arrow

बाघ मारेर तस्करी गर्ने आठजना पक्राउ

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
SB-Kailali-Patebagh-ko-Chhala.jpg.jpeg
धनगढी।सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयको अनुसन्धान टोलीले आज कैलाली जिल्लाको पहलमानपुरबाट बाघ मारेर तस्करी गर्ने गिरोहका आठ जनालाई बाघको छालासहित पक्राउ गरेको छ । 
 
भारतबाट नेपालमा घुमन्तेका रुपमा आएका भारतीय आदिवासी समुदाय मानिने बावरियाले बाघ मारी तस्करी गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कैलालीको पहलमानपुरबाट आज पक्राउ परेकामध्ये छ जना बावरिया समुदायकै रहेका छन् । 
 
विशेष सूचनाको आधारमा प्रहरीले पहलमानपुरबाट ११ फिट २ इन्च लम्बाइ तथा ३ फिट २ इन्च चौडाइ भएको एउटा र १० फिट ९ इन्च लम्बाइ एवम् ३ फिट २ इन्च चौडाइ भएको अर्को गरी दुई थान छालासहित आठ जनालाई पक्राउ गरेको हो । उनीहरुबाट साढे ३९ किलो बाघको जस्तो देखिने वन्यजन्तुको हड्डीसमेत बरामद गरिएको छ । 
 
पक्राउ पर्नेमा भारतको हरियाणा हिसार काब्रेल बस्ने जगदिशचन्द बावरिया, सोही ठाउँकै रामपाल बावरिया, लुदियाना पञ्जाबका रामु बावरिया, लुदियानाकै श्रवण बावरिया, रोपड चम्पकोरशाही पञ्जाबकी कमला बावरिया र सोही ठाउँकी अनारकली बावरिया रहेका छन् । अनारकली दूधे बच्चासहित पक्राउ परेकी हुन् । यस्तै, कैलालीको भजनी–त्रिशक्ति नगरपालिकास्थित लालबोझी बस्ने दुखराम चौधरी र पहलमानपुर–६ का अंगानु चौधरी पनि बाघको छाला तस्करीमा पक्राउ परेका छन् । 
 
क्षेत्रीय अनुसन्धान समूहका प्रहरी निरीक्षक वीरेन्द्र जोहारीको नेतृत्वमा रहेको अनुसन्धान समूह (आरआइटी)ले बाघको छाला र हड्डीसहित संलग्न व्यक्तिलाई पक्राउ गरेको हो ।पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक माधव नेपालले पक्राउ परेका बावरिया जातिका मानिस ‘पेसेवर’ बाघ सिकारी रहेको खुलेको बताए । उनले ठूलो मेहनतपछि प्रहरीलाई नेपालमै पहिलो पटक बाघ मार्ने सञ्जालको गिरोहलाई पक्राउ गर्न सफलता मिलेको बताए । 
 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार नेपालमा बाघलाई अति दुर्लभ तथा संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ । पछिल्लो पटक भारतका बावरिया जातिका मानिस नेपालमा बाघ मार्न सक्रिय रहेको लामो अनुसन्धानबाट खुल्न आएको पत्रकार सम्मेलनमा अनुसन्धान समूहका प्रहरी निरीक्षक वीरेन्द्र जोहारीले दाबी गरे । जोहारीले बर्दियाको राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघ मारेर तस्करी गर्न लागिएको अनुसन्धानबाट खुलेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ