पर्वतको जिल्ला अस्पतालमा एक महिनादेखि प्रमुखविहीन

प्रकाशित मिति : २०७५ असार ३० शनिबार
तस्बिर : फाइल

फलेवास, पर्वत। कार्यालय प्रमुखविहीन बनेपछि जिल्ला अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको छ।जिल्ला जनस्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख डा बुद्धिबहादुर थापा सरुवा भएर गएको झण्डै एक महिनासम्म पनि अर्को प्रमुख आएका छैनन्। डा. थापाका ठाउँमा कार्यालय प्रमुख नआउँदा अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाका साथै जनस्वास्थ्य कार्यालयबाट सम्पादन हुने विभिन्न कामकाज प्रभावित बनेको कर्मचारीको गुनासो छ।

डा. थापाका ठाउँमा बुटवलबाट नयाँ डा. आउने गरी सरुवा भए पनि अहिलेसम्म कार्यालयमा हाजिर नभएका कारण आवको समाप्तिमा पूरा गरिने कागजी प्रक्रियामा असर परेको जनस्वास्थ्य अधिकृत सजिना महर्जनले जानकारी दिए।

तत्कालका लागि केही कामका लागि जनस्वास्थ्य अधिकृत महर्जनलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइए पनि आर्थिक कारोवारका लागि महर्जनसंग अधिकार नभएका कारण आवको अन्त्यमा हुने कामको फछ्र्योटमा समस्या देखिएको छ।

त्यसबाहेक गर्मी र वर्षायामका कारण जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गइरहे पनि प्रमुख चिकित्सक नहुँदा बिरामीको उपचार गर्ने चिकित्सकसमेतको अभाव खड्किएको छ। हाल गाउँगाउँमा रहेका स्वास्थ्यचौकीका कर्मचारीलाई समेत बिदामा नबस्न भन्दै अनुरोध गरेको जिल्ला स्वास्थ्य र जिल्ला अस्पतालमा प्रमुख नै नहुँदा भने जिल्ला अस्पतालमा देखिएको लापर्वाही प्रष्ट देखिएको गुनासो बढेको छ।

अस्पताल विकास समितिका अध्यक्ष राधाकुमारी क्षेत्रीले सरुवा भएर गएका डा थापाका सट्टामा आउने चिकित्सकलाई तत्काल हाजिर हुनका लागि अनुरोध गरिएको र केही दिनभित्रै व्यवस्था हुने जानकारी दिए। रासस

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ