arrow

सहमति कार्यान्वयन गर्न नेपालको जोड

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
Bishnu-Paudel.jpg.jpeg
काठमाडौं।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भारत भ्रमणका अवसरमा दुई देशबीच सहमति भएका पूर्वाधारसम्बन्धी आयोजनालाई द्रुतगतिमा कार्यान्वयन गर्न जोड दिएका छन् । 
 
भारतीय अर्थमन्त्री अरुण जेट्लीको मैत्रीपूर्ण निमन्त्रणामा यही माघ २४ देखि २६ सम्म भारतको भ्रमणमा रहँदा अर्थमन्त्री पौडेलले सहमति भइसकेका आर्थिक र प्राविधिक सहायतासम्बन्धी आयोजना तथा कार्यक्रमलाई शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले विगतका सहमतिलाई प्रभावकारी कार्यान्वयन गर्ने र भौतिक पूर्वाधारसम्बन्धी नयाँ आयोजना प्रारम्भ गर्ने सम्बन्धमा वार्ता केन्द्रित गरिएको आज अर्थमन्त्रालयले जनाएको छ । 
 
अर्थमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– हुलाकी राजमार्गलाई आगामी पाँच वर्षभित्र दुई लेनको सडकका रुपमा निर्माण सम्पन्न गर्ने, अन्तर देशीय विद्युत् प्रसारण लाइनको निर्माण यथाशक्य छिटो सम्पन्न गर्ने, २५० मेगावाटसम्मको नयाँ जलाशययुक्त आयोजनाका लागि अनुदान उपलब्ध गराउने र एउटा ५०० मेगावाटसम्मको जलविद्युत आयोजना निर्माण गर्नका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेजस्ता सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिइयो । 
 
त्यसैगरी हालको वीरअस्पताललाई अत्याधुनिक सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्ने, नेशनल इन्स्टिच्यूट अफ टेक्नोलोजी र आठ स्थानमा पोलिटेक्निक इन्स्टिच्यूट स्थापना गर्ने, आयुर्वेद विश्वविद्यालय र शिक्षण अस्पतालको स्थापना गर्ने, पशुपति क्षेत्रको वृहत्तर गुरुयोजना बनाई कार्यान्वयन गर्ने विषयमा अर्थमन्त्री पौडेलले जोड दिनुभएको थियो । 
 
भ्रमणका अवसरमा अर्थमन्त्री पौडेलले भारतीय गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुस्मा स्वराज र अर्थमन्त्री अरुण जेट्लीसँग आर्थिक र प्राविधिक सहायताको विस्तारका साथै दुइपक्षीय सम्बन्धका विविध पक्षमा सौहार्दपूर्ण संवाद गर्नुभएको थियो । भ्रमणका अवसरमा अर्थमन्त्रीले प्रधानमन्त्री केपी ओलीको निकट भविष्यमा हुन गइरहेको भारतको भ्रमणलाई फलदायी बनाउने विषयमा पनि समकक्षी तथा उच्च सरकारी अधिकारीसँग छलफल गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ