकी थिइन् । त्यसै दिन प्रिक्वाटरफाइनलमा नङ्शलले माल्दिभ्सकी खेलाडीलाई २१–९ र २१–१३ को सीधा सेटमा पाखा लगाएकी थिइन् । सागमा ब्याडमिन्टनको यो दोश्रो व्यक्तिगत पदक हो । श्रीलंकामा भएको सागको १० औं संस्करणमा सुमिना श्रेष्ठले कांस्य जितेकी थिइन् ।
 
ब्याडमिन्टनमा नेपालले जम्मा २ कांस्य पदक जित्यो । यसअघि महिला टिम इभेन्टमा नेपालले कांस्य जितेको थियो । टिममा सरादेवी तामाङ, नङ्शल, अमिता गिरी, शिक्षा श्रेष्ठ, जेशिका गुरुङ, मेघा चन्द र अनुमाया राई छन् । ब्याडमिन्टको स्पर्धा सकिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ