arrow

चिकित्सक संघको वृहत भेला, डा केसी बचाउन कडा रुपले प्रस्तुत हुने  

logo
प्रकाशित २०७५ असार २२ शुक्रबार
nepal-medical-association.jpg

काठमाडौं । माथेमा आयोगको प्रतिवेदन हुबहु लागु गर्न सरकारलाई अल्टिमेटम दिँदादिँदै १५ पटक आमरण अनसन बसेका डा गोविन्द केसीको जीवनरक्षासंगै चिकित्सा क्षेत्रका विकृति हटाउनका लागि नेपाल चिकित्सक संघ एनएमएले गम्भीर कदम चाल्ने बुझिएको छ । 

यसका लागि एनएमएले शुक्रबार दिउँसो १ बजे आफ्ना वर्तमान पदाधिकारीसंगै पूर्व पदाधिकारीहरुलाई केन्द्रीय कार्यालयमा बोलाएको छ । 

संघका महासचिव डा लोचन कार्कीले दिउँसो १ बजे वृहत छलफल गरी निष्कर्षमा पुग्ने बताएका छन् । उनले चिकित्सा क्षेत्रमा हुने पटक पटकको राजनीतिक हस्तक्षेप सहन नसकिने भन्दै भेलाले गम्भीर भएरै धारणा बनाउने पनि बताएका छन् । 

दिउँसो १ बजेको भेलाले निकालेका निष्कर्ष दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने पनि जनाइएको छ । 

डा कार्कीले एउटा डा साथी लगातारको अनसनले मर्ने स्थितिमा पुग्दा मेडिकल एसोसिएसन चुप लागेर बस्न नसक्ने बताए । उनले डाक्टरहरु कहिल्यै पनि बिरामीभन्दा टाढा हुन नसक्ने भन्दै काम गर्ने वातावरण बनाउन पनि सरकारसंग आग्रह गरेका छन् । 

उनले भने, ‘हामीलाई आन्दोलन गर्ने र अनसन बस्ने वातावरण हैन बिरामीको उपचार गर्ने वातावरण बनाइयोस्, एनएमए राजनीतिक मुद्दा बोकेर हिँड्दैन ।’ उनले विगतमा पनि एनएमएले वार्ताबाटै समाधान गरेकाले यसपटक पनि छिटोभन्दा छिटो सरकारले वार्ता गरी समस्या समाधानका लागि पहल गरोस् भने । 

डा गोविन्द केसीको स्वास्थ्य गम्भीर भएको भन्दै कार्कीले तत्काल सरकारले वार्ताबाट समस्याको समाधान गरी अनसन तोडाउनु पर्ने पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ