- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारले चिकित्सा शिक्षा विधेयक पेश गर्ने भनेर विहिबारको संसद बैठकको कार्यसूचिमा राखे पनि अन्तिम समयमा हटाईएको छ ।
सभामुख कृष्णबहादुर महराले बैठकमा विषय प्रवेश हुने समयमा हटाएका हुन् । संसद्को शून्य र विशेष समय सकिएपछि मात्रै सभामुख महराले कार्यसूचिमा रहेको २ देखि ४ सम्मका कार्यक्रम हटाइएको जानकारी दिए ।
कार्यसूचिको २ नम्बरमा चिकित्सा शिक्षा विधेयक पेश गर्ने सरकारको निर्णयमाथि नेपाली कांग्रेसका तर्फबाट गगन थापाले दर्ता गराएको विरोधको सूचना राखिएको थियो ।
विरोधको त्यो सूचनामा निर्णयार्थ पेश गरेपछि मात्रै तेस्रो नम्बरमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले चिकित्सा शिक्षा विधेयक टेवल गर्ने उल्लेख थियो । १७ असारको बैठक अवरुद्ध गरेको कांग्रेसले त्यो विधेयक पेश गरे मान्य नहुने चेतावनी पहिले नै दिएको थियो ।
यसअघि सरकारले जारी गरेको अध्यादेश अनुसार विधेयक ल्याउनुपर्ने काँग्रेसको माग छ । जुम्लामा अनसनरत डा. गोविन्द केसीले समेत अध्यादेशमा उल्लेख भएको कुरा हुबहु विधेयकमा आउनुपर्ने भनिरहेका छन् ।
अब प्रतिनिधि सभाको अर्को बैठक आइतबार बस्नेछ। सरकाले विहिबार पेश गर्ने भनेको विधेयक अब आइतबार पेश गर्ने बताइएको छ ।